बालकोटमा नयाँ गठबन्धनको कसरत, १४२ सिट रहेका चार पार्टीको संयुक्त बैठक

बैठकमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी छन्।

काठमाडौँ– सत्ता गठबन्धन फुटको संघारमा पुगेपछि नयाँ सरकार गठनका लागि अर्को गठबन्धन निर्माण गर्ने कसरत अघि बढेको छ।

त्यसका लागि नेकपा एमालेसहितका दलहरू छलफलमा जुटेका छन्। अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट, भक्तपुरस्थित निवासमा एमालेसहितका चार दलबीच बैठक चलिरहेको छ।

बैठकमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी छन्।

एमालेबाट अध्यक्ष ओलीसहितका नेताहरू सहभागी छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू बैठकमा सहभागी छन्। त्यस्तै रास्वपाका सभापति रवि लामिछाने र जसपा संघीय परिषद् अध्यक्ष अशोक राई सहभागी छन्। 

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २० र जसपाका १२ सदस्य छन्। उनीहरुबीच गठबन्धन बनेमा प्रतिनिधिसभाका १४२ सदस्यको गठबन्धन बन्नेछ। सरकार निर्माणका लागि १३८ सिट भए पुग्छ। 

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले आफूलाई पहिले प्रधानमन्त्री नबनाउने बुझेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘गठबन्धन टुटेको’ घोषणा गर्दै बाहिरिएका थिए। त्यसपछि ओली सक्रिय बनेका थिए। 

उनले संयुक्त बैठकअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन, रास्वपा अध्यक्ष लामिछाने र जसपा नेता राईसँग छुट्टै छलफल गरेका थिए। लिङ्ग्देन भने संयुक्त बैठकमा सहभागी नभएर बालकोटबाट बाहिरिएका छन्। राप्रपाको समेत समर्थन भएमा यो गठबन्धनको पक्षमा १५६ सिट पुग्नेछ।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ।