बाढीले संखुवासभामा लघु जलविद्युत् आयोजना र सडक बगायो

संखुवासभामा बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा क्षति पुगेको छ।

प्रतीकात्मक तस्वीर

संखुवासभा– शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत संखुवावासभाको भोटखोला गाउँपालिका-३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ। बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ।

उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघु जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना बगाएको छ। सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। “बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ”, उनले भने।

त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए। उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए।

घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधि पुगिसकेका छन्। “सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ”, अध्यक्ष भोटेले जानकारी दिए।