सुदूरपश्चिमको समृद्धिको ढोका: महाकाली करिडोर

दार्चुलाको तिङ्‌करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

दोधारा चाँदनी– दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्‌करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन्। 

हालसम्म छिमेकी मुलुकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उनको बुझाइ छ। शिक्षण पेसा छाडेर उनी अहिले कृषिमा लागेका छन्। “महाकाली करिडोर निमार्णपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरेका छौँ,” उनले भने, “यसलाई राज्यले प्राथमिकताका साथ अगाडी बढाओस्।” दार्चुलाको तिङ्‌करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ।

भारतका सबैभन्दा ठूला र महत्त्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसंख्या भएका अनि औद्योगिक करिडोर भएका शहरसँग नजिकबाट जोडिएको छ । त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल पहुँच हुनेछ। 

महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने दार्चुलाको मालिकार्जून गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्द बताउँछन्। “करिडोर सञ्चालनमा आइदिए यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त भइन्छ,” उनले भने, “सुदूर पहाडका जनताको आर्थिक अवस्थासमेतमा सुधार आउने थियो।” 

सरकारले छिटो काम सम्पन्न गर्नेगर बजेट विनियोजन गर्नुपर्ने उनले बताए। ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेलधुरा, बैतडी र दार्चुला जिल्लाको तिङ्‌करनाकासम्म यातायातको सहज पहुँच विस्तार गर्न आवश्यक छ। यसले धार्मिक पर्यटनको सम्भावना पनि बढाउने दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्ट बताउँछन्। “सहज आवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो,” उनले भने।

करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलंगा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्‌कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्‍याउने छ। 

महाकाली करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेलधुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मिकस्थल छन्। त्यसैगरी दार्चुलामा मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनसमेतमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन्। “महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ,” पर्यटन व्यवसायी जगदीश चन्द्र भट्टले भने, “यसले धार्मिक पर्यटनसमेतलाई फाइदा पुग्छ अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ।”

ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्‌करसम्म ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेका छन्। महाकाली करीडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–तिङ्‌करसडक) योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको जानकारी दिए। 

अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ। जसमध्ये कञ्चनपुरमा ११ किमी ट्र्याक खुलिसकेको छ भने डडेलधुरामा २८ किमी ट्र्याक खुलेको छ। त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्र्याक खुलेको छ। योजनाका लागि चालु आर्थिक वर्षमा ४१ करोड ५० लाख बजेट रहेको छ।