संरक्षणको पर्खाइमा भोजपुरको सेल्मे फलाम खानी

२०१३ सालयता बन्द रहेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित ‘सेल्मे फलाम खानी’ पुन: सञ्चानलका लागि स्थानीयले सरकारसँग माग गरेका छन्।

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित ‘सेल्मे फलाम खानी’ सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन्।

करिब १५० वर्षको इतिहास बोकेको यो खानी २०१३ सालयता बन्द छ। सञ्चालनका लागि राज्यले ध्यान नदिएको स्थानीयको गुनासो छ। दशकौँ अघिसम्म कालिगडले यहीँ उत्पादन भएको फलामबाट सामग्री बनाउँदै आएका थिए। खानी बन्द भएपछि अन्यत्रबाट ल्याइएको फलाममा निर्भर बन्नुपर्ने अवस्था रहेको स्थानीय कालीगड बताउँछन्। 

राज्यले आवश्यक सम्भावनाको खोज अनुसन्धान गरेर खानी सञ्चालन गरिदिए सहजता हुने उनीहरूको भनाइ छ। सेल्मे फलाम खानी ऐतिहासिक रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीय कालीगड मनकुमार विश्वकर्माले बताए। फलाम खानी सञ्चालनमा ल्याउनसके स्थानीयको आर्थिक अवस्थामासमेत सुधार आउने विश्वकर्माको भनाइ छ। फलाम उत्खनन गरिएका खाल्डासँगै फलामका धाउ तथा किट अहिले पनि देख्न सकिन्छ। यहाँका फलामबाट सयौँ वर्षअघि निर्माण गरिएका सामग्री अहिले पनि गाउँघरमा पाइन्छ। 

अग्रजहरूले यहीँको फलाम प्रयोग गरेर कालीगड पेसा गरिरहेको भए पनि अहिलेको पुस्ताले बाहिरको फलाम खरिद गरेर पेसा धान्नुपर्ने अवस्था रहेको विश्वकर्मा बताउँछन्। सेल्मे गाउँका धेरैले व्यावसायिक रूपमा कालीगड पेसा गर्दै आएको भए पनि विभिन्न समस्याका कारण पेसा छोड्नेको संख्या बढ्दै गएको छ। खानी सञ्चालन भए स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने उनको भनाइ छ। 

सेल्मेमा उत्खनन गरिएको फलामको गुणस्तर राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगड हर्कराज विश्वकर्माले बताए। 

भोजपुरे खुकुरी भोजपुरको गौरव रहेकाले यहीँको फलामको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने अर्का कालीगड तीर्थकुमार विश्वकर्माको भनाइ छ। यहीँको फलाम प्रयोग गरेर खुकुरी बनाउन सके भोजपुरको पहिचानलाई विश्वसम्म पुर्‍याउनमा सहयोग पुग्ने उनको धारणा छ। “भोजपुर खुकुरीले चिनिएको जिल्ला हो,” उनले भने, “यहाँ धेरै प्रकारका भोजपुरे खुकुरी बन्छन्। विडम्बना फलाम खानी बन्द हुँदा आयातित फलामबाट बनाउनुपर्ने अवस्था छ।”

सेल्मे क्षेत्रका करिब नौ परिवारले अहिले पनि व्यावसायिक रूपमा कालीगड पेसा गरिरहेको छन्। “बाजेबराजुले यहीँको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो,” उनले भने, “हाम्रो पालामा आउँदा खानी बन्द भएको अवस्था छ।”

तीन/चार पुस्ताअघि अर्थात् करिब १५० वर्षअघिदेखि फलाम खानी सञ्चालन भएको र २०१३ सालसम्म सञ्चालनमा रहेको वडाध्यक्ष नभराज माङपाहाङले बताए। उनका अनुसार यहाँको सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा फलामको धाउ पाइन्छ। सेल्मे क्षेत्रमा रहेको फलाम खानीलाई पुनः सञ्चालन गर्न सकिएमा हजारौँलाई रोजगारी दिन सकिने सम्भावना रहेको उनको भनाइ छ। अहिले पनि यहाँको फलामबाट बनेका खुकुरी, कृषि औजार, कट्टी, खुर्पालगायत सामग्री गाउँघरमा भेटिन्छ।  

देशकै सम्पत्तिका रूपमा रहेको सेल्मे फलाम खानी सञ्चालनको लागि प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङपाहाङको भनाइ छ। “यो खानी सञ्चालनका लागि वडा तहबाट काम गर्न सकिने अवस्था छैन,” उनले भने, “यसलाई सञ्चालनमा ल्याउनसके भोजपुरको मात्र नभएर देशको आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ।”