म पुरुष कि महिला? जे पहिचान गर्छु त्यही

लैंगिक पहिचानकै कारण उनीहरूले पढाइ छोड्नुपर्ने, अपमान सहनुपर्ने, रोजगार गुमाउनुपर्ने, हिंसा हुनेसँगै सामाजिक सञ्जालमा असंवेदनशिल प्रतिक्रिया भोग्नुपरेको छ। 

ट्रान्स उमन (पारलैंगिक महिला)
‘‘जुन दिन मैले म महिला हुँ भनेर उच्चारण गरेँ, त्यही दिन नै वास्तविक रूपमा  जन्मिएँ,’’ ४० वर्षीया मायाका यी शब्द केवल उनका मात्र होइनन्, हजारौँ ट्रान्सउमन महिलाका हुन्। यही आवाज हो, जसले समाजको चुप्पी चिर्छ, भित्र दबिइरहेको साँचो पहिचान उजागर गर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यौनिकता र लैङ्गिक पहिचानमा विविधता बोकेको छ। भन्नुको अर्थ यसभित्र अनेकन् पहिचान छन्। र, यो समुदाय अझै पनि पहिचान र सम्मानको लागि लडिरहेको छ।

समाज र घरपरिवारले मायालाई जन्मनेबित्तिकै लिंगको आधारमा छोराको दर्जा दिए। छोराले के गर्नुहुन्छ र हुँदैन भनेर मापदण्ड छुट्टाइदिए। झापाको जनजाति परिवारमा तीस वर्षअघि जन्मेका उनलाई आफू नहुर्कँदासम्म छोराछोरी भनेकै के हो भन्ने खासै थाहा थिएन। जब उनले किशोरावस्था टेक्न सुरु गरिन्, त्यसपछि आफ्नो पहिचानबारे मनन गर्न थालिन्।

‘मेरोचाहिँ किन स्तन नबढेको?, किन महिनावारी नभएको? अनि मैले किन कपाल लामो बनाउन नपाएको? फेरि, किन सबैले मलाई छोरा भनेको? अरू महिलामा झैं शारीरिक परिवर्तन नभएकोमा उनी असमनजस्यमा थिइन्।   

यी प्रश्नले उनलाई दिनरात सताइरहन्थ्यो। यिनै प्रश्नबाट भाग्नकै लागि पनि उनी आफूलाई घरायसी काममा व्यस्त राख्थिन्। समाजले छोरीले गर्नुपर्ने काम भनेर छुट्टाइदिएका काम पनि गर्थिन्। तर उनले 'छोरी मान्छेको काम' गरेकोमा परिवारलाई भने चित्त बुझ्दैनथ्यो। परिवारले उनलाई छोरै मानेको थियो। 

‘‘कहिले दिदीको लाली पाउडर दलेर हिँड्थेँ त कहिले पछ्यौरी ओढेर हिँड्थेँ। मैले केटीजस्तो पहिरन लगाउँदा परिवारले मलाई गाली गर्थे,’’ उनले भनिन्।

१४ वर्षको उमेरदेखि उनले आफूलाई महिला मान्न थालिन्। आफूभित्र रहेको महिला अनुहार/स्वभावलाई उनले बारम्बार देखाउन खोज्थिन्। तर उनको मनको कुरा सुन्ने/बुझ्ने अरू थिएनन्, उनी आफै मात्र थिइन्। उनले कक्षा १२ सम्म पढिन्। 

आर्थिक अवस्थाका कारण बीचमै पढाई छोडेर बिदेसिनु पर्‍यो उनी। पाँच वर्ष विदेशमा बसेपछि उनी नेपाल फर्किइन् र आफूलाई महिलाको रूपमा पहिलो पटक सहरमा परिचय दिलाउन थालिन्। ‘‘म पहिलो पटक महिला बनेर ऐना हेरेँ, तब मैले आफू महिला भएको पूरा रूपमा महसुस गरे। एक छिन खुसी र भएँ।’’

ट्रान्सम्यान (पारलैंगिक पुरुष) 
यस्तै, किन्दिपले आफू पुरुष भएको कुरो पन्ध्र वर्षको उमेरबाट मात्रै थाहा पाए। तर लिंगको आधारमा उनलाई पनि परिवार र समाजले जन्मेदेखि नै महिला बुझेका थिए।

आमाले चिटिक्क बनाई बाटिदिएको कपाल उनलाई चटक्क काटिदिन मन लाग्थ्यो, स्कुलमा केटाहरूसँगै बस्न बढी सहज लाग्थ्यो। उनलाई आँखामा गाजल र ओठमा लालीले रंगाउन मन लाग्दैनथ्यो। उनी भन्छन्, ‘‘मलाई कसैले बहिनी होइन, भाइ भनेर सम्बोधन गरोस् भन्ठान्थेँ। मलाई अरूले महिला भन्दा र ठान्दा मन पर्दैनथ्यो।’’

तर उनको आनीबानी भने अलग थियो। घरमा सबैले ‘‘केटीजस्तो बन्नुपर्छ, किन केटाजस्तो भएको?’’ भन्ने गर्थे। तर उनी आफ्नो पहिचानलाई बुझ्ने कोसिस गर्थे। अन्ततः पन्ध्र वर्षको उमेरमा उनले आफू महिला नभई पुरुष भएको थाहा पाए। पहिलो पटक आफ्नो पहिचानबारे परिवारलाई बताउने हिम्मत गरे। तर परिवार र समाजको विभेदकारी व्यवहारसँग डराए। उनलाई परिवारका सदस्यले, ‘‘केटा बनेर नहिँड, त छोरी हो। छोरी नै बन्, तैँले यस्तो गरेको थाहा पाएपछि समाजले तँलाई र हामीलाई समेत झनै हेप्छ र विभेद गर्छ’’ भने। 

यसपछि उनले आफ्नो पहिचानबारे घरबाहिर भने बताउन सकेनन्। उनले बाध्य भएर केटीजस्तै बनेर गाउँकै स्कुलमा 'शिक्षिका'को लागिसमेत आवेदन दिए। तर प्लस टु पास गरिसकेका उनमा परिपक्वता झल्किन थालिसकेको थियो। जति लुकाउन खोजे पनि उनीभित्र भएको केटाको पहिचान बाहिर देखिन्थ्यो। यही कारण उनी अन्तरवार्ताबाट फालिए। 'शिक्षिकाजस्तो नभएको' भन्दै उनले जागिर पाएनन्।

'महिला भएर पुरुष पहिचान' गर्न उनलाई निकै दुःख भयो। उनी आफ्नो पहिचान खुलाउन चाहन्थे, तर पहिले नै उत्पीडनमा परेको समुदाय (दलित) मा जन्मेका कारण थप उत्पीडन भोग्नुपर्छ भन्ने त्रासले उनलाई गाँज्यो। घरगाँउमा उनी र उनको समुदायलाई  दलित भएको कारण हेपिन्थ्यो। अब आफ्नो लैंगिक पहिचानलाई समेत लिएर उनले विभेद सहनुपर्‍यो।

यसपछि उनी घर छोडेर सहर पसे, जहाँ उनले आफ्नो पहिचान निर्धक्क बाहिर देखाउन थाले। लामो कपाललाई काटे, बढ्न दिएनन्। केटीको कुर्ता सलवार फालेर सर्ट पाइन्ट लगाउन थाले। यसरी पहिलो पटक पुरुष बन्न पाउँदा/पहिचान पाउँदा धेरै खुसी भए। 

तर किन्दिपलाई हरेक महिनाको महिनावारीले आफ्नो जन्मसिद्ध लिंग र शरीरको सीमाले कहिल्यै नछोडेको स्मरण गराउँथ्यो। जब महिनावारी शुरू हुन्थ्यो, तब उनी आफ्नो आत्म पहिचानभन्दा अलग त्यस्तो शारीरिक यथार्थसँग आमनेसामने हुन्थे, जसले उनलाई बारम्बार सम्झाउँथ्यो कि उनको शरीर अझै पनि महिला शरीरमै बाँधिएको छ। उनी सहरका गल्लीहरूमा निडरतापूर्वक पुरुषका रूपमा हिँड्थे, आत्मविश्वाससाथ बोल्थे र आफूलाई पुरुषका रूपमा चिनाउँथे। तर भित्रभित्रै भने त्यो आत्मविश्वास महिनावारीका रगतसँगै थलिँदै जान्थ्यो।

यो पनि: लुकिछिपी बाँच्ने जोहो गरिरहेका अल्पसंख्यक दलित, तिनैमाथि हिंसा र अत्याचारको कहर

बाह्य रूपमा उनी पुरुष देखिन थालेका थिए। कपडाको चयन, देखिने चालडाल, र बोलीको शैली—सबै कुराले उनले पुरुषकै छवि बनाइरहेका थिए। तर बढ्दो स्तन भने अझै पनि उनको पहिचानको बाधक थियो। कसिलो भित्री वस्त्रलगायत पहिरेर त्यसलाई लुकाउने प्रयास गर्थे उनी। कति पटक त्यस्तो प्रयास कष्टकर बन्ने गर्थ्यो। आफ्नो स्तन लुकाउन सकिए पनि महिनावारी भने रोक्न सम्भव थिएन। महिनावारीसँगै आउँथ्यो मानसिक असहजता, अस्वस्थता र आत्मसंघर्ष।

केही नलागेपछि उनले हर्मोन-औषधी शुरू गरे। टेस्टोस्टेरोन (पुरुषमा हुने हर्मोन) लगायत औषधी लिन थाले, जसको प्रभाव केही महिनामै देखिन थाल्यो। उनको स्वर क्रमशः भारी हुँदै गयो, अनुहारमा दाह्री उम्रन थाल्यो, शरीरका मांसपेशी कडा हुँदै गए र छालाको बनावटसमेत परिवर्तन हुँदै गयो। उनले महसुस गरे—शरीर अब उनको मनसँग मेल खान थालेको छ। उनको महिनावारी रोकिन थाल्यो र उनले पहिलो पटक जीवनमा पूर्ण रूपमा आफ्नो पहिचानसँग मेल खाने शरीरसँगै बाँचिरहेको अनुभूति गर्न थाले।

केही समयपछि उनमा थकान, छालामा एलर्जी र मानसिक तनावलगायत स्वास्थ्य समस्या आएपछि हर्मोन लिन बिचमै रोके। स्वास्थ्यको असहजता बुझेर उनले आफूलाई फेरि सोध्न थाले—के पहिचान सधैँ शरीरले तय गर्छ? कि आत्मा (धारणा/मनोविज्ञान) ले? के ख्याल गर्नुपर्छ भने चिकित्सकसँग जचाएर मात्र हर्मोन थेरापी सुरू गर्नु उचित हुन्छ।

हर्मोन रोकेपछि उनले आफूलाई नयाँ दृष्टिकोणबाट हेर्न थाले। त्यो यात्रा अझै सकिएको थिएन, तर उनले थाहा पाइसकेका थिए कि यो यात्रा केवल शारीरिक परिवर्तनको होइन, आत्मसम्मान, आत्मस्वीकृति र भित्रको शान्तिको खोजी पनि हो। 
सहरमा उनी जब बाह्य रूपमा मात्रै भए पनि पुरुष भई निडरतापूर्वक हिँड्छन्, तब उनलाई खुला आकाशमा पखेटा फिँजाएर उडिरहेको पक्षीजस्तै स्वतन्त्र महसुस हुन्छ। अहिले जहाँ गए पनि उनी आफ्नो पुरुष पहिचानप्रति पूर्ण रूपमा ढुक्क छन् र निःसङ्कोच अभिव्यक्त गर्छन्।

गे (समलिंगी पुरुष) र  लेस्बियन (समलिंगी महिला) 
किन्दिपझैँ धर्मेन्द्रले आफ्नो पहिचान परिवारलाई भन्न सकेका छैनन्। पोखराका धमेन्द्रले किशोर अवस्थामा आफू समलिंगी पुरुष भएको थाहा पाए। रेडियो कार्यक्रममा जब पहिलो पटक आफ्नो पहिचान खुलाए, तब आफू आश्रित 'अनाथ आश्रम'ले निकालिदियो।

जन्मिँदा उनी पुरुष नै थिए, तर समाजमा उनलाई लिंगकै आधारमा व्यवहारिक हुन सिकाउँथ्यो। उनले यी कुरामा लडाइँ गरे। आफू पुरुष भए पनि विपरीत लिङ्गीसँग नभई पुरुषसँगै आकर्षित हुने स्वभाव आफूमा भएको उनले स्वीकार गरे। 

‘‘म केटासँगै शारीरिक, मानसिक र भावनात्मक रूपमा आकर्षित हुन्छु। मलाई विवाह पनि केटीसँग नभई केटासँगै गर्छु, तर यो कुरा समाजलाई पाच्य छैन,’ उनले भने। जब उनले आफ्नो पहिचानबारे बाहिर बोले, तब उनले आर्थिक कमाइका अवसरहरू गुमाउनुपर्‍यो। बस्ने घरदेखि काम गर्ने ठाउँसमेत पाएनन्।

समलिंगी पुरुषजस्तै समलिंगी महिला पनि हुन्छन्, जो महिला भएर महिलासँगै शारीरिक, मानसिक र भावनात्मक रूपमा आकर्षित हुन्छन्। 

समलिंगी पुरुषभन्दा समलिंगी महिलालाई अझ आफ्नो पहिचान बाहिर ल्याउन सहज हुँदैन। समाजमा व्याप्त पितृसत्तात्मक सोचले महिलालाई आफ्नो निर्णय गर्न दिँदैन। पहिचान बाहिर आएपछि, समलिंगी महिलालाई समाजले गर्ने अस्वीकार त छँदैछ, विभेद पनि उस्तै छ। बिस्तारै अहिले केही समलिंगी महिला जोडीले अस्थायी रूपमा विवाह दर्ता पनि गरेका छन्। 

इन्टरसेक्स (अन्तर्लिंगी) 
आफू इन्टरसेक्स पुरुष भनेर समिरले २७ वर्षपछि थाहा पाए। तर जन्मँदा भने उनलाई परिवारले बाहिरी लिंगको आधारमा महिलाको दर्जा दिए। दुर्गम ठाउँमा उनको जन्म भयो र बाल्यावस्था बित्यो। किशोरावस्थामा उनमा दाह्रीजुंगा देखिन थाल्यो। मांसपेशी पुरुषकैझैं र स्वर पनि त्यस्तै हुन थाल्यो। पहिलेदेखि पालेको कपाल अब उनले काटे, 'केटाजस्तै' बने। 

यति बेला उनलाई समाज, स्कुलका साथी र शिक्षकले बढी दुर्व्यवहार गरे। त्यसपछि उनी गाउँ बस्न नसकेर सहर गए।

उनलाई आफू पहिले 'महिला नभएको' भन्ने त बोध थियो, तर आफ्नो प्रजनन अंगभित्र पनि पाठेघर नभई अण्डकोष थियो भन्नेचाहिँ थाहा थिएन।

उनले आफू महिला नभई पुरुष हुँ भन्ने थाहा पाए, तर उनको बाहिरी प्रजनन अंग भने महिलाकै थियो। अस्पताल गएर उनले आफ्नो प्रजनन अंग जँचाए। त्यसपछि आफू 'वास्तवमै पुरुष' रहेछु भन्ने उनले थाहा पाए। 

