प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन

भिजिट भिसाका विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि आजका लागि तय भएको बैठक स्थगन भएको हो।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ। संघीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहिबार दिउँसो १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ।

आज बिहान ११ः०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ः०० बजे शुरू भएको थियो। भिजिट भिसाका विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।

निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो। सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो।