काठमाडौँका पसलमा हुम्ला, जुम्ला, बझाङलगायत जिल्लाका अर्गानिक दाल, चामल, जौ, कोदो, फापर भन्दै बेचिन्छ। के बिक्रीका लागि राखिएका सबै खाद्य सामग्री अर्गानिक हुन्? उपभोक्ताले कसरी चिन्ने?
काठमाडौँ— भक्तपुरको दधिकोट बस्ने सम्झना खत्री तरकारी किन्न प्रायः ठिमी चोक पुग्छिन्। उनी ठेला र फुटपाथमै राखिएका पसलबाट तरकारी किन्छिन्। उनलाई लाग्छ— ती पसलका तरकारी अर्गानिक हुन्छन्।
सम्झनाले तरकारी किन्ने ठाउँमै भेटिए भक्तपुरकै सोनाम तामाङ। उनी कांक्रा, टमाटर, साग बेचिरहेका थिए। सम्झनाले सोनामलाई सोधिन्, “दाइ, अर्गानिक तरकारी हो?”
सोनामले भने, “सबै अर्गानिक हो, के लाने?”
“अनि कहाँबाट ल्याउनुहुन्छ नि?” सम्झनाले थप जिज्ञासा राखिन्।
“यहीँ माथि झौखेलमा मेरै भाइको फार्म छ, त्यहीँबाट ल्याउने हो,” सोनामले भने।
“अर्गानिक नै हो नि?” सम्झनाले शंका गरिन्।
“आफैले फलाएको हो, विषादी हालेको छैन। युरिया मल मात्रै हालेको हो। अलिअलि नहालेको त के हुन्छ र!” सोनामले जवाफ दिए।

अहिले तरकारी, फलफूल वा अन्य खानेकुरा किन्न जाँदा धेरैजसो व्यापारीले भन्छन्— अर्गानिक हो, लैजानुहोस्। काठमाडौँका धेरै ठाउँमा त पसलको नाममै ‘अर्गानिक ...’ झुण्ड्याइएको हुन्छ। ‘काठमाडौँ अर्गानिक’, ‘गाउँले अर्गानिक पसल’, ‘उर्वर अर्गानिक’ आदि।
यस्ता पसलमा हुम्ला, जुम्ला, बझाङलगायत जिल्लाका अर्गानिक दाल, चामल, जौ, कोदो, फापर भन्दै बेचिन्छ। के यहाँ बिक्रीका लागि राखिएका सबै खाद्य सामग्री अर्गानिक हुन्? उपभोेक्ताले कसरी थाहा पाउने?
काठमाडौँका रवीन्द्र जोशीले कुलेश्वरमा गाउँले अर्गानिक पसल शुरू गरेर ‘अर्गानिक’ खाद्यवस्तु, फलफूल र तरकारी बेच्न थालेको करिब १२ वर्ष भयो। शुरूमा अर्गानिक फलफूल र तरकारी बेच्थे। फलफूल र तरकारी आफ्नै फार्मबाट ल्याउँथे। जब फार्म चलाउन छाडे, फलफूल र तरकारी बेच्न छाडे।
“अरूले उत्पादन गरेको ल्याएर बेच्न जोखिम भयो। धेरै लामो समय पनि नटिक्ने हुँदा नष्ट हुन थाल्यो,” उनी भन्छन्, “त्यसैले दाल, चामल, तेलजस्ता छिटै नबिग्र्रिने वस्तु मात्रै बेच्न थालेँ।”
अहिले उनको पसलमा घ्यू, खुर्सानी, डोल्पा र दार्चुलाको सिमी, कर्णालीको मकै, बेसार, कोदोलगायत सामग्री छ। अर्गानिक भनेर बेचिने यी खाद्यवस्तु प्रमाणित (अर्गानिक सर्टिफाइड) भने होइनन्। गाउँबाट व्यापारीले ‘अर्गानिक’ भनेर ल्याइदिन्छन्, उनी विश्वास गरेर बेच्छन्।
