ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ले खतरामा राजकुलोको अस्तित्व

गोदावरीको टीकाभैरव राजकुलोबाट लगनखेलको सप्तपाताल पोखरीमा पानी झार्ने योजना ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ हो। महानगर सप्तपाताल पोखरीमा केन्द्रित हुँदा राजकुलोको अस्तित्व नै खतरामा परेको छ।

लेले इनटेकबाट शुरू भएको राजकुलो

काठमाडौँ– दाहिने काँधमा खर्पन, खर्पनको एक भागमा झोला अनि झोलाभित्र दुइटा हँसिया। बायाँ हातमा पानीको रित्तो बोतल बोकेर प्याङ्गगाउँस्थित घर फर्किइरहेका थिए नरेन्द्र महर्जन। कालोडाँडामा उनको खेत छ। गहुँ काटेर घर फर्कंदै गर्दा अपराह्न ४ बजिसकेको थियो।

टन्टलापुर घाममा खेतमा काम गरेर फर्केका नरेन्द्रको टिसर्ट पसिनाले निथ्रुक्क थियो। उनलाई भने गर्मी र पसिनाले निथ्रुक्क हुनुको चिन्ता थिएन। थियो त धान रोप्ने बेला हुन लागिसक्दा गहुँ काटेर धानको बीउ (ब्याड) राख्नुपर्ने चिन्ता। अनि रोपाइ कसरी गर्ने होला भन्ने चिन्ता।

कालोडाँडामा खेतीपाती भएका नरेन्द्र र उनी जस्तै अरु किसानलाई धान रोप्नका लागि यसअघि कहिल्यै यस्तो चिन्ता भएन। किनभने रोपाइ गर्न खेतको छेउबाटै बग्ने राजकुलोमा पर्याप्त पानी हुन्थ्यो। उनीहरूलाई धान रोप्न मनसुन कुर्नुपर्ने बाध्यता थिएन। बरू वर्षाअघि कुलोमा पातपतिंगरले पानी रोक्न सक्ने भएकाले दक्षिणी ललितपुर (सुनाकोठी, थेचोदेखि प्याङ्ग गाउँसम्म) का बासिन्दा राजकुलोको क्यानल सफा गर्न पुग्थे।

यसपालि राजकुलो सुख्खा छ, पानी बगेको छैन। कारण, गत असोज दोस्रो साता आएको बाढीले राजकुलोका विभिन्न भाग पहिरोको चपेटामा परे। त्यसले पानीको बहाव बन्द गरिदियो। लेले मुहानबाट बगेको पानी राजकुलोको केही मिटर पर रहेको टीकाभैरव मन्दिरसम्म पनि बग्नसकेको छैन। राजकुलोमा पानी नबगेपछि यसपालि रोपाइ कसरी गर्ने, पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताएको छ।

“अहिलेसम्म कहिल्यै यस्तो भएको थिएन। हामी त मनसुन भन्दा पनि राजकुलोमा भर पर्थ्यो। पहिले पहिले बेलैमा धान रोप्थ्यौँ, यसपालि नहुने भयो,” स्थानीय राधिका न्यौपानेले भनिन्।

न्यौपाने शिक्षक हुन्। यसअघिका वर्षमा रोपाइका लागि निश्चित दिन तोकेर काम सकिन्थ्यो। यसपालि केही ठेगान नभएकाले उनलाई स्कुल र खेतको काम कसरी मिलाउने होला भन्ने पिरलो थपिएको छ।

राजकुलोको लेलेस्थित इनटेक

हुन त देशका कैयौँ ठाउँमा रोपाइका लागि अझै पनि आकासे पानी वा मनसुनको भर पर्नुपर्ने बाध्यता छ। तर दक्षिणी ललितपुरमा त्यस्तो थिएन। सिँचाइ विभागले चार वर्षअघि तयार पारेको रिपोर्टमा दक्षिणी ललितपुरको ६ हजार हेक्टर खेतीयोग्य जमीन राजकुलोको पानीमा निर्भर रहेको उल्लेख छ। यो आँकडाले ६ हजार हेक्टरमा खेतीकिसानी गर्ने दक्षिणी ललितपुरका कृषक यसपालि एकैपटक समस्यामा परेका छन्।

खेती गर्ने फाँटको माथिल्लो भागमा पर्ने चारघरे हुँदै बग्ने राजकुलोको ९० प्रतिशत क्षेत्र पहिरोले पुरिएको र त्यहाँबाट बग्ने पानी अबरुद्ध भएको स्थानीय पुरुषोत्तम विष्ट बताउँछन्। उनी टीकाभैरव–१ स्थित राजकुलो उपभोक्ता समितिका सचिवसमेत हुन्।

यो समस्यामा अर्को संकट थपिएको छ जसबाट राजकुलोको अस्तित्व नै खतरामा पर्दै छ। ललितपुर महागरपालिकाले टीकाभैरवबाट बग्ने यही राजकुलोको पानी ललितपुरको सप्तपाताल पोखरीमा झार्ने योजनालाई महानगर प्रमुख चिरीबाबु महर्जनको ‘प्राइड प्रोजेक्ट’का रूपमा अघि बढाएको छ। ८ करोड बजेटमा २०८३ सालसम्म मा काम पूरा गर्ने लक्ष्य राखिएको यो योजना अन्तर्गत् राजकुलोलाई दुई भागमा विभाजन गरिएको छ। जसमा मुहानबाट टीकाभैरव–१ र टीकाभैरव–२ गरेर विभाजन गरिएको छ। सप्तपातालमा एक नम्बर राजकुलोबाट पानी ल्याउन लागिएको छ भने दुई नम्बर राजकुलो धापाखेल, खुमलटार कृषि फाँट हुँदै नख्खुखोलामा मिसिन्छ।

इनटेकबाट बगेको राजकुलो

यही योजनाअनुसार केपी कन्स्ट्रक्सनले चारघरेमा राजकुलोमा ह्युमपाइप बिच्छ्याउने टेन्डर पाएको बिष्टले उकालोलाई बताए। गत असोजको बाढीले क्षति पुगेको ६ महिनापछि, गत चैत १९ गते ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई एक करोड ५० लाख आर्थिक सहयोग गरेको छ। पहिरोले क्षति पुगेको राजकुलोको क्षेत्रमा सुधार गर्न गोदावरी नगरपालिकाले पनि ललितपुर महानगरजस्तै ह्युमपाइप बिछ्याउन लागेको छ। र यही ह्युमपाइपले राजकुलोको अस्तित्व खतरामा पारेको छ।

यो ह्युमपाइप मोह!
टीकाभैरव राजकुलोको लेले–टीकाभैरव हुँदै सुनाकोठीमा रहेको सिभिल होम्स्को आधा भागसम्म पर्ने क्षेत्र गोदावरी नगरपालिकाअन्तर्गत पर्छ भने सिभिल होम्स्देखि सुनाकोठी, ढोलाहिटी, चापागाउँ चारदोबाटो हुँदै फैलिएको राजकुलो क्षेत्र ललितपुर महानगरपालिकामा पर्छ।

यी दुई पालिका भएर बग्ने राजकुलो लगनखेलको सप्तपाताल पोखरीमा झार्ने उद्देश्यसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न ललितपुर महानगरपालिकाले पटकपटक अध्ययन गरायो। पछिल्लो पटक परामर्शदाता कम्पनी, इको कन्सर्नले तयार पारेको डीपीआरमा ललितपुर महानगरअन्तर्गत पर्ने ढोलाहिटीदेखि लगनखेलसम्म राजकुलो बगेको क्षेत्रमा ह्युमपाइप वा एचडीपीई पाइप प्रयोग गरेर सप्तपाताल पोखरीमा पानी झार्न सकिने निष्कर्ष निकालिएको छ।

टीकाभैरव पुग्नुअघि पहिरोले क्षतिग्रस्त राजकुलो

बढ्दो सहरीकरणले ह्वात्तै बढेको जनघनत्त्व र फराकिलो चक्रपथका कारण राजकुलो उत्खन्न गरेर पानी लैजान नसकिने भएकाले राजकुलोको नक्सांकन गर्दै माथिबाट पाइप बिछ्याएर सप्तपातालसम्म पानी ल्याउन सकिने अध्ययनको निचोडपछि काम अघि बढाइएको ललितपुर महानगरपालिकाको पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेल बताउँछन्।

सोही अनुसार महानगरको क्षेत्रमा पर्ने सुनाकोठीदेखि लगनखेलसम्म ह्युमपाइप बिछ्याउने काम ७५ प्रतिशत सम्पन्न भइसकेको, सुनाकोठीदेखि लगनखेलसम्म साढे ३ किलोमिटर ट्रयाकसमेत खनिसकेको पौडेलले बताए। अब सोही ट्र्याकमा पाइप (ह्युमपाइप) राखेर पानी ल्याउने योजना रहेको उनको भनाइ छ।

टीकाभैरवदेखि सप्तपातालसम्म आइपुग्दा राजकुलोको लम्बाई करिब २२ किलोमिटर पर्छ। “राजकुलो नै उत्खनन गरेर पाइप ल्याउने सम्भावना अहिलेका लागि असम्भव नै नभए पनि त्यसमा अर्बौं खर्च लाग्छ,” पौडेलले भने, “राजकुलोमाथि बनेका भवन र संरचना भत्काएर मुआब्जा दिन लामो प्रक्रिया लाग्छ, अत्यधिक लगानी पनि गर्नुपर्छ। त्यसो गर्न सक्ने अवस्था महानगरको नभएकाले हामी अहिले त्यही डीपीआर अनुसार नै काम गरिरहेका छौँ।”

महानगरको कदमप्रति सम्पदाप्रेमी तथा विज्ञहरू शुरूदेखि नै सन्तुष्ट थिएनन्। तर घना शहरी बस्तीमा ‘ओपन क्यानल’ बनाउन लाग्ने बजेटका कारण उनीहरूले विरोध गरिहाल्न सकेका थिएनन्। अब भने ललितपुर महानगरसँगै गोदावरी नगरपालिका क्षेत्रमा पनि राजकुलो ह्युमपाइपभित्र सीमित हुने भएको छ। गोदावरी क्षेत्रको राजकुलोमा ह्यमुपाइप बिच्छ्याउने योजना आफ्नै विशेष पहलमा अघि बढेको टीकाभैरव–१ राजकुलो उपभोक्ता समितिका सचिव विष्ट बताउँछन्। “थोरै बजेटमा खोलादेखि पर्खाल लगाउन नसकिने भएकाले नै मैले तत्कालको लागि ह्युमपाइप राखौँ भनेको हुँ। अब त्यही काम अघि बढेको छ,” उनले भने।

विष्टका अनुसार गोदावरी नगरक्षेत्रमा पर्ने चारघरेको कतिपय स्थानमा कुलोको जग नै बिग्रिएको छ भने ९० डिग्रीको एंगलमा पहिरो गएको छ। यस्तो अवस्थामा कुलो खन्न ठूलो बजेट लाग्ने भएकाले कम खर्चमा टिकाउ विकल्प ह्युमपाइप नै भएको उनको दाबी छ। “प्लास्टिकको एचडीपीई पाइप पनि राख्ने कि भन्ने छलफल भएको थियो, तर गर्मीयाममा आगलागीको जोखिम देखियो,” उनले भने, “मौलिकता मास्न हामीलाई पनि मन थिएन, तर अहिलेको उत्तम र अन्तिम विकल्प ह्युमपाइप देखियो।”

के खर्चको कारण देखाएर राजकुलोको अस्तित्व नै मासिनेगरी यसरी ह्युमपाइप राख्न मिल्छ? सम्पदा अध्येता भरत महर्जन यसलाई विकासका नाममा संस्कृति र सम्पदामाथि भइरहेको अन्धाधुन्द प्रहार मान्छन्। सम्पदा बचाउन अधिकतम प्रयास हुनुपने भए पनि यस्तो जिम्मेवारीमा रहेका राज्यका निकायहरू नै सुस्ताएको उनको आरोप छ।

“जहाँसम्म राजकुलोको अवशेष देखिन्छन्, त्यहाँसम्म मौलिक संरचनालाई प्राथमिकतामा राख्दै महानगरजस्तो प्रतिकुल क्षेत्रमा ह्युमपाइप बिछ्याउनु वीन–वीन अवस्था हुनसक्छ,” त्रिभुवन विश्वविद्यालयमा नेपाल भाषा पढाउने महर्जन भन्छन्, “तर मौलिक संरचनालाई संरक्षण गर्नसकिने क्षेत्रमा पनि ह्युमपाइप नै बिछ्याउनु भने लापरबाही र जोरजबर्जस्ती हो।”

