पेट्रोल–डिजेल महँगियो, हवाई इन्धन सस्तियो

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिले आइतबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको हो। निगमले हवाई इन्धनको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ। यससँगै, अब पहिलो वर्गका बिक्री केन्द्र (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज)मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ कायम भएको छ। 

त्यसैगरी, दोस्रो वर्गका क्षेत्र (सुर्खेत र दाङ)मा १५८ रुपैयाँ तथा तेस्रो वर्गका क्षेत्र (काठमाडौँ, पोखरा र दिपायल)मा १५९ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

निगमले डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँले बढाएको छ। अब पहिलो वर्गमा डिजेल/मट्टितेल १४०.५० रुपैयाँ, दोस्रो वर्गमा १४२ रुपैयाँ र तेस्रो वर्गमा १४३ रुपैयाँ प्रतिलिटरमा उपलब्ध हुनेछ।

त्यसैगरी, निगमले आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ। यसअघि प्रतिलिटर १२१ रुपैयाँ रहेकोमा अब नयाँ बिक्री मूल्य ११८ रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन (काठमाडौँ डिपोबाट बिक्री हुने)को मूल्य प्रतिकिलोलिटर २२ अमेरिकी डलरले घटाइएको छ। योसँगै अन्तर्राष्ट्रिय हवाई इन्धनको नयाँ बिक्री मूल्य प्रतिकिलोलिटर ९०१ अमेरिकी डलर कायम भएको छ। 

निगमले पोखरा र भैरहवाबाट बिक्री हुने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने 'ब्रेक इभन प्वाइन्ट' मा कायम गरेको जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीका आधारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।