पीएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

म्युनिखको एलियान्ज एरिनामा भएको फाइनलमा इटलियन क्लब इन्टर मिलानलाई ५–० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको छ।

काठमाडौँ– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। 

शनिबार राति म्युनिखको एलियान्ज एरिनामा भएको फाइनलमा पीएसजी इटलियन क्लब इन्टर मिलानलाई ५–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। पीएसजीको जितमा डिजेर डुवेले २ तथा आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १ गोल गरे।

कुनै बेला च्याम्पियन्स लिग जित्न लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजी ती तीनैजना खेलाडीले छाडेपछि जित्न सफल भएको हो। 

प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै ट्रेबल जित्न सफल भएको छ। लिग १ र फ्रेन्च कप जितिसकेको टोलीले च्याम्पियन्स लिग पनि जितेको हो।

पीएसजीले अन्तिम १६ मा लिभरपुल, क्वार्टरफाइनलमा एस्टन भिल्ला र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनलमा पुगेको थियो। यसअघि सन् २०२० मा फाइनलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो।