प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

काठमाडौँ– विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। 

विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्। बुधबार बिहान ११ बजे बस्ने भनिएको बैठक १ बजे मात्रै शुरू भएको थियो। 

शुरूमै विपक्षी दलले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले बस्न अनुरोध गरेका थिए। अवरोध कायम राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन्। 

बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो। बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने ठहर गर्दै बैठकमा गृहमन्त्रीले जवाफ दिने निर्णय गरेको थियो।

यस्तै बुधबार नै बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिए सदन चल्न नदिने निर्णय गरेको थियो। बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेता सहभागी थिए।