आफ्नो पसलमा विदेश पठाउने कफी मात्र सर्टिफाइड भएको जोशी बताउँछन्। उनको बुझाइमा ‘केमिकल नहाली उत्पादन गरेको बाली’ अर्गानिक हो। उनी भन्छन्, “यहाँ बेच्ने सामान हामीले नै उत्पादन गर्ने होइन, व्यापारीले ल्याइदिन्छन्। हाम्रोमा सर्टिफाई गर्ने चलन छैन। जुम्लाबाट ल्याएको भनेपछि विश्वास गर्छौं।”

जोशीको पसलमा अर्गानिक सामान ल्याइदिने बझाङका रवीन्द्र थापा हुन्। उनी गाउँको उत्पादन संकलन गरेर काठमाडौँका अर्गानिक सामान राखिने पसलहरूमा बेच्छन्। उनी गाउँबाट मकै, भटमास, कोदो, मासको दाल, मस्याम, गहत, आलु, लसुनलगायत खाद्यवस्तु ल्याउँछन्।
थापा आफूले ल्याएका सामग्री अर्गानिक नै भएको दाबी गर्छन्। “हाम्रो गाउँमा अहिलेसम्म रासायनिक मल पुगेको छैन, विषादी नै जाँदैन,” उनी भन्छन्।
विषादी र युरिया प्रयोग नगरे पनि अर्गानिकको आधिकारिकता पाउन नेपालमा सजिलो नभएको थापाको भनाइ छ। किसानले गाउँमा उत्पादन गरेका खाद्यवस्तुलाई सरकारले अर्गानिक प्रमाणीकरण गरिदिए सहज हुने उनी बताउँछन्। त्यसो नहुँदा विश्वासकै आधारमा चलिरहने उनको दाबी छ।
जोशी पनि संकलन गरेर ल्याउनेले दिएको सामग्री विश्वासकै आधारमा बेच्ने गरेको बताउँछन्। “दार्चुलाको भनेर ल्याएका खानेकुरा पहिले अलिकति चाख्छौँ, अनि बेच्नेगरी मगाउछौँ। मुख्य कुरा विश्वास हो, नत्र आफै जानुपर्छ,” जोशी भन्छन्, “जुम्लाको सिमी भनेपछि लुक्सले चिनिन्छ। त्यहाँको अलिकति फरक हुन्छ।”
उनी अर्गानिक, प्राकृतिक र स्थानीय (लोकल) भनेर तीन किसिमका सामग्री बेच्छन्। बझाङ, जुम्ला, हुम्लाबाट ल्याएका अर्गानिक, यही गाउँघरमा उत्पादन गरेका लोकल र विभिन्न जडिबुटीहरू प्राकृतिक भएको बताउँछन्।
काठमाडौँमा सञ्चालन भएका धेरै अर्गानिक पसलहरूमा बेचिने सामान अन्य पसलमा पाइनेभन्दा महँगो छ। काठमाडौँको संगम चोकमा खोलिएको नेपाल अर्गानिक घरमा धेरैजसो जुम्लाको उत्पादन भन्दै बेचिन्छ। त्यहाँ सिमीको दाल प्रतिकेजी ३५० रुपैयाँ पर्छ। दाना नै लैजाने भए प्रतिकेजी ३२० पर्छ। कोदोको पिठो प्रतिकेजी १५०, मकैको ११०, जौको १८० रुपैयाँसम्म पर्छ।
के हो अर्गानिक?
के गाउँमा उत्पादन गरिएको वस्तु अर्गानिक हो? अथवा, विषादी प्रयोग नगरिएका खाद्यवस्तु अर्गानिक हुन्? कस्तो तरिकाले उत्पादन गरिएका खाद्यवस्तुलाई अर्गानिक भन्ने?
कृषि विभागका सूचना अधिकारी एवम् वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंका अनुसार विषादी प्रयोग नगर्दैमा कुनै पनि बाली अर्गानिक हुँदैन। अर्गानिक उत्पादनका लागि शुरूदेखि अन्त्यसम्म रासायनिक मल र विषादी प्रयोग गर्नु हुँदैन। प्राकृतिक किसिमका औषधि र प्रांगारिक मल राख्नुपर्छ।
बालीमा अर्गानिक उत्पादनको विधि र प्रक्रिया पूरा हुनैपर्ने चौलागाईं बताउँछन्। कृषि विभागले अर्गानिक उत्पादनलाई सर्टिफाइड गर्न विभिन्न संस्थालाई लाइसेन्स प्रदान गर्छ। “हामीले विभिन्न संस्थाहरूलाई प्रक्रिया पूरा गरेर लाइसेन्स दिन्छौँ, ती संस्थाले मापदण्डअनुसार उत्पादनलाई सर्टिफाइड गर्छन्,” चौलागाईं भन्छन्।

नेपालमा अहिले तीन तरिकाले अर्गानिक खाद्यवस्तु प्रमाणीकरण भइरहेको कृषि विभागका कृषि अधिकृत सन्दीप सुवेदी बताउँछन्। उनका अनुसार पहिलो तरिका आफ्नो उत्पादनलाई अर्गानिक भनेर आफैले घोषणा गर्ने। यसलाई सहभागीतामूलक गुणस्तर नियन्त्रण प्रणाली भनिन्छ। त्यसमा तीनचार जना किसानहरूले एकले अर्काको उत्पादन परीक्षण गर्छन्।
अर्को आन्तरिक नियन्त्रण प्रणाली हुन्छ। यसमा सहकारीहरूले धेरै किसानहरूको उत्पादन एकसाथ परीक्षण गर्छन्। यसमा एक जना छुट्टै कृषि इन्स्पेक्टर राखेर कुन समयमा बाली लगाएको, किराका लागि कुन औषधि प्रयोग गरेको सबै कागजात हेरिन्छ। तेस्रो, लाइसेन्स प्राप्त संस्थाहरूले गर्ने प्रमाणीकरण।
किसानले कसरी गर्ने प्रमाणीकरण?
कुनै फार्म वा कोही किसानले अर्गानिक खेती गर्ने भए प्रमाणीकरण गर्ने संस्थालाई शुरूमै जानकारी गराउनुपर्छ। त्यसपछि ती संस्थाले कृषि इन्स्पेक्टरलाई उक्त ठाउँको माटो र वरिपरिको वातावरण जाँच गर्न पठाउँछन्। परीक्षणपछि उनीहरूले शुरूदेखि नै कागजात दुरुस्त राख्न थाल्छन्।
पहिले अर्गानिक विधिबाट उत्पादन नगरेको ठाउँमा खेती गर्नुपर्ने भए बालीअनुसार एकदुई वर्ष समय लाग्छ। अर्गानिक खेती गर्ने ठाउँको नजिकै बफर जोन छुट्याउनु पर्छ। बफर जोन भनेको अर्गानिक खेतीका लागि छुट्याएको ठाउँ वरपर कम्तीमा पाँच मिटर जतिको जमिन खाली राख्नु हो। किनकि, त्यहाँ अर्कोतिरको बालीमा प्रयोग भएका रसायनहरू आउने जोखिम हुन्छ।
प्रमाणीकरण गर्ने संस्थाहरूले कृषकलाई शुरूदेखि नै कसरी उत्पादन गर्ने, के–के प्रयोग गर्ने र नगर्ने सिकाउँछन्। सोही अनुसार उत्पादन भएका खाद्यवस्तुलाई अर्गानिक भएको प्रमाणीकरण गर्छन्।

