रौतहट बमकान्डका आरोपी आलमलाई उच्च अदालतबाट सफाइ

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरमा रौतहट जिल्ला अदालतले आलमलगायतलाई जन्मकैदको फैसला गरेको थियो।

काठमाडौँ– रौतहट बमकाण्डमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले बुधबार आलमलाई सफाइ दिएको हो। जिल्ला अदालतको फैसलाविरुद्ध परेको पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्टाएको हो।

विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरमा रौतहट जिल्ला अदालतले आलमलगायतलाई जन्मकैदको फैसला गरेको थियो। त्यसविरुद्ध आलमले उच्च अदालतमा पुनरावेदन गरेका थिए। बिहीबारको सुनुवाइपछि जिल्लाको फैसला उल्टी भएको आलमका कानुन व्यवसायी अधिवक्ता सरोज कृष्ण घिमिरेले जानकारी दिए।

२०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको अघिल्लो दिन राजपुरस्थित इँटा भट्टामा जलाएर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए। घटना भएको १२ वर्षपछि २०७६ असोज १९ मा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो। तर, त्यतिबेला उनीमाथी अनुसन्धान नै भएन। यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो। सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गर्दै अनुसन्धान गर्न भनेपछि २०७६ मा प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्धको निवेदनमा उच्च र सर्वोच्चले पनि सदर गरेको थियो र आलम नख्खुस्थित कारागारमा थिए। लामो समयपछि जिल्ला अदालत रौतहटले मुद्दाको फैसला गर्दै जन्मकैद हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध उच्च गएका आलमलाई उच्चले भने सफाइ दिएको हो।