डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ घाइते

दुर्घटनामा घाइते जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

डोटी– केआईसिंह गाउँपालिका–५ केदारगाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आइतबार बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए।