गणतन्त्रलाई सबल र उत्तरदायी बनाउन राजनीतिक नेतृत्वको आचरण, संस्थागत जबाफदेहिता, नागरिक सहभागिता र संवैधानिक मूल्यको सम्मान सुनिश्चित गर्नुपर्नेमा नागरिक अगुवा, प्राज्ञ र राजनीतिज्ञले जोड दिएका छन्।
काठमाडौँ– राजसंस्थाका पक्षमा काठमाडौँमा प्रदर्शन भइरहेका बेला नागरिक अगुवा, प्राज्ञ र राजनीतिज्ञले ‘गणतन्त्र नै सही बाटो’ भएकोमा जोड दिएका छन्।
उनीहरूले गणतन्त्रको विकल्प सोच्न नसकिने तर यसको अभ्यासमा देखिएका गम्भीर समस्या र कमजोरीलाई अविलम्ब सुधार तथा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। गणतन्त्रलाई जनउत्तरदायी, परिणाममुखी र सबल बनाउन राजनीतिक नेतृत्वको आचरणमा सुधार, संस्थागत जवाफदेहिताको सुनिश्चितता, नागरिक सहभागिताको विस्तार र संवैधानिक मूल्य-मान्यताको सम्मान हुनुपर्नेमा उनीहरूको साझा मत रहेको छ।
यस्तो धारणा शनिबार पाटनढोकास्थित पाटन हाइस्कुलमा आयोजना गरिएको ‘गणतन्त्र नै सही बाटो’ शीर्षकको संवाद कार्यक्रममा व्यक्त भएको हो। नागरिक अगुवाहरू सुशील प्याकुरेल, टीकाराम भट्टराई, विष्णु निस्ठुरी र लेखक कनकमणि दीक्षितको सक्रियतामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ कूटनीतिज्ञ नीलाम्बर आचार्यले गरेका थिए।
कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराई, एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्री, पूर्वराजदूत महेश मास्के, माओवादी केन्द्रका नेता राम कार्की, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, वरिष्ठ पत्रकार शिव गाउँलेलगायतले धारणा राखेका थिए। उनीहरूले गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन र त्यसपछिका उपलब्धिलाई स्मरण गर्दै व्यवस्थाप्रति देखिएका निराशाजनक टिप्पणीप्रति चिन्ता व्यक्त गरे।
लेखक कनकमणि दीक्षितले सामाजिक सञ्जालमा व्याप्त ट्रोल संस्कृति र त्यसको अल्गोरिदमले गणतन्त्रको पक्षमा खुलेर बोल्नसमेत कठिन परिस्थिति सिर्जना गरिरहेको बताए। “हाम्रो बुझाइमा गणतन्त्रका लागि अहिले पनि मौन बहुमत छ। तर, सामाजिक सञ्जालमा निर्धक्क भएर बोले पनि गालीगलौजमा उत्रिने जमात सक्रिय छ। संसारभरि जुन ट्रोलिङ संस्कृति छ, नेपाल पनि त्यसबाट अछुतो छैन,” उनले भने। दीक्षितले विशेषगरी अग्रगामी विचार बोक्ने र गणतन्त्रको पक्षमा उभिने नेताहरू यस्तो ट्रोलिङको मुख्य सिकार हुने गरेको तथ्य औँल्याए।
नागरिक अगुवा टीकाराम भट्टराईले २०६२/६३ को जनआन्दोलनमा योगदान पुर्याएका शक्तिहरू र व्यक्तिहरूमाझ पुनः गम्भीर संवादको आवश्यकता रहेकोमा जोड दिए। “गणतन्त्र अहिले एक प्रकारको साझा अम्ब्रेला (छाता) बनेको छ,” उनले भने, “तर दलगत स्वार्थ र प्रतिस्पर्धाको भिडमा त्यो अम्ब्रेला च्यातिने खतरा बढेको छ।”
भट्टराईका अनुसार, जनआन्दोलनका क्रममा सबै दलहरूको साझा लक्ष्य गणतन्त्र स्थापना थियो, तर अहिले प्रत्येक दल आ-आफ्नो तात्कालिक हितमा केन्द्रित हुँदा गणतन्त्रका साझा मूल्यमान्यता र आस्थाहरूको संरक्षण कमजोर देखिएको छ। “गणतन्त्रप्रति साँचो अर्थमा माया देखाउने र यसलाई सुदृढ गर्नेभन्दा पनि झोले संस्कृति हाबी भएको छ” उनले भने, “यो ज्ञानेन्द्रको पछि लाग्ने झोले मात्र होइन, दलका शीर्ष नेताहरूको पछि लाग्ने र उनीहरूको भजन गाउने झोले प्रवृत्तिले गणतन्त्रलाई थप खतरामा पारेको छ।”
