जेठ १५ कै दिन नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वाेच्चता प्राप्त भएको थियो। यो दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।
काठमाडौँ– तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा माओवादीले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ।
२०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वाेच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।
संघिय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ।
जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ।
विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ।
यसैबीच, १८औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यता र हर्षाेल्लासका साथ मनाइँदै छ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ। मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चितता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र संघर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो।
लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन्।
त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उनीहरूको छ ।
आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ।
जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरूप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्छ। समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
