खाडी मुलुकमा ग्रीष्म ऋतुमा तापक्रम प्रायः ५० डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। खाडीमा नेपाल, भारत, पाकिस्तान लगायतका एशियाली मुलुकबाट पुगेका अधिकांश कामदार निर्माण क्षेत्रमा काम गर्न बाध्य हुन्छन्।
मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु)ले खाडी मुलुकहरूमा कार्यरत आप्रवासी कामदार अत्यधिक गर्मीका कारण गम्भीर स्वास्थ्य जोखिममा रहेको आइतबार जनाएको छ। संस्थाले उक्त क्षेत्रका देशहरूलाई बढ्दो तापक्रममा काम गर्न बाध्य श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेको हो।
मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार र कुवेतजस्ता देशहरू पृथ्वीको सबैभन्दा तातो क्षेत्रमध्ये पर्दछन्, जहाँ ग्रीष्म ऋतुमा तापक्रम प्रायः ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्ने गर्दछ। यी देशहरूको श्रमशक्तिमा आप्रवासी कामदारहरूको ठूलो हिस्सा रहेको छ। यहाँ अधिकांश नेपाल, भारत, पाकिस्तान लगायतका एशियाली मुलुकका नागरिक कामदारका रूपमा आउँछन्। विशेषगरी निर्माण क्षेत्रमा उनीहरूको उपस्थिति बाक्लो छ।
एचआरडब्लूका मध्यपूर्व उपनिर्देशक माइकल पेजले जलवायु संकटका कारण उत्पन्न अत्यधिक गर्मीले लाखौं आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षामा हरेक वर्ष चुनौती थपिने गरेको बताए। “खाडी मुलुकहरू प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका छन्, जसका कारण सम्भावित सुरक्षा उपाय अवलम्बन नगरिँदा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाइरहेका छन्,” उनले भने। उनका अनुसार, गर्मीका कारण उनीहरू मृगौला फेल हुने तथा अन्य दीर्घकालीन रोगबाट पीडित हुने गरेका छन्।
गत महिना मात्र यूएईमा लगातार दोस्रो दिन तापक्रम ५१.६ डिग्री सेल्सियस मापन गरिएको थियो। हाल खाडी मुलुकहरूमा श्रमिकहरूको सुरक्षाका लागि मध्य जुनदेखि मध्य सेप्टेम्बरसम्म दिउँसोको चर्को घाममा काम गर्न प्रतिबन्ध लगाउने गरिएको छ। तर, एचआरडब्लूका अनुसार, जलवायु परिवर्तनका कारण अत्यधिक गर्मीको अवस्था उक्त समयभन्दा पहिले, मे महिनादेखि नै शुरू हुन थालेको छ, जसले कामदारको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ।
न्युयोर्कस्थित उक्त अधिकारवादी समूहले कुवेतमा कार्यरत एक इलेक्ट्रिसियनसँग लिएको अन्तर्वार्तामा उनले गर्मीमा काम गर्दा ‘चक्कर लाग्ने, बान्ता हुने, टाउको दुख्ने, आँखा धमिलो हुने’ र ‘धेरै मानिस गर्मीले ढल्ने’ गरेको अनुभव सुनाएका थिए।
एचआरडब्लूले अधिकारीहरू र व्यवसायहरूलाई क्यालेन्डरमा आधारित प्रतिबन्धका साथै कार्यस्थलको वास्तविक गर्मीको आकलन गरी जोखिम नियन्त्रणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ। वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धिकै कारण बारम्बार उष्णलहर आउने क्रम बढेको छ, जुन पहिलेभन्दा लामो र तीव्र हुने गरेको छ। विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको सङ्ख्या झन्डै दोब्बर भएको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सन् २०२४ को प्रतिवेदनले पनि अरब मुलुकहरूमा कार्यरत आप्रवासी कामदारहरू विश्वमै सबैभन्दा बढी गर्मीको तनाव सामना गरिरहेको देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
