सपिङ मलदेखि संसदसम्म– ब्राजिलमा गुडियाप्रति अचम्मको आकर्षण

सिलिकनबाट बनेका ती ‘हाइपर रियालिस्टिक’ गुडियालाई महिलाहरूले आफ्नो सन्तानझैं रेखदेख गरिरहेका छन्, तर कसरी?

काठमाडौँ– साना बच्चाहरू जस्तै वास्तविक देखिने गुडिया (पुतलीहरू) ब्राजिलमा यतिबेला चर्चाको विषय बनेका छन्। धेरै महिलाहरूले सिलिकनबाट बनेका ती ‘हाइपर रियालिस्टिक’ गुडियालाई आफ्नाो सन्तानझैं रेखदेख गरिरहेका छन्, तर कसरी?

झट्ट हेर्दा सजीव जस्तै देखिने यी खेलौनाहरूको आकर्षण यति बढेको छ कि मानिसहरूले तिनीहरूलाई आफ्नो छोराछोरीझैं बोकेर सपिङ मल र पार्कहरूमा लैजान थालेका छन्। यतिमात्र होइन, उनीहरू ती खेलौनाहरूलाई नुहाइ दिन्छन् र तिनीहरूसँगै सुत्छन् पनि।

यस्ता गुडियालाई नवजात तथा पुनर्जन्म (न्यु बर्न/रिबर्न) भन्ने गरिएको छ। यस्तै, केही गुडियाहरू रुन्छन्, पिसाब फेर्छन् र दुधको बोतल चुस्छन्।

महिलाहरूले ती गुडियाहरूसँग आमाको जस्तो भूमिका निभाउने प्रयत्न गर्छन्। भावनात्मक क्षणहरू सिर्जना गर्ने त्यस्ता गुडिया/खेलौनाका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

बेरेनिस मारियासँग यस्तै आठ गुडिया छन्। उनी सहायक नर्स पनि हुन्। यसले आफूलाई भावनात्मक रूपमा आराम प्रदान गर्ने उनी बताउँछिन्।

“मलाई पुनर्जन्म मन पर्छ, हामीले बाहिर जतिसुकै घृणा देखे पनि। म उनीहरूसँग बाहिर जान पाउने अधिकार चाहन्छु। म उनीहरूलाई सपिङ मल र पार्कमा घुमाउन रुचाउँछु,” उनले भनिन्।

यी गुडियाहरूलाई आम मानिसको झैं नाम राख्ने गरिन्छ। एक २१ वर्षीया युवती आमा बनेकी छन्। उनले छोरी रेवी (गुडिया) लाई आफूसँगै लैजाने गरेकी छन्।

सन् १९९० को दशकको शुरूआतमा संयुक्त राज्य अमेरिकामा पहिलो पटक देखा परेको यी गुडियाहरूको माग, मुख्यतया वयस्कहरूलाई लक्षित गर्दै, हालैका वर्षहरूमा दक्षिण अमेरिकी देशमा बढेको छ। “मलाई सानै उमेरदेखि नै बच्चाहरू र पुतलीहरू मन पर्थ्यो, जब मैले यी कला मोडेलहरूबारे थाहा  पाएँ र म प्रेममा परेँ,”  रेवी (गुडिया)की २१ वर्षीया आमाले भनिन्।

यस्तै, क्षिणपूर्वी ब्राजिलको क्याम्पिनास शहरमा बस्ने माटोससँग अहिले गुडियाको संख्या २२ पुगेको छ र उनले आफ्नो थोरै तलबलाई तिनैको हेरचाहमा लगाएकी छन्। उनको युट्यब च्यानलमा १३ लाख फलोअर्स छन्। तर पछिल्ला केही हप्तामा, उनको पोस्टहरूमा राम्रा कमेन्ट मात्रै आइरहेका छैनन्।

“उनीहरू मलाई मानसिक अस्पतालमा भर्ना गर्नुपर्छ भन्छन्, किनभने उनीहरू हामी ती गुडियालाई वास्तविक बच्चाहरू जस्तै व्यवहार गर्छौँ भन्ठान्छन्, जुन त्यसो होइन,” उनले भनिन्, “यो दुःखद कुरा हो।”

