राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारीसाधनको चाप कम हुने विश्वास लिइएको छ। 

राजविराज– राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ। राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारीसाधनको चाप कम हुने विश्वास लिइएको छ। 

कार्यवाहक नगरप्रमुख इसरत परविनले लामो समयदेखि बसपार्क सञ्चालनमा नआउँदा बजार व्यवस्थित गर्न समस्या भएको बताए। अब भने आफूहरूले योजना बनाएर बजार व्यवस्थित गर्ने उनको भनाइ छ। “राजविराजका लागि यो ठूलो पूर्वाधार हो, यसबाट नगरलाई सुन्दर बनाउन मद्दत पुग्ने छ,” उनले भने। बसपार्कबाट लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनेछन्। 

पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोस्रो पटक २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तेस्रो पटक २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गरेका थिए। चौथो पटक २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए। 

पटक–पटक जग्गाधनीको अवरोध र निर्माणमा संलग्न ठेकेदारको ढिलाइका कारण बसपार्क निर्माण हुन सकेको थिएन। राजविराज–२ राजदेवी मन्दिर नजिकै १९ हजार ६०० वर्गमिटरमा फैलिएको बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंकब्रान्च, प्रतीक्षालय, शौचालय, रेस्टुराँ, मिनिमार्केट, सभाहल, प्रहरी बिटलगायतका संरचना निर्माण गरिएका छन्।

शहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार रुपैयाँमा ठेक्का पाएको सिनर्जी बिल्डर्स प्रालिले २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।