नारायणचौरबाट कमल थापासहितका प्रदर्शनकारी पक्राउ

थापासहितका प्रदर्शनकारी राजसंस्था पुनर्स्थापना मागसहितको प्रदर्शनका क्रममा नारायणचौरबाट बालुवाटार जाँदै गर्दा पक्राउ परेका हुन्।

काठमाडौँ– राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनीहरू आइतबार नक्सालको नारायणचौरबाट पक्राउ परेका हुन्।

जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रहरीले उनलाई तान्दै भ्यानमा हालेको थियो। यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

नारायणहिटी वरपरको स्थानलाई निषेधित क्षेत्र तोकिएपछि आइतबार उनीहरूले नारायणचौरमा प्रदर्शनी गरेका हुन्। नारायणचौरबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढ्ने क्रममा प्रदर्शनकारीको प्रहरीसँग झडपसमेत भएको छ। सुरक्षाकर्मीको लाठी चार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

राजावादी दल तथा संस्थाले राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यको माग गर्दै १५ जेठदेखि काठमाडौँमा आन्दोलन गरिरहेका छन्।