स्थानीय तहमा उकुसमुकुस, सुक्न थाले पोखरी
अहिले स्थानीय तहलगायतले गरिरहेको तर्क छ– खोलाको तहबाट अब राजकुलो उठाउन सम्भव छैन। तर चापागाउँभन्दा माथि टाखेलस्थित बसपार्कको ओरालो झर्दैगर्दा राजकुलो छेउमै ठूलो प्लटिङको तयारी भइरहेको देखिन्छ। राजकुलोसँग जोडिएका सिमानामा न पर्खाल लगाइएको छ न साँधसिमाना तोकिएको छ। बरू प्लटिङबाटै बग्ने पानीको पाइप राजकुलोतर्फ तेर्स्याइएको छ। अनि कुलोमा प्लटिङको लेदो माटोसहितको पानी मिसिने नै भयो।

भनिराख्नुपर्दैन, यी प्लटिङ स्थानीय तहकै अनुमति र संरक्षणमा हुनेगरेका छन्।

गोदावरी नगरपालिका– ११ का अध्यक्ष नीलबहादुर देशार राजकुलोमा भइरहेको यस्तो अतिक्रमणबाट चिन्तित मात्र होइन, अचम्मित नै छन्। “प्लटिङ गरे पनि पर्खाल त उठाउनुपर्छ, त्यो पनि गरिएको छैन। वर्षामा बसपार्कको पानी राजकुलोमै, अब प्लटिङको पानी पनि राजकुलोमै,” उनले भने। महर्जनले आफ्नो वडामा यस्तो कुनै प्लटिङको सिफारिस नदिइएको बताए। अहिलेको प्लटिङ भएको क्षेत्र वडा नम्बर १० मा पर्छ।

टीकाभैरव–१ राजकुलो उपभोक्ता समितिका सचिव पुरुषोत्तम विष्टले पनि राजकुलोको आफ्नै मापदण्ड रहेको, तर प्लटिङ व्यवसायीले त्यसलाई पालना गरेको नदेखिएको बताए।

“उपभोक्ता समिति, वडा कार्यलयसँग समन्वय नै नभएको देखियो,” विष्टले भने, “राजकुलोको दायाँ–बायाँ ९ फिट हुन्छ। राजकुलोपछि १०–१२ फिट छाडेर आफ्नो सम्पतिमा घर बनाउनुपर्ने व्यवस्था छ। तर प्लटिङले साँधसिमानासमेत छुट्याएका छैनन्। राजकुलोसँगै जोडेर प्लटिङ गरेका छन्।”

गोदावरी नगरपालका मात्र होइन, ललितपुर महानगरभित्रै समेत यसैगरी घरलगायतका संरचना निर्माण हुँदा अहिले ‘राजकुलो उत्खनन गर्न सकिन्न’ भन्ने अवस्था आएको हो।

सुनाकोठीस्थित बुद्धपोखरी र राजकुलोमा प्रयोग गर्न राखिएका ह्युमपाइप

टाखेलजस्तै ठेचोबाट बग्ने राजकुलोमा कतै विद्यालयका कम्पाउन्ड छन्, कतै निजी बाटोका नाममा पनि राजकुलो अतिक्रमण भएको छ। अहिले घरजग्गा कारोबारीले राजकुलोलाई नै बाटोका रूपमा प्रचार गरेर जग्गा र घर बेच्नु सामान्य झैँ बनेको छ। राजकुलोलाई ह्युमपाइपमा सीमित गरिएपछि सबभन्दा हाइसञ्चो उनीहरूलाई नै हुनेछ।

ह्युमपाइप बिछ्याउने विषयलाई लिएर ललितपुर महानगरपालिका वडा नम्बर २६ र २७ बीच त टकराब नै निम्तिएको छ। अहिले वडा २७ मा ह्युमपाइप राख्ने काम भइरहेको छ, त्यसपछि वडा २६ मा हुनेछ। वडा २६ का अध्यक्ष सुरेन्द्र महर्जनले वडा २७ मा फरकफरक आकारका ह्युमपाइप राखिएको भन्दै असन्तुष्टि पोखे।

“कतै नाै सय सेन्टिमिटर, कतै आठ सय, कतै पाँच सय सेन्टिमिटरका पाइप राखिएको छ,” उनले भने, “माथिबाट पाइपको साइज सानो गर्दै आउँदा पानीको भलले हाम्रो वडा त डुबानमा पर्छ। पाइपमा एकरूपता हुनुपर्‍यो।”

राजकुलोमा पानीसँगै ढल पनि मिसिने हुँदा ठाउँठाउँमा रहेका राजकुलोका डाइभर्सनबाट पानीको मात्रा हटाउनुपर्ने उनको भनाइ छ। आफ्नो वडामा बाँगेधारामा ६ इन्चको पाइप राखेर ढल मिसिएको पानी ‘क्लियरिङ’ गर्नेबाहेक थप कुनै काम नभएको उनले बताए।

वडा २७ का अध्यक्ष कृष्णहरि महर्जन महानगरपालिकाको हिसाबअनुसार काम भइरहेको दाबी गर्छन्। वडासदस्य श्यामबहादुर महर्जनले अन्य वडाबारे टिप्पणी नगर्ने बताए। ललितपुर महानगरपालिका पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेल भने दुबै वडासँग बसेर यसबारे कुरा गरिने बताउँछन्।

२०७७/७८ बाट शुरू भएर २०८२/८३ मा सम्पन्न हुने ललितपुर महानगरको प्राइड प्रोजेक्ट राजकुलोको सबलीकरणभन्दा सप्तपातालमा पानी झार्नेमा केन्द्रित छ। यसबाट ठेचो, सुनाकोठी र चापागाउँक्षेत्रका पोखरी मात्र होइन, जनजीवनसमेत प्रभावित बनेको छ। जस्तो, ११ पोखरी रहेको ठेचोमा ९ वटा पोखरी राजकुलोकै पानीमा निर्भर थिए। वडा कार्यालय पछिल्तिरको फ्वंगा पोखरीमा अहिले नै पानी घटिसकेको छ।

बस्तीका पोखरी राजकुलोकै पानीले भरिने गरेको सुनाकोठीका ध्रुब महर्जन बताउँछन्। ७९ वर्षीय महर्जन सुनाउँछन्, “कुनैबेला हामी पिउने, लुगा धुने सबै काममा प्रयोग गर्थ्याैं। अब त त्यो एकादेशको कथा भयो।”

महर्जनका अनुसार चैते पूर्णिमाको बालकुमारी जात्राका लागि राजकुलोकै पानी चढाउनुपर्थ्यो। राजकुलोमा पानी नहुँदा अहिले ड्रम आदिमा राखेर जात्रामा पानी छ्याप्ने गरिएको छ। उनको घर अघिल्तिरको बुद्धपोखरी सुकिसकेको छ। वडासदस्य श्यामबहादुर महर्जनले राजकुलोमा पहिलेजस्तो सफा पानी नबग्ने भएकाले पोखरी सुकाउनुपरेको बताए।

“ठेचोदेखि धापाखेलसम्मको खेती राजकुलोकै पानीबाट हुन्थ्यो, अब त्यो सबै बन्द भयो। अहिले कुलोमा बस्तीबाट निस्किने फोहोर र ढलमात्र बग्छ”, उनले भने, “ढल पोखरीमा जम्मा गर्न मिलेन, त्यही भएर सुकाउनुपर्‍यो।”

ठेचोस्थति फ्वंगा पुखु (पोखरी)

फोहोर पानीले गर्मीमा लामखुट्टेलगायत किराफट्यांग्रा ल्याउने, ती किरा नियन्त्रण गर्न २०–४० हजारको औषधि प्रयोग गर्दा पनि केही सीप नलागेपछि पोखरी नै बन्द गर्नुपरेको उनले बताए। महानगरको प्राथमिकतामा सप्तपातालमा भर्ने पानीसँगै राजकुलोको सुधार पनि परेको भए यो समस्याको निदान हुने उनको विश्वास छ।

गोदावरी नगरपालिका–११ का वडाध्यक्ष देशारले ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको उद्देश्य सप्तपाताल पोखरीमा पानी खसालेर कमलको फूल रोप्नेमात्र भएको टिप्पणी गरे। “राजकुलोबाट पानी लैजाने योजना असल भए पनि त्यसक्रममा गर्नुपर्ने अन्य काम थाती राखी ह्युमपाइप बिछ्याएर पानीमात्र लैजान खोज्नु उहाँको ढिपी र एकलौटीपन मात्र हो,” देशारले भने।

ललितपुर महानगरको यस्तो ढिपीका साक्षी सिँचाइ विभागका पूर्वमहानिर्देशक ऋषभ रिसाल हुन्। विभागले सिँचाइको लागि राजकुलो सञ्चालन गर्नेबारे अध्ययन गरेको, त्यो अध्ययनका क्रममा महानगरपालिकालाई भनेको, तर महानगरले बेवास्ता गरेको उनले बताए।