वरिष्ठ पत्रकार शिव गाउँलेले भने भट्टराईको अम्ब्रेला च्यातिने खतरा भन्ने तर्कप्रति विनम्र असहमति प्रकट गरे। “समाजमा विद्यमान समस्याहरू र गणतन्त्रलाई अलग राखेर हेर्न सकिँदैन। जनताका दैनिक समस्या, भ्रष्टाचार, कुशासन जस्ता विषयलाई नछोईकन, तिनको समाधान नगरीकन गणतन्त्र मात्र जोगाउँछु भन्नु आत्मवञ्चना मात्र हो,” उनले भने।
गाउँलेको विचारमा, गणतन्त्रका मूल्य र आदर्शप्रतिको प्रतिबद्धता केवल सैद्धान्त मात्र सीमित नभई राजनीतिक दल र नेताहरूको व्यवहारमा पनि स्पष्ट रूपमा देखिनुपर्छ। “एउटा राजनीतिक दलभित्र २० वर्ष, ३० वर्ष, ४० वर्षदेखि उही अनुहार, उही नेतृत्व बारम्बार दोहोरिरहने प्रथालाई हामीले समीक्षाको विषय बनाउनुपर्छ भनेर आवाज उठाइएन भने हामी केवल आदर्शपूर्ण र सैद्धान्तिक कुराहरू मात्र गर्न पुग्छौँ, परिणाम आउँदैन,” उनले टिप्पणी गरे।
गाउँलेले गणतन्त्र र यसका नाममा सिर्जित विकृतिहरू फरक हुन् भनेर मात्रै उन्मुक्ति पाउन नसकिने बताउँदै विभिन्न जिल्ला भ्रमणको आफ्नो अनुभव सुनाए। उनका अनुसार, आम जनतामा राजा वा राजसंस्थाप्रति कुनै बलियो आकर्षण वा मोह नभए पनि वर्तमान व्यवस्थाप्रति वितृष्णा जागेको छ। मानिसहरू प्रतिक्रियात्मक रूपमा राजा हुँदा र अहिले गणतन्त्रमा के फरक भयो त? भन्ने जस्ता प्रश्नहरू उठाइरहेका छन्। “हामीले गणान्त्रिककालमा राजनीति गर्नुपर्ने ठाउँमा, नगर्नुपर्ने ठाउँमा राजनीति गर्यौँ। राजनीतिमा संलग्न हुनुपर्ने मान्छे पनि संलग्न भयौँ नहुनुपर्ने मान्छे पनि संलग्न भयौँ,” उनले भने।

पूर्वराजदूत महेश मास्केले ‘गणतन्त्र नै सही बाटो’ भनेर पुनः संवाद गर्नुपर्ने अवस्था आउनु नै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। “अहिले जुन ठूलो वितृष्णा र निराशा व्याप्त छ, त्यो सही ठाउँमा छ। हिजोका क्रान्तिकारी कहलिएका नेताहरूका भाषण आज जनता सुन्न चाहँदैनन्। सपनाहरूको मृत्युसँगसँगै शब्दहरूको ओज पनि समाप्त भएको छ, मान्छेहरू शब्दहरूमा विश्वास गर्न छाडिसकेका छन्,” उनले भने।
मास्केको बुझाइमा, राजतन्त्रको अन्त्यपछि एउटा नयाँ, उन्नत र न्यायपूर्ण संस्कृतिको जन्म होला भन्ने आमजनताको सपनाको मृत्यु भएपछि यो वितृष्णा र विश्वासको संकट पैदा भएको हो। गणतन्त्रले राजनीतिक परिवर्तनको संकेत मात्र नभई सामाजिक-आर्थिक परिसूचकहरूमा पिँधमा रहेका नागरिकको जीवनमा ठोस परिवर्तन ल्याउनुपर्नेमा त्यो हुन नसकेको उनको विचार थियो।
“सामाजिक आर्थिक परिर्वतनका लागि दलहरूको साझा धारणा बन्दैन, तर सत्ता साझेदारीका लागि अचम्मलाग्दो किसिमले बन्छ। यस्ता अनगिन्ती प्रश्नहरू जनताका मनमा छन्,” उनले भने।
गणतन्त्र ल्याउँदाको समयमा जनतामा देखिएको असीम विश्वास, ऊर्जा, सपना, आशा र नैतिक साहस अहिले नेताहरूमा नरहेको उल्लेख गर्दै उनले भने, “नेताहरू केवल कुर्सीको खेलमा मात्र किन सीमित हुने? गणतन्त्रको सबभन्दा ठूलो शक्ति संसद् हो। त्यहाँबाट नेताहरूले साझा रूपमा जनताका पक्षमा यो-यो काम गर्छौं भनेर किन घोषणा गर्न सक्दैनन्? अहिलेको वितृष्णा र विश्वासको संकट जुन नेता पंक्तिले सिर्जना गर्यो, अब उहाँहरूले बुझ्नुपर्ने र जिम्मेवारीबोध गर्ने समय आएको छ। आवश्यक परे उहाँहरूले सम्मानजनक रूपमा विश्राम लिइदिनुपर्ने समय पनि आएको छ।”
नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले पनि गणतन्त्र प्राप्त भए पनि दलभित्रको आन्तरिक प्रजातन्त्रमा ठूलो कमजोरी देखिएको बताए। “गणतन्त्रपछि सबैभन्दा बढी नोक्सान पार्टीभित्रको आन्तरिक प्रजातन्त्रमा भएको छ,” कार्कीले भने।
उनले दलभित्र शीर्ष नेताहरू निरंकुश बन्दै जाँदा नेता–कार्यकर्ताहरू लाचार बनेर बस्नुपर्ने स्थिति रहेको सुनाए। “गणतन्त्र टेलिभिजनमा आएर, नेताको घोषणामा आएर हुँदैन,” उनले भने, “समाजभित्र गणतन्त्र त कसैले पाएनन्। जात व्यवस्थाभित्र गणतन्त्र आएनन्। अहिले नेता निरंकुश भए। दलभित्र हामी लाचारजस्तै भयौँ हामीले स्वीकार गर्नुपर्छ,” उनले भने।
नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टी भित्र रूपान्तरण जरुरी भएको बताउँछन्। “कांग्रेस, एमाले, माओवादी मधेशकेन्द्रित दलहरू रूपान्तर भएरै यहाँ आइपुगेका हौँ। तर राजनीतिक दलहरू हिजोको रूपान्तरणले हुँदैन। फेरि अर्को रूपान्तर खोजेका छौँ, त्यो विचारमा होला, व्यवहारमा होला, संगठनमा होला,” भट्टराईले भने।
एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले दलहरूभित्रको कमजोर लोकतन्त्रका कारण अहिलेको अवस्था आइलागेको बताइन्। यसलाई नेतृत्वमा अक्षम मान्छेहरू ल्याएपछिको परिणामका रूपमा व्याख्या गर्दै उनले भनिन्, “त्यो मान्छे टिकिरहनका लागि पार्टीभित्र जायज, नाजायज, गुटउपगुट, साधन शक्तिको प्रयोग दुरुपयोग गर्न ३० वर्ष कट्नुपर्यो। नियुक्त गर्न पैसा ल्याऊ अनि कार्यकर्तालाई खुवाऊ यही होइन। गणतन्त्र बदनाम हुनुका पछाडि यी कामहरू पनि छन्।” गणतन्त्रको समीक्षा दलहरूभित्रै र नेताहरूमा हुनुपर्ने उनको जोड छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको मूल संकट नेतृत्वको निरन्तरता र राजनीतिक दलभित्रको मूल्य संकट भएको बताए। “हाम्रो लोकतन्त्रको सबैभन्दा ठूलो समस्या एउटै अनुहार वर्षौंदेखि एउटै भूमिकामा देखिइरहनु हो।”
थापाले अहिलेको बहस राजतन्त्र र गणतन्त्रबीच छनोट गर्ने विषय नै नभएको जिकिर गरे। “हाम्रो बहस र छनोटको विषय के कुरामा हो भने, नेपालमा कि राजतन्त्र रहन्छ, कि गणतन्त्र रहन्छ। यी दुईमध्ये कुन छान्ने भन्ने हो, बीचको कुनै विकल्प छैन,” थापाले भने। उनले आफ्नो पार्टीभित्रको लोकतन्त्र सुधारका लागि आफू निरन्तर लागिरहेको पनि बताए।
नेता एकीकृत समाजवादीका नेता घनश्याम भुसालले भने पार्टीको पञ्चायतीकरण र नेताको राजाकरणले गणतन्त्र कमजोर भएको टिप्पणी गरे। “लोकतन्त्रमा दलहरू नसुध्रिईकन केही हुँदैन। सामान्य अवस्थामा राजतन्त्र फेरि फर्किएर आउँदैन, आउने कुनै ठाउँ पनि छैन। तर, यदि हामी यस्तै रहिरह्यौँ भने हाम्रो गणतन्त्रले दुःख पाइरहन्छ, जनताले दुःख पाइरहन्छन्,” उनले भने। भुसालले गणतन्त्रको सुदृढीकरण मात्र नभई यसको शुद्धीकरण हुनुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