यस विषयमा मनोविद भिभियान कुन्हाको लागि यस्ता गुडिया संकलन गर्नु सोख हो। यसले तब मात्र विकारको रूप लिन्छ जब यसले ‘सामाजिक, भावनात्मक वा आर्थिक हानि’ निम्त्याउँछ। उनी प्रष्ट पार्छिन्, “उदाहरणका लागि, यदि कोही ‘बच्चालाई ज्वरो आएको’ कारणले काम छोड्छ र यो सत्य हो भन्ने विश्वास गर्छ भने उसलाई मनोपरामर्श आवश्यक पर्छ।”

उनी गुडिया खेलाउने यस प्रवृत्तिलाई विश्वव्यापी एक्लोपन महामारीसँग जोड्छिन्। “मलाई लाग्छ कि यो गुडिया भावनात्मक बन्धन वा सम्बन्धको खोजीबाट आएको हो,” एएफपीसँगको कुरकानीमा कुन्हाले भनिन्।

लामो समयदेखि ‘रिबर्न डल’ संकलक अलाना जेनेरोसो अहिले आफ्नै गुडिया पसल चलाउँछिन्। यी गुडियाले गर्दा आफ्ना ग्राहकहरू पूर्ण रूपमा स्वस्थ रहेका उनको दाबी छ।

क्याम्पिनासस्थित अलाना बेबीज म्यानटरनिटी हस्पिटललाई एक प्रामाणिक प्रसूति वार्ड जस्तो देखिने गरी डिजाइन गरिएको छ।

नयाँ व्यक्ति(ग्राहक)लाई गुडिया हस्तान्तरण गर्नुअघि, नर्सको पोसाकमा सजिएका कर्मचारीहरूले त्यसलाई इन्क्यूबेटरबाट निकाल्छन्, तौलन्छन्, स्ट्रोलरमा राख्छन् र गर्वका साथ ‘अभिभावक’लाई जन्म प्रमाणपत्रका साथ सुम्पन्छन्। ठ्याक्कै जस्तो अस्पतालमा नवजात शिशुलाई अभिभावकको हातमा सुम्पन्छन्।

“यहाँ, तपाईं साधारण पुतली किन्दै हुनुहुन्न, तपाईं एउटा सपना किन्दै हुनुहुन्छ,” अलाना जेनेरोसोले तर्क गरिन्।

समाचार संस्था एएफपीका अनुसा गत अप्रिलमा साओ पाउलोको एउटा पार्कमा संकलनकर्ताहरूको समूहले भेला आयोजना गर्दा ती गुडियाहरू सार्वजनिक बहसमा उत्रिएका थिए।

साओ पाउलोमा रहेको ‘रिबर्न डल सप’ (पुनर्जन्म गुडिया पसल)की सञ्चालक डेनिएला बेकनका अनुसार यस्ता खेलौनाको माग ह्वात्तै बढेको छ। उनका अनुसार गुडियाहरू १२४ अमेरिकी डलरदेखि लगभग एक हजार ८०० डलरसम्ममा बिक्री भइरहेका छन्। यस विषयले राजनीतिक तहमा समेत बहस छेडेको छ।

रियो दि जेनेरियोको नगर परिषद्ले मानव बालबालिका जस्तै देखिने यी गुडिया निर्माताहरूलाई सम्मान गर्न एउटा विधेयक नै पारित गरेको समाचार एजेन्सी एपीले जनाएको छ। यसमा मेयर एडवार्डो पेसले हस्ताक्षर गर्न बाँकी छ।

यसैबीच, केही सांसदले यस्ता पुतलीहरूको लागि चिकित्सा सहायता खोज्नेहरूलाई जरिबानाको बारेमा बहस गरेका छन्। एउटा भिडियोमा, एक जना महिलाले गुडियालाई उपचारका लागि अस्पताल लगेको देखाइएको छ।

अस्पतालहरूमा पुतलीको उपचारमा प्रतिबन्ध लगाउने माग गर्दै अमेजनसका सांसद जोआओ लुइज त उक्त गुडिया बोकेर सभामै पुगे। यद्यपि, स्थानीय मिडियाले स्वास्थ्य अधिकारीहरूले यस्तो कुनै पनि घटना रेकर्ड नगरेको रिपोर्ट गरेका छन्।