६ हजार १०० हेक्टर क्षेत्रफलको जंगलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व संकटमा छन्। यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो।
झापा– ‘रुखहरूको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जंगलका दुर्लभ वनस्पति र जीव लोप हुने खतरामा पुगेका छन्।
हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जंगलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व संकटमा छन्। यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो।
नेपालमा ६०० भन्दा बढी प्रजातिका रुखहरू पाइन्छन्। जसमध्ये १५५ वटा अर्थात् एक चौथाइ प्रजातिका रुखहरू जलथलमा रहेको फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता डा. लिलानाथ शर्माले बताए। धेरै प्रजातिको रुख पाइएकाले यस जंगललाई ‘रुखहरूको राजधानी’ पनि भनिन्छ।
समुन्द्र सतहबाट ७० देखि १०० मिटरसम्म उचाइमा रहेको जलथल जंगलमा २३५ प्रजातिका चरा, १५७ प्रजातिका पुतली, ४३ प्रजातिका माछा, १४ प्रकारका भ्यागुता र ३२ प्रजातिका सरिसृप अध्ययनका क्रममा भेटिएका छन्।
नेपालको वन क्षेत्रमा जलथलले ०.१ प्रतिशत मात्र अंश ओगटेको छ। यति थोरै भूगोलमा यति धेरै जैविक विविधता विश्वमा अन्यत्र पाउन नसकिने उनी बताउँछन्। जसमध्ये नेपालमा हालसम्म अभिलेख नगरिएका छ प्रकारका रुखका प्रजाति र तीन प्रकारका साना वनस्पति यहाँ पाइएको उनले बताए।
“दुई तीन वर्ष जति भयो कसैले पनि जंगलमा मुसे मृग देखेको बताएका छैनन्,” उनी भन्छन्, “सम्भवतः यो सानो सुन्दर जनावरको अस्तित्व जलथलबाट लोप भइसकेको हुनसक्छ।”
अरू प्रकारका मृगभन्दा ज्यादै सानो हुने भएकाले यस प्रजातिलाई मुसे मृग भनिएको हो। रुखबाट झरेर ठूला पातहरु र झाडीमा लुक्ने लजालु स्वाभावको यो मृग चोरी शिकारी र घरपालुवा कुकुरको प्रवेशले जंगलबाट लोप भएको अनुमान छ।
नेपालमै ‘लटहर’को जंगल जलथलमा मात्र पाइएको छ। कटहरको जस्तै हाँगा र ३० मिटरसम्म अग्लो रुख हुने लटहर फल फल्ने दुर्लभ रुख हो। कोशी पूर्व कहिँकतै एक दुई वटा यसका रुख देखिएको भए तापनि जलथलमा यसको जंगल नै भन्न सकिने गरी रुखहरू रहेको अनुसन्धानकर्ता डा. शर्माको भनाइ छ।
“जलवायू परिवर्तन र मिचाहा झारको प्रकोपका कारण लटहरको पुनरुत्थान हुन नसक्नु खतराको संकेत हो,” ६ वर्षदेखि जलथल जंगलको अध्ययन गरिरहेका डा. शर्मा भन्छन्, “घाँस र दाउरा काट्ने क्रमले भएका रुखको अस्तित्व जोखिममा परिसकेको छ।”
नयाँ लाथ्रा नहुर्किने र भएका रुखहरू मासिने क्रमले जलथलमा लटहरको जंगल थियो भनेर एकादेशको कथा सुनाउने दिन भविष्यमा नआउला भन्न नसकिने उनले बताए। पहाडमा मात्र पाइने ठानिएको उत्तिस, टिमुर, