बाढीले सडक बगाएपछि धरान–धनकुटा सडक अवरुद्ध

फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेको छ। वर्षा नरोकिएकाले सडक तत्काल खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। 

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक बगाएपछि कोशी राजमार्गको धरान–धनकुटाखण्ड अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार बिहान लेउती खोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीमा सडक कटान गरेको छ। करिब १०० मिटर सडक कटान भएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

यस्तै, सोही सडकअन्तर्गत नमस्ते झरना छेउमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। वर्षा नरोकिएकाले तत्काल सडक सञ्चालन हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ।