प्रमुख ३ दलका शीर्षनेताबीच सिंहदबारमा के भयो कुराकानी?

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार छलफलमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले ‘राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्ने’ धारणा राखेको थिए।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सोमबार साँझ प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रलगायतका प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद्मा अवरोध गरिरहेका बेला तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा संसद्को गतिरोध, राजसंस्था पक्षधरका गतिविधिका साथै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ। छलफलका क्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। त्यसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफ्ना माग यथावत् राखेको छ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले छलफलमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राखेको तर आफूहरूले राखेको विषय यथावत् नै रहेको बताए।

“सत्तापक्षबाट संसद् खोल्नुपर्छ भन्ने विषयवस्तु आयो, प्रधानमन्त्री र गृहमन्त्रीज्यूहरूले पनि राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो,” उनले भने, “हामीले जुन विषय राखेका थियौँ त्यो यथावत् नै छ, त्यही भएर सुशासनलाई केन्द्रित गरेर हामी अगाडि बढ्नुपर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट हामीले राख्यौँ।”

उनले अन्य प्रतिपक्षीसँग पनि कुराकानी गर्न बाँकी रहेकाले छलफलको ठोस निर्णय नआएको बताए। “संसद्को गतिरोध कसरी हल गर्ने भन्नेबारेमा छलफल भयो। प्रतिगामीका जुन किसिमको गतिविधि भइरहेका छन् त्योबारे पनि कुराकानी भयो। तर त्यसको ठोस निर्णय केही आएको छैन। हामीले प्रतिपक्षीसँग पनि कुराकानी गर्नुपर्ने छ त्यसकारण अहिले छलफल मात्र भयो,” उनले भने।

छलफलमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए।