तीन वर्षभन्दा बढी समयदेखि जारी द्वन्द्वलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित हुने यो वार्तामा दुवै पक्षले आ–आफ्ना योजना प्रस्तुत गर्नेछन्।
युक्रेनले सोमबार इस्तानबुलमा रुससँग हुन लागेको शान्ति वार्तामा युद्ध अन्त्यका लागि ‘आवश्यक कदम’ चाल्न आफू तयार रहेको बताएको छ। तीन वर्षभन्दा बढी समयदेखि जारी द्वन्द्वलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित हुने यो वार्तामा दुवै पक्षले आ–आफ्ना योजना प्रस्तुत गर्नेछन्। सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरेपछि यो द्वन्द्वले युरोपमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो मानवीय र सामरिक संकट निम्त्याएको छ।
रुसी आक्रमणको प्रारम्भिक हप्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा मस्को र किभबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएको थियो। यद्यपि, त्यसयता भएका विभिन्न चरणका प्रयासका बाबजुद पनि दिगो शान्ति सम्झौताको दिशामा उल्लेखनीय प्रगति हुन सकेको छैन।
युक्रेनले रुसी भूमिमा हालसम्मकै सबैभन्दा ठूलो र सफल आक्रमण गरेको दाबी गरेका बेला दुवै देशबीच वार्ता हुन लागेको हो। आइतबार भएको भनिएको उक्त आक्रमणमा अग्रपंक्तिबाट हजारौँ किलोमिटर टाढा रहेका रुसी एयरबेसमा रहेका दर्जनौँ रणनीतिक बमवर्षक विमानलाई निशाना बनाइएको थियो।
गत महिना इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा केही कैदीको आदानप्रदान भए पनि युद्धविराम वा द्वन्द्व न्यूनीकरणमा कुनै ठोस सहमति जुट्न सकेको थिएन। दोस्रो चरणको यो वार्ता इस्तानबुलको ऐतिहासिक सिरागन प्यालेसमा स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे शुरू हुने कार्यक्रम छ। बोस्फोरसको किनारमा अवस्थित यो ‘ओटोमन इम्पेरियल हाउस’ हाल एक आधुनिक पाँचतारे होटलको रूपमा सञ्चालित छ। टर्कीका विदेशमन्त्री हकान फिदानले यो महत्त्वपूर्ण वार्तामा मध्यस्थताको भूमिका निर्वाह गर्नेछन्।
वार्ताअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिल्नियसमा नेटो सदस्य राष्ट्रको शिखर सम्मेलनलाई सम्बोधन गर्दै आफ्नो देश शान्तिका लागि आवश्यक सबै कदम चाल्न प्रतिबद्ध रहेको बताएका थिए। वार्ता टोलीसँग सम्बन्धित एक स्रोतले रुसलाई आफ्ना पुराना अडान नदोहोऱ्याउन र वार्तामा ‘लचिलोपन’ देखाउन आग्रह गरेको जानकारी दिएको छ। स्रोतले एएफपी समाचार समितिलाई भनेअनुसार, ‘यदि रुसी पक्ष पहिलेका अडानबाट पछि हट्न तयार भएमा आजको वार्ताले सकारात्मक र महत्त्वपूर्ण नतिजा दिन सक्नेछ।’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार युद्ध तत्काल रोक्न आह्वान गर्दै दीर्घकालीन शान्ति स्थापनाका लागि वार्ता शुरू गर्न पूर्ण र बिनाशर्त युद्धविराम, सम्पूर्ण कैदीको रिहाइ र अपहरणमा परेका बालबालिकाको सकुशल घर फिर्तीलाई निर्विकल्प शर्तको रूपमा अघि सारेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता हुनुपर्नेमा पनि जोड दिएका छन्। उनको विचारमा, मुख्य र जटिल मुद्दाहरू शीर्ष नेताहरूले मात्र समाधान गर्न सक्दछन्।
तर, क्रेमलिनले जेलेन्स्की र पुटिनबीचको भेटवार्ताको सम्भावनालाई निरन्तर धकेल्दै आएको छ। रुसले युद्धको क्रममा जेलेन्स्कीको वैधानिकतामाथि नै प्रश्न उठाउँदै उनलाई पदबाट हटाउनुपर्ने मागसमेत गरेको छ। मस्कोले युक्रेनको सेनालाई सीमित गर्नुपर्ने, देशलाई नेटोमा सामेल हुनबाट रोक्नुपर्ने र द्वन्द्वको ‘मूल कारण’लाई सम्बोधन गर्ने भाषा प्रयोग गर्नुपर्ने जस्ता माग राख्दै आएको छ। किभ र पश्चिमी देशले भने रुसका यी मागहरूलाई अस्वीकार गर्दै रुसी आक्रमणलाई साम्राज्यवादी भूमि कब्जाको प्रयासबाहेक अरू केही नभएको बताउँदै आएका छन्।
रुसले आक्रमण गरेयता दशौँ हजार मानिसहरूको ज्यान गइसकेको छ भने पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभाग ध्वस्त भएको छ। यसका कारण लाखौँ मानिस आफ्नो घर छोडेर विस्थापित हुन बाध्य भएका छन्। युद्धले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो शरणार्थी संकट निम्त्याएको छ।
सन् २०२२ मा असफल भएको वार्ताको नेतृत्व गरेका पुटिनका वैचारिक सहयोगी भ्लादिमिर मेदिन्स्कीले इस्तानबुलमा हुने यस चरणको वार्तामा रुसी पक्षको नेतृत्व गर्नेछन्। युक्रेनको टोलीको नेतृत्व भने रक्षामन्त्री रुस्तम उमरोभले गर्नेछन्। किभको विदेश मन्त्रालयका अनुसार युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले इस्तानबुलमा बेलायत, जर्मनी र इटालीका अधिकारीसँग पनि भेटवार्ता गरेका छन्।
किभले हालै एक विशेष कारबाहीमा करिब सात अर्ब अमेरिकी डलर मूल्य बराबरका ४० वटा रणनीतिक रुसी बमवर्षक विमानलाई क्षति पुर्याएको दाबी गरेको छ। किभको सुरक्षा सेवाका अनुसार, यो आक्रमण १८ महिना अघिदेखि रुसमा ड्रोन भित्र्याएर अग्रपंक्तिबाट हजारौँ किलोमिटर टाढा रहेको एयरबेसनजिकैबाट प्रक्षेपण गर्ने योजनाको हिस्सा थियो।
पछिल्ला केही महिनामा रुसी सेना, विशेषगरी उत्तरपूर्वी सुमी क्षेत्रमा अघि बढिरहेका छन्। यहाँ राष्ट्रपति पुटिनले आफ्ना सेनालाई सीमामा ‘बफर जोन’ स्थापना गर्न आदेश दिएका थिए। वार्ताअघि रुसी अधिकारीहरूले युक्रेनलाई पश्चिमी सैन्य सहयोगबाट अलग रहन र आफ्नो सेनाको नियन्त्रणमा रहेको क्षेत्र छोड्न आग्रह गरेका थिए।
युक्रेनले पहिले नै युद्धको माध्यमबाट नभई कूटनीतिक माध्यमबाट मात्र रुसले कब्जा गरेको भूभाग फिर्ता लिन सकिने कुरा स्वीकार गरिसकेको छ। साथै, युक्रेनले नेटो सुरक्षा वा जमीनमा सैनिक तैनाथीसहित पश्चिमा समर्थित ठोस सुरक्षा प्रत्याभूतिहरू पनि चाहेको छ, जसलाई रुसले अस्वीकार्य भन्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
