नियमित विद्युत् आपूर्तिको माग गर्दै विद्युत् प्राधिकरणलाई ध्यानाकर्षणपत्र

पोखरामा नियमित विद्युत् आपूर्ति नहुँदा पर्यटकलाई दिने सेवामा समेत थप असर परिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

गण्डकी– पोखरा पर्यटन परिषद्ले पर्यटकीय नगरी पोखरामा पटक पटक विद्युत् अवरुद्ध हुँदा समस्या परेकाले नियमित विद्युत् आपूर्तिको मागसहित विद्युत् प्राधिकरण मालेपाटनमा ध्यानाकर्षण गराएको छ। परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले शुक्रबार विद्युत् प्राधिकरण मालेपाटन शाखाका प्रमुख जितेन्द्र यादवलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो।

पोखरालाई स्वच्छ, सफा, उज्यालो बनाई गुणस्तरीय सेवामा विश्वसामु छुट्टै चिनारी दिनु साझा दायित्व भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। पोखराको लेकसाइड, ड्यामसाइडलगायत पर्यटकीय क्षेत्रमा विद्युत् जाने र आउने गर्दा प्रायः होटल, रेस्टुरेन्ट तथा रिसोर्टमा विद्युतीय उपकरणहरूलाई प्रत्यक्ष असर परेको र नियमित विद्युत् आपूर्ति नहुँदा पर्यटकलाई दिने सेवामा समेत थप असर परिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य पोखरा क्षेत्रमा विद्युत् भूमिगत गर्न खनिएका खाडल लामो समयसम्म राम्रोसँग नपुरिँदा वर्षाको पानीले खाडल पुरिएर नदेखिने अवस्थासँगै केही पुरिएका खाडलमा गुणस्तरीय कार्य हुन नसक्दा दबिने तथा भासिने क्रमले थप दुर्घटना बढेको परिषद्ले जनाएको छ।

“बिजुलीका पोलमा अनावश्यक केवल, इन्टरनेटका तारहरूले ‘ब्ल्याक ट्री’को संज्ञा दिइरहेको छ भने कतिपय ठाउँमा काटिएर झुन्डिएका तारले यात्रीलाई त्रासको वातावरण पनि सिर्जना गरेको छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ।

पोखरा सफाइ अभियानअन्तर्गत लेकसाइड र ड्यामसाइड क्षेत्रभित्रका अनावश्यक खाडल तथा बाटोमा छरिएका तार हटाउने व्यवस्था मिलाइ नियमित विद्युत् आपूर्तिका लागि पहल गरिदिन परिषद्ले माग गरेको छ।