आईपीएल: पन्जाब ११ वर्षपछि फाइनलमा

पन्जाब किंग्सले क्वालिफायर-२ खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएलको फाइनलमा स्थान बनाएको छ।

काठमाडाैँ– कप्तान श्रेयस अय्यरको अविजित अर्धशतकको मद्दतले पन्जाब किंग्सले क्वालिफायर-२ खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएलको फाइनलमा स्थान बनाएको छ। पन्जाबको टोली २०१४ पछि पहिलो पटक उपाधि भिडन्तमा पुगेको हो। पन्जाबले अब जुन ३ मा फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी)को सामना गर्नेछ।

आइतबार राति अहमदाबादको नरेन्द्र मोदी रंगशालामा पहिले ब्याटिङ गर्दै मुम्बईले २० ओभरमा छ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। जवाफमा पन्जाबले श्रेयसको बलियो अर्धशतकीय इनिङ्सको मद्दतले १९ ओभरमा पाँच विकेटको क्षतिमा २०७ रन बनाएर जित हासिल गरेको हो। वर्षाले खेलमा बाधा पुर्‍याउँदा २ घण्टा १५ मिनेट ढिलो शुरू भएको थियो। यद्यपि, ओभरहरूमा कुनै कटौती गरिएको थिएन।

श्रेयसबाहेक नेहल वधेराले ४८ र जोश इन्ग्लिसले ३८ रन बनाए। अश्विनी कुमारले दुई विकेट लिए। टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४–४४ रनको इनिङ्स खेले। जोनी बेयरस्टोले ३८ रन बनाए। पन्जाबका लागि अजमतुल्लाह उमरजाईले २ विकेट लिए।

 पन्जाब र आरसीबीले अहिलेसम्म कहिल्यै आईपीएल ट्रफी जितेका छैनन्, त्यसैले अब प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित छ।