ऊ एउटा इतिहास कोर्न व्यस्त छ

विदेशतिर यस्तो विविधताले भरिएको सृजना र स्रष्टा भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने यो विरलै कुरा हो, कमै स्रष्टामा यस्तो विविधता लागू हुन्छ।

गणेश रसिक एक बहुआयामिक व्यक्ति हुन्। यसो भन्नुको कारण छ— गीत लेखन, संगीत र गायनको काम गर्ने तथा एकैसाथ साहित्यमा कटिबद्ध नाम भएका कारण। विदेशतिर यस्तो विविधताले भरिएको सृजना र स्रष्टा भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने यो विरलै कुरा हो, कमै स्रष्टामा यो विविधता लागू हुन्छ।

नेपालको सुदूर-पूर्व भोजपुरबाट शिक्षा र रोजगारीको सिलसिलामा विभिन्न स्थानहरूमा भट्कँदै, कहिले लाहुरे हुन भर्ति जाँदा राजविराजमै बिरामी भई थलिएर व्यथित भएको मनले गरेको पत्रकारिता भनौँ वा कहिले इलामको चियाबारीतर्फ दौडिदै गरेको पत्रकारिता अनि जे.टी.ए. तालिम लिएर आफ्नो भविष्य सुरक्षित गर्न खोज्ने रसिक साहित्य र गीत–संगीतको फाँटमा काठमाडाैँ आएर संघर्ष गर्दै अहिले यो स्थानसम्म आइपुग्नु भनेको चानचुने कुरा होइन। त्यसैले उनको जीवनको उतारचढाव निकै संघर्षपूर्ण छ।

रसिकसँगको मेरो पहिलो चिनारी हुँदा उनी यो क्षेत्रमा बिल्कुलै नयाँ थालनी गर्दै  गरेका सिकारु गायक थिए, जसले आफ्नो परिचय बनाइसकेको थिएन, बनाउने क्रममा संघर्षरत थिए। यो भेटको प्रसंग पनि सान्दर्भिक नै होला। मैले पहिलो पटक रसिकलाई अप्रत्याशित रूपमा भेटेको हुँ। महेन्द्र राजाकी छोरी शारदा शाहले हामी केही व्यक्तिहरूलाई खाना खान बोलाएको अवसर थियो त्यो। हामी त्यस डिनर पार्टीमा सहभागी हुन उनको घर कमलादी गएका थियाैँ। खाना खाने स्थानको छेउमै दुई जना व्यक्तिहरू संगीतकर्ममा लिप्त थिए। एक जना बजाउने र अर्को गाउने।

गाउने क्रमको समाप्तिपछि उनीहरू पनि खानका लागि त्यहाँ सहभागी हुँदा हाम्रो परिचय हुन गयो। बजाउने व्यक्ति कुनै राई थरका संगीतकर्मी थिए भने गाउने व्यक्ति भने गणेश रसिक रहेछन्। सामान्य शिष्टाचार परिचयमै सीमित भयो हाम्रो त्यो भेटघाट। पछि गएर रसिक वासु शशी स्मृति परिषद्मा संलग्न भए। वासु शशीसँग मेरो घनिष्ठतम् सम्बन्ध थियो। रसिकले भने कवितालाई संगीतबद्ध गरेर संगीत सिर्जना गरेका थिए। यसरी वासुका पहिलो गीत(मसँग एउटा तारा छ) उनैले नै गाएका थिए। वासु शशीको मृत्युपछि उनको नाममा प्रकाशित पुस्तक ‘जहाँबाट तिमी आएनौ’ बाट चुनिएका गीतहरूलाई संगीतबद्ध गरेर ‘तिम्रा सपनाहरू’ नामक एल्बम पनि निकाले। र, पछि गएर उनी परिषद्का अध्यक्षसमेत भए।

रसिक मभन्दा चार वर्ष कान्छो हुन्, अस्सी पनि पुगेकै छैनन्। रसिकको इतिहास र संघर्ष स्मरण गर्दा उनले गीत–संगीत र साहित्य लेखनमा मात्र होइन, साझा प्रकाशन, सांस्कृतिक संस्थान, रत्न रेकर्डिङ संस्थान, संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलगायत विशेष स्थानमा कुशल प्रशासकको रूपमा पनि काम गरिसकेका छन्। उनमा रेकर्डिङ मात्र नभएर स्टेजहरूमा पनि कुशलतापूर्वक प्रस्तुति दिने विशिष्टता देखिन्छ। त्यसरी नै लेखनमा पनि गीत मात्र होइन, कविता, कथा, संस्मरण, नाटक र उपन्याससहित साहित्यका विविध विधामा कलम चलाउने गणेश रसिकमा बहुआयामिक सिर्जनशीलताको प्रचुरता देखिन्छ।