नेपालमा उत्पादन भएका सामग्री विदेशी संस्थाका प्रतिनिधिहरू पनि आएर अर्गानिक सर्टिफाइड गर्ने गरेका छन्। तर विदेशी संस्थाले धेरै शुल्क तिर्नुपर्ने भएकाले निर्यात हुने कफीलगायत केही सामग्री मात्रै प्रमाणीकरण गरिन्छ।
कृषि विभागबाट लाइसेन्स लिएर अर्गानिक सर्टिफाइड गर्ने नेपाली संस्था सात वटा भएको कृषि विभागका सूचना अधिकारी चौलागाईं बताउँछन्। त्यसमध्ये अर्गानिक सर्टिफिकेसन नेपालले धेरै फार्महरूको उत्पादन प्रमाणीकरण गरिरहेको छ।
अर्गानिक सर्टिफिकेसन नेपालले अहिलेसम्म करिब ४० वटा फार्महरूको उत्पादन प्रमाणीकरण गरेको अध्यक्ष वसन्त रानाभाटले जानकारी दिए। “हामीले एकपटक अर्गानिक सर्टिफाई गरेपछि त्यो सधैँका लागि हुँदैन। हरेक पटकको उत्पादन जाँच गरिरहनुपर्छ,” रानाभाट भन्छन्, “धेरै फार्मले एक पटक गरेर छाडेका छन्। सात वटा जतिले मात्रै अर्गानिक तरिकाले काम गरिरहेका छन्।”
अर्गानिक उत्पादन गरेर प्रमाणीकरण गराउन झन्झटिलो र खर्चिलो हुनाले धेरैले जाँच नगरी अर्गानिक भन्दै बेच्छन्। काठमाडौँका पसलमा भएका प्रायः सामग्री ‘सेल्फ सर्टिफाइड’ भएको विभागका कृषि अधिकृत सुवेदी बताउँछन्। “यो विधिबाट गरिने उत्पादन महँगो पर्ने हुँदा धेरैले स्वघोषित गरेर अर्गानिक भनेर बेच्छन्,” उनले भने।
धेरैजसोले विषादीको प्रयोग नगरी उत्पादन गरेको तरकारीलाई नै अर्गानिक भन्दै बेच्छन्। अर्गानिक भनेर बेचिइरहेको अन्नबालीमा उपभोक्तालाई शंका लाग्यो भने प्रयोगशाला परीक्षण गर्न सकिने विभागका सूचना अधिकारी चौलागाईं बताउँछन्। उनी भन्छन्, “किसानले जुम्लाको हो, अर्गानिक तरिकाले उत्पादन गरेको भनेर बेच्न पाउँछन्। तर परीक्षण गर्दा विषादी भेटिए वा अर्गानिक नभएको पाइएमा उपभोक्तालाई क्षतिपूर्ति दिन पनि तयार हुनुपर्छ।”
कृषकले समूहमा अर्गानिक खेती गर्दा सजिलै र सस्तोमै सर्टिफाइड गर्न सकिने अर्गानिक सर्टिफिकेसन नेपालका अध्यक्ष रानाभाट बताउँछन्। “उत्पादन समूहमा हुने हुँदा कति मात्रा भन्ने हेरिँदैन। जति गरे पनि शुल्क उही हुन्छ,” उनी भन्छन्, “इन्स्पेक्टरको शुल्कले पनि लागत निर्धारण गर्छ। हामीले औसतमा १०० जना कृषकलाई एकैसाथ हेरियो भने वार्षिक १ लाख रुपैयाँसम्म चार्ज लिन्छौँ। ठाउँ र अवस्था हेरेर मूल्य फरक पर्नसक्छ।”
तर एउटा मात्रै फार्मले थोरै क्षेत्रफलमा अर्गानिक तरिकाले उत्पादन गरेर सर्टिफाई गर्दा उत्पादनको लागत बढ्ने रानाभाट बताउँछन्। उनको संस्थाले जुम्लाको स्याउ, पाल्पाको कफी, इलामको चियालगायत उत्पादनलाई अर्गानिक प्रमाणीकरण गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
