सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको आय र व्ययको अनुमान(बजेट) संसद्मा प्रस्तुत गरेको छ।

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको आय र व्ययको अनुमान(बजेट) ल्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो बजेट  प्रस्तुत गरेका हुन्।

व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुटाइएको छ। चालुतर्फ कुल विनियोजन बजेटको ६०.१ प्रतिशत अर्थात् ११ खर्ब ९८ अर्ब  करोड बजेट विनियोजन गरिएको हो।

पुँजीगततर्फ कुल विनियोजन रकमको २०.८ प्रतिशत अर्थात् चार खर्ब सात अर्ब ८९ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।

वित्तीय व्यवस्थापनतर्फ कुल विनियोजन बजेटको १९.१ प्रतिशत अर्थात् तीन खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ। यो अनुमान चालु आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ५.६ प्रतिशतले बढी हो। त्यस्तै, संशोधन अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको अर्थमन्त्री पौडेलले जनाए।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्षका अनुमानित गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड बेहोर्दा पाँच खर्ब ९५ अर्ब ६६ करोड न्यून हुने अर्थमन्त्री पौडेलको भनाइ छ।

सो न्यून पूर्तिका लागि वैदेशिक ऋण दुई खर्ब ३३ अर्ब ६६ करोड जुटाइने, नपुग हुने खुद ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने उनले बताए।

हेर्नुहोस् बजेटको पूर्णपाठ