साहित्य, कला, संगीतका स्रष्टाहरूको प्रशासकीय ज्ञान त्यति धेरै हुँदैन, त्यसका लागि अझ बेग्लै ज्ञानको आवश्यकता पर्दछ तर यिनले त्यस्ता विशिष्ठ संस्थाहरूको नेतृत्व गरेर प्रशासकीय कुशलता पनि देखाएका छन्। उनले नेतृत्व गरेका संस्थाहरू भने मुख्यतया कलासंस्कृतिसँग नै सम्बन्धित संस्थाहरू हुन्। जस्तै, साझा प्रकाशन भनेको पुस्तकहरू प्रकाशन गर्ने संस्था हो भने सांस्कृतिक संस्थान सांस्कृतिक विषयसँग सम्बन्धित संस्थाको रूपमा रहेका छन्।

संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानले सामान्य सांस्कृतिक कार्यक्रमदेखि तत‍् विषयमा उच्चतम् शोधमूलक कार्यहरू पनि गर्दछ। त्यसो हुनाले एक सिर्जनशील व्यक्तित्वको रूपमा प्रस्तुत पनि हुने र त्यसको व्यवस्थापन पनि गर्ने क्षमता उनमा देखिएको हो।

नेपाली सिर्जनाको कुरा गर्दाखेरि विभिन्न कालखण्डहरू हुन्छन्, त्यसमा निरन्तर नयाँ-नयाँ प्रतिभाहरू आइरहन्छ, जुन स्वाभाविकै हो, त्यसमा एउटा कालखण्डमा धेरै सक्रिय भएर राम्रो गरेका मान्छे हुन् गणेश रसिक। सिर्जनशील र प्रशासकीय क्षमता पनि भएको, संस्थागत विकासमा पनि योगदान गरेको, सिर्जनाको क्षेत्रमा पनि योगदान गरेको उसको योगदानको चर्चा परिचर्चा र विश्लेषण हुन स्वाभाविकै छ।

मेरो सम्बन्ध गणेश रसिकसँग सामान्य भेटघाट र कुराकानी त बारम्बार भएको छ तर, हाम्रो कामको सिलसिलामा भने कुनै सहकार्य सम्बन्ध भने हुन सकेन। मेरो पनि सयाैँ गीतहरू रेकर्डिङ भएको छ, थुप्रै चलचित्रहरू निर्माण पनि भएको छ। थुप्रैसँग सहकार्य भयो तर उनीसँग भने सिर्जनाको क्षेत्रमा सहकार्य हुन सकेन, म छक्क पर्छु।

त्यसो त प्रशासकीय काममा व्यस्त भएपछि सिर्जनात्मक कामहरू घट्दै जान्छ, त्यो कुरा उनमा पनि देखा परेको देखिन्छ। कुनै समय एउटा भेलजस्तै उर्लेर आएको थियो रसिक। जुन रूपमा पहिले सिर्जनाको लहर चलेको थियो, त्यसमा केही शिथिलता आएको महसुस हुन्छ। यसरी शुरूमा अधिराजकुमारी शारदा शाहको घरमा देखेपछि अहिलेसम्मको उनको यात्रा सम्झेर ल्याउँदा यो सबै समयको खेल रहेछ जस्तो लाग्छ।

समय यो एउटा नदीको पानीजस्तै रहेछ, जीवन नदीको पानीजस्तै बगिरहने, कहिले कसरी, कहिले कसरी। समयको कुरा हो, समय आउँछ, समय जान्छ, नदीको पानीजस्तै। त्यसो त संगीतको निरन्तरता रहिरहन्छ, निरन्तर तर व्यक्ति व्यक्तिमा पुस्तान्तरण हुँदै सर्दै जान्छ। यसरी गणेश रसिकलाई हेर्दा त्यस्तो दुर्गम ठाउँबाट आएर, संघर्ष गर्दै  विभिन्न भेलबाढी, पैह्रो, विभिन्न उकाली–ओराली र जंघारहरू तर्दै  यो स्थानसम्म आइपुग्नु आफैमा उदाहरणीय कार्य हो। उनको संघर्ष नेपाली गीत–संगीत र साहित्यको इतिहासमा सुरक्षित भइसकेको छ र वर्तमानमा पनि रसिक एउटा इतिहास कोर्न व्यस्त छ।

(आइतबार निधन भएका रसिकको स्मृतिमा २०८१ मा प्रकाशित ‘गणेश रसिक: अभ्यर्थना ग्रन्थ’मा प्रकाशित कवि एवं चलचित्रकर्मी यादव खरेलको आलेख यहाँ प्रस्तुत गरिएको हो।)