भीम रावलले भने : टिकट नदिन षड्यन्त्र गरियो

एमाले नेता भीम रावलले आफूलाई रोक्न षड्यन्त्र गरिएको आरोप लगाएका छन्। उनले पार्टीमै बसेर संघर्ष गर्ने स्पष्ट पारेका छन्।

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि टिकट नदिएर पार्टी नेतृत्वले स्वेच्छाचारी र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि गृहक्षेत्र अछाम-१ बाट एकल सिफारिस भएका रावललाई टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपड बोहोरालाई उम्मेदवार बनाएका छन्।

आफ्नो नाम हटाएर बोहोरालाई टिकट दिएपछि असन्तुष्ट रहेका नेता रावलले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले आफूमाथि अन्याय गरेको बताएका हुन्।

उनले एकल सिफारिसमा पर्दासमेत आफूसँग कुनै छलफल नगरी एमालेका निम्ति कुनै योगदान नगरेको र सिफारिस पनि नपरेका व्यक्तिका लागि पार्टी नेतृत्वले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको जिकिर गरे। पार्टीको निर्णयले सुदूरपश्चिम प्रदेश र अछामका जनता र नेता-कार्यकर्ताको घोर अपमान भएको उनको तर्क थियो।

“केपी ओलीलगायतले गरेको निर्णय प्रथम दृष्टिमै स्वच्छचारी, अन्यायपूर्ण र गलत छ। यस्तो निर्णयले सुदूरपश्चिम प्रदेश र अछामका जनता र पार्टी तथा संगठनमा रहेका नेता र कार्यकर्ताको घोर अपमान भएको छ। साथै पार्टीको हित र एकतामा आघात पुर्‍याएको छ,” उनले भने।

पार्टीका केही व्यक्तिले आफूलाई रोक्न षड्यन्त्र गरेको उनको भनाइ छ। उनले पार्टी अध्यक्ष ओलीसहित अछाम- २ बाट एकल सिफारिस भएका उम्मेदवारका विषयमा पार्टीमा छलफल नै नभएको उल्लेख गर्दै आफूलाई रोक्न केही व्यक्तिहरूले गुटगत बैठक गरी षड्यन्त्र गरेको आफूले सूचना पाएको बताए।

“पार्टी अध्यक्ष केपी ओली र अछामकै निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारलगायत धेरै उम्मेदवारको नाम एकल पठाइएकोलाई भने छलफलको विषय बनाइएन। पार्टीको जिम्मेवारीमा रहेका केही व्यक्तिहरूले अनेक पटक गुटगत बैठक गरी मलाई कसरी रोक्न सकिन्छ भन्नेबारे षड्यन्त्र गरिरहेका सूचना आइ नै रहे,” उनले भने।

उनले आफू उम्मेदवार हुने वा नहुने, कुनै पदमा पुग्ने वा नपुग्ने विषयलाई प्रमुख नठानेको तर पार्टीका सिद्धान्त, पद्धति, विधि, नीति र मान्यताको अनुसरण भयो कि अवज्ञा भयो भन्ने विषय महत्त्वपूर्ण रहेको बताए।

“कुनै पनि व्यक्ति कुनै पनि पद वा जिम्मेवारीमा सधैँ नरहने शास्वत सत्य नै हो। विषय देश र जनताको हित एवं पार्टीका सिद्धान्त, पद्धति, विधि, नीति र मान्यताको अनुसरण भयो कि अवज्ञा भयो भन्ने हो,” उनले भने।

आफूले व्यक्तिको विरोध नगरेको भन्दै पार्टीको सिद्धान्त, विधि, नीति, नेपालको कानुनी मर्यादाको रक्षाका लागि निष्ठाको राजनीतिको विषय उठाएको उनले बताए। ओलीले टिकट नदिएपछि धेरैले रावलले एमाले छाड्ने अड्कल गरेको भए तापनि उनले पार्टीमै रहेर संघर्ष गर्ने स्पष्ट पारे।

“पार्टी कुनै अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन। देश र जनताको हितमा क्रियाशील रहनु पर्ने गतिशील संस्था हो,” उनले भने, “आगामी दिनमा राष्ट्रिय राजनीति र पार्टीको गति र मति अनुरूप नै मेरा पाइला अगाडि बढ्ने छन्।”