महिलामा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन हुन्छन्। यी दुई हर्मोनले महिलाको प्रजनन प्रणाली विकास र व्यवस्थित गर्छन्।  शरीरमा महिलाका जैविक गुण विकास गर्छन्। पुरुषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन हुन्छ। यसले शरीरमा पुरुषको जैविक गुण विकास गर्छ र पुरुष प्रजनन प्रणाली व्यवस्थित गर्छ। 

अस्पतालको रिर्पोटबाट आफूमा टेस्टोस्टेरोन हर्मोन भएको समिरले थाहा पाए। त्यसै कारण पनि उनमा पुरुषमा हुने जैविक गुण थिए। पाठेघरको ठाउँमा पुरुष अण्डकोष थियो। 

व्यक्तिमा जन्मँदा निर्धारित लैंगिकता हुर्किँदै जाँदा मेल नखाने हुन्छ। त्यो नै इन्टरसेक्स अवस्था हो। जन्मिँदा बाहिर देखिएको प्रजनन अंगअनुसार शारीरिक विकास नभई विपरीत किसिमको हुँदै जान्छ। यस्तो व्यक्तिको आन्तरिक प्रजनन अंगमा कतै विपरीत लिंगी अंग विकास भएको हुन्छ। यस्तो अंग अक्सर बाहिरबाट नदेखिने हुन सक्छ।  विकिरण (रेडिएसन), प्रविधि वा शल्यक्रियाबाट मात्र सो थाहा हुन्छ।

'इन्टरसेक्स'लाई आफ्नो पहिचान चिन्न र बाहिर ल्याउन झनै बढी गाह्रो छ। समिरले पनि पहिचानकै कारण घर छोड्नुपर्‍यो। त्यति मात्र होइन, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले इन्टरसेक्सलाई समेट्न पनि आनाकारी गरेको देखिन्छ। 

अन्तर्लिगीं महिला पनि हुन्छन्, जसको बाहिर प्रजनन अंग पुरुषको भए पनि भित्री अंगमा पाठेघर हुनसक्छ। यो जन्मँदै आफै हुने कुरा हो। प्राकृतिक रूपमा हुन्छ। 

समिर अहिले अन्तरलिंगी व्यक्तिहरूको अधिकारको लागि काम गरिरहेका छन्। 

बाइसेक्सुअल (दुई लिंगी) 
बाइसेक्सुअल महिला र पुरुष दुवै हुन सक्छन्। बाइसेक्सुअल भनेको चाहिँ महिला/ पुरुष भएर महिला र पुरुष दुबैसँग शारीरिक, मानसिक र भावनात्मक रूपमा आकर्षित हुनुलाई भनिन्छ।

मोनिता पनि बाइसेक्सुअल महिला हुन्। उनी पहिलो पटक पुरुषसँग प्रेम सम्बन्धमा थिइन्, तर बिस्तारै उनलाई पुरुष नभई महिलासँग प्रेम बस्यो अहिले पनि उनी महिलासँगै प्रेममा छिन्। शारीरिक, मानसिक र भावनात्मक रूपमा उनी महिलासँगै आकर्षित छन्। मोनितालाई आफ्नो पहिचान खुलाउन भने त्यति सजिलो थिएन। उनी भन्छिन्, ‘‘मलाई मेरै समुदायले पनि अस्वीकार गर्न खोजे, तर मैले हिम्मत हारिनँ। अहिले परिवारले मलाई स्वीकार गरिसके।’’

क्वीर 
सन्तानको आमा बनेपछि मात्रै ३१ वर्ष लागिसकेकी सोमियाले आफ्नो लैंगिक पहिचानबारे थाहा पाइन्। जन्मँदै समाज र परिवारले उनलाई महिलाको उपनाम दिए। यही कारण उनको विवाह पनि भयो।

समाज र परिवारको कारण उनले अहिलेसम्म आफ्नो पहिचान खुलाएकी छैनन्। उनलाई केटीको लुगा होइन, पुरुषको लुगा मन पर्छ। तर उनलाई पुरुषजस्तो बन्न मन लाग्दैन। उनलाई आफ्नो महिला शरीर मन पर्दैन। उनलाई आफू अरूभन्दा फरक छु मात्र भन्ने थाहा छ, त्यसैले आफूलाई क्वीर भन्छिन्। 

आफ्नो पहिचानबारे थाहा नभई आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्तिको रूपमा उनी चिनाउँछिन्। आफ्नो वास्तविक लैंगिक पहिचानबारे दोधारमा परेकाहरू आफूलाई क्वीर भनेर चिनाउँछन्। क्वीर व्यक्तिहरू महिला वा पुरुषभन्दा अलग हुन्छन्। 

सोमिनाले आफूलाई क्वीर भन्ने थाहा पाएपछि उनी यही समुदायको अधिकारको लागि कलामार्फत काम गरिरहेकी छन्। 

०००
नेपालको राज्य व्यवस्थाले यो समुदायलाई समान हिसाबले स्वीकार गर्न सकेको छैन। यसमा पनि जन्मँदै महिला भएर आफ्नो लैंगिक पहिचान बाहिर ल्याउनेहरूलाई धेरै गाह्रो छ। महिलालाई महिला भएकै कारण जन्मेदेखि नै विभेद सुरु हुन्छ। पितृसत्तात्मक निर्मित समाज, घरपरिवार, स्कुल/कलेज र वरपरको वातावरणले अझै पनि महिला आफै निर्णय लिन पाउँदैनन्। 

आफ्नो लैंगिक पहिचान बताएपछि महिलाहरूले पहिले पाएका सबै सेवा सुविधा बिट मार्नुपर्छ। किन्दिपजस्ता ट्रान्सम्यान वा पारलैंगिक महिलालाई पहिचान बाहिर ल्याउन र आफूलाई स्वीकार गर्न कठिन छ। समाजको भाष्य/संरचनाहरूले गर्दा तिनलाई मानसिक रूपमा पीडा दिइरहेको छ।

अन्तर्राष्ट्रिय प्रसंग हेर्ने हो भने सन् १९६९ सम्म विश्वभर नै समलैङ्गिकतालाई घृणाका दृष्टिले हेरिन्थ्यो। समलिङ्गीहरूलाई ‘मानसिक रोगी’ भनेर अवहेलना गरिन्थ्यो। अमेरिकाको न्युयोर्क सहरबाट यो समुदायको पहिचान खुल्न थालेको हो। न्युयोर्कको ग्रिनविच भिलेज भन्ने ठाउँमा उनीहरू खुल्थे। क्रिस्टोफर स्ट्रिटस्थित ‘स्टोनवाल’ नामको एक होटेलमा उनीहरू जान्थे। जहाँ उनीहरू आफ्ना प्रेमी प्रेमिकालाई खुलेर चुम्बन गर्थे, हात समात्थे। एक अर्काको दुखसुख साट्थे। 

यसरी उनीहरूले लामो समयदेखि यही होटेलमा रमाइरहेका थिए। तर अमेरिकामा त्यति बेला यो समुदायको लागि कुनै पहिचानको अधिकार थिएन। त्यसैले उनीहरू एक अर्कालाई प्रेम गर्नु कानुन विपरीत मानिन्थ्यो। त्यति बेला केटाले केटासँग वा केटीले केटीसँग चुम्बन गर्नु अथवा प्रेम गर्नुलाई समलिंगी व्यवहार मानिन्थ्यो, जुन व्यवहार अमेरिकी राज्यलाई पाच्य थिएन। 

एक दिन यसै गरी उनीहरू रमाइरहेका बेला प्रहरीले ‘स्टोनवाल’ होटेलमा छापा मार्‍यो। सन् १९६९ जुन २८ मा स्टोनवाल होटेलमा समलिगीं जोडीहरूलाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले उनीहरूलाई कुटपिटसँगै विभिन्न आरोप लगायो। यसपछि समलिंगी पहिचानका व्यक्तिहरूले आन्दोलन सुरु गरे।

