नारायणहिटी दरबारवरपर विरोधका कार्यक्रम गर्न रोक

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ।

काठमाडौँ– काठमाडौँ प्रशासनले नारायणहिटी दरबारअगाडिको सडकलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ।

राजवादी समर्थक संस्थाले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानमा भेला भई कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार जारी गरेको सूचनामा जेठ १७ गतेदेखि असार २४ गतेसम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ। 

काठमाडौँ प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र लागू गरेको हो। 

निषेधित क्षेत्र तोकिएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभालगायतका विरोधका कार्यक्रम गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तिवारीले जनाएका छन्।

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित विभिन्न राजावादी दल र संस्थाले बिहीबारदेखि प्रदर्शन गरिरहेका छन्।