सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध विशेष अदालतमा एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री (हाल प्रदेशसभा सदस्य) दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले सोडारीविरुद्ध सोमबार विशेष अदालतमा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

सोडारीले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी आयोगमा उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धानका क्रममा उनले सार्वजनिक पद धारण गरेको २०७४ माघ ०७ गतेदेखि मिति २०७९ फागुन १० गतेसम्मको अवधिमा ८५ लाख ५१ हजार ३३४.९२ वैधानिक आय आर्जन गरेकोमा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनले एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँको स्रोत खुलाउन नसकेको आयोगले जनाएको छ।

“आयभन्दा व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको हुँदा निजले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको,” आयोगले दायर गरेको आरोपपत्रमा भनिएको छ।

आयोगले उनलाई कैद, जरिबाना र सम्पत्ति जफतको मागसहित आरोपपत्र दायर गरिएको हो। सोडारीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक जम्मा गरेको पाइएको भन्दै उनीहरूलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाएको छ।