रहेनन् गायक रसिक

गायक तथा लेखक गणेश रसिक (राई)को ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

काठमाडौँ— लोकप्रिय गायक तथा लेखक गणेश रसिक (राई)को ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित रसिकको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार क्रममा निधन भएको हो। उनको शव हाल त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ। रसिककी एक मात्र छोरी बेलायतबाट सोमबार अपराह्न काठमाडौँ आएपछि उनको अन्तिम संस्कार गरिने भएको छ।

२००४ सालमा भोजपुरको टेम्केमैयुङ, छिनामखुमा जन्मिएका रसिकले भोजपुरकै अर्का प्रतिभा हिरण्य भोजपुरेसहितका सदस्यसँग मिलेर २०२४ सालमा स्थापना गरेको लेकाली सांगीतिक समूहले लोकभाकामा आधुनिक लय मिसाएर गतिलो सांगीतिक लहर ल्याउन सकेको थियो। 

‘घरबेटी नानी पिँढीमा देउन मलाई बास’, ‘रातो भाले क्वाएँ क्वाएँ’, ‘मेरो ट्याम्के’, ‘रनवन घुमी वनवन डुली’, ‘मेरो साँघुरी भन्ज्याङ’जस्ता दर्जनौँ गीतहरू लेकाली समूहले रचना गरेको थियो। लेकाली निष्क्रिय भएपछि पनि रसिकले दर्जनौँ आधुनिक गीत लेखनसहित संगीत र गायनको काम गरेका थिए।

रसिकका ‘जब सिस्नुहरू टेक्दै हिँडे’, ‘दशगजामा उभिएर’, ‘आकाशगंगाको ओतमुनि’ लगायतका संस्मरण, उपन्यास प्रकाशित छन्। पछिल्लो तीन दशकयता इलामको फिक्कलमा बस्दै आएका रसिक विगतमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव, साझा प्रकाशनका अध्यक्षसमेत बनेका थिए।