“राजकुलोको इतिहास सिचाइसँग जोडिए पनि सिँचाइ कसैको नजरमा परेन। सिँचाइ भन्दा सडकले प्राथमिकता पाउँदा राजकुलोको अस्तित्व नै संकटमा पर्नलाग्यो,” रिसालले भने, “राजकुलोको प्रयोग नै खेतीपातीमा सिँचाइ र पोखरीको रिचार्जका लागि हुन्थ्यो।” पद्मसुन्दर जोशीको पुस्तक ‘हिटी प्रणाली’मा पनि कृषिमा निर्भर ललितपुरको दक्षिणी भेगको ठूलो क्षेत्र उर्बर हुनुको प्रमुख कारण यही राजकुलो भएको उल्लेख छ।

ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख पौडेल भने राजकुलोको ७० प्रतिशत भाग गोदावरी नगरपालिकामा र बाँकी ३० प्रतिशत मात्र ललितपुर महानगरमा पर्ने, गोदावरीका अधिकांश स्थानमा राजकुलो मौलिक अवशेषमै बचेको भए पनि स्थिति राम्रो नभएको बताउँछन्। “यहाँ (महानगरभित्र) त बस्ती बस्यो र राजकुलो मासियो, गोदावरीमै पनि कतै स्ल्याबले छोपिएको छ,कतै पाइप नै छ,” उनले भने, “सांस्कृतिक र पुरातात्विक शैलीमै यसलाई जोगाउन महानगरको ध्यान जाओस् भन्नु मनासिब हो, तर पुरानो स्वरूपमा ल्याएर के गर्ने? खेतापाती गर्ने ठाउँमा घर बनिसकेकाले कुलो किन चाहियो भन्ने हो।” 

राजकुलो निर्माण र विनाशको कथा 
लेलेको मुहानस्थित शिलालेखमा उल्लेख भएअनुसार २०१८ पुस १० गते यो राजकुलो निर्माण भएको हो। त्यसबेला भारतको आर्थिक सहयोग ६ लाख ५० हजार रूपैयाँमा राजकुलो बनेको शिलालेखमा उल्लेख छ। त्यसपछि २०६३ सालमा यसको पुनर्निर्माण गरिएको अर्को शिलालेखमा भेटिन्छ।

यसबाहेक राजकुलो कहिले कसरी बन्यो भन्ने यकिन मिति भने भेटिँदैन। पद्मसुन्दर जोशीले ‘हिटी प्रणाली’ पुस्तकमा लेखेअनुसार काठमाडौँ उपत्यकामा हिटी प्रणालीको शुरूआत किरातकालीन समयमै भएको थियो। पुस्तकमा सुनाकोठीस्थित भृगेश्वर महादेव मन्दिरमा रहेको अभिलेख यसमा उद्धृत गरिएको छ। लिच्छविकालमा आएर हिटी प्रणालीको विकास र विस्तार भएको तथा मल्लकालीन समयमा यसले व्यापकता पाएको उनले लेखेका छन्।

काठमाडौँ उपत्यकामा टीकाभैरव राजकुलोसँगै बुढानीलकण्ठ प्रणाली, बागेश्वरी प्रणाली जस्ता ठूला हिटी प्रणाली धेरै रहेको, जम्मा ५७३ वठा हिटी प्रणाली रहेको पुस्तकमा उल्लेख छ। राणाकालीन समयदेखि दरबार र बस्ती विस्तार हुन थालेसँगै राजकुलोको विनाश शुरू भएको, सानेपादेखि लगनखेलसम्मको राजकुलो प्रवाह क्षेत्रमा यसले मुख्य प्रभाव पारेको देखिन्छ। पछि बस्ती फैलिँदै चापाँगाउँसम्म पुग्यो।

त्यहीबीच २०२०–३० सालको दशकमा शुरू भएको चक्रपथ निर्माणले राजकुलोमै प्रहार गर्‍यो। राजकुलोमाथि नै सडक बन्न थाल्यो। २०४६ सालयता दक्षिणी ललितपुरमा बस्तीको घनत्व बढ्न थालेपछि राजकुलो धरासायी बन्दै गएको जोशीको पुस्तकमा उल्लेख छ। त्यसमै थपिएको ललितपुर महानगरको पछिल्लो योजनाले राजकुलो अब ह्युमपाइपमा सीमित हुने जोखिम बढाएको छ।