उनीहरूले होटलबाहिर र क्रिस्टोफर पार्कमा विरोध गरे। हिंसात्मक झडप भयो। आन्दोलनमा करिब चार सय भन्दा धेरै व्यक्ति सहभागी भए। अमेरिकाबाहिरबाट पनि आन्दोलनको समर्थन हुन थाल्यो। यो आन्दोलन अमेरिकी राज्यकै लागि चुनौती बन्यो। यो आन्दोलनलाई ‘स्टोनवाल दङ्गा’ को रूपमा पनि मानिन्छ। अनन्त: अमेरिकी राज्यले समलैंगिक अधिकार स्वीकार गरे। न्युयोर्क सहरका प्रहरी आयुक्त जेम्स पी ओनिलले स्टोनवाल घटनामा प्रहरी अधिकारीहरूको क्रियाकलापका लागि औपचारिक रूपमा माफी मागे। यसपछि अमेरिकालगायत विभिन्न ठाउँमा समुदायको हक अधिकारको लागि काम गर्ने संघसंस्था खुल्न थाल्यो।

सन् १९९९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले जुन महिनालाई ‘गे एन्ड लेस्बियन प्राइड मन्थ’ भनेर औपचारिक मान्यता दिए। राष्ट्रपति जो बाइडेनले पनि सन् २०२२ मा ‘एलजिबिटिक्यूप्लस प्राइड मन्थ’ का रूपमा यसलाई मान्यता दिए। यसपछि आन्दोलनको सम्झनामा हरेक जुन महिनामा यो समुदायका व्यक्तिहरूले गौरवको रूपमा मनाउँछन्। 

आन्दोलनको कारण नेपालमा पनि समुदायका व्यक्तिहरूले लैंगिक पहिचान खुलाउन थाले। सन् १९९० मा नेपालमा समुदायले पहिचानको आवाज उठाउन थाले। पहिलो पटक समुदायको लागि काम गर्ने संस्था 'निल हिरा समाज दर्ता' गर्न स्थानीय सरकारले नमानेको अधिकारकर्मी सुनिलबाबु पन्त बताउँछन्। 

संस्था दर्ता भएपछि समुदायका व्यक्तिहरूले बिस्तारै लैंगिक पहिचान खुलाउन थाले। पहिचानकै क्रममा समुदायका केही अगुवालाई प्रहरीले पक्राउ गरेको थियो। पहिलाको अवस्थाभन्दा अहिले उनीहरूलाई पहिचान खुलाउन सहज छ, तर सामाजिक र पारिवारिक रूपमा बहिष्कार अझै छ। उनीहरूको मुद्दा अझै राजनीतिक रूपमा महत्त्वपूर्ण बन्न सकेको छैन। पहिचानकै कारण पढाइ छोड्नुपर्ने, अपमान सहनुपर्ने, रोजगार गुमाउनुपर्ने, हत्याहिंसा हुनेसँगै सामाजिक सञ्जालमा असंवेदनशिल प्रतिक्रिया भोग्नुपरेको छ। 

यही समुदायको हक अधिकारको लागि काम गर्दै आएको संस्था मितिनी नेपालका अनुसार बागमती प्रदेशमा १८०, कोशीमा १३५, सुदूर पश्चिममा ११७, लुम्बिनीमा १०३, मधेसमा ६३, गण्डकी १७ र कर्णालीमा १० जना एलजिबिटीक्यूआइले समुदायभित्र पहिचान खुलाएका छन्। तर आफ्नो लैंगिक पहिचान बाहिर ल्याउन नसकेकाहरूको भने तथ्यांक छैन। नेपालको जनगणनाले यो समुदायको गणना गरेको छैन। 

(माथिका कथा/व्यथा वास्तविक हुन्, नाम भने परिवर्तित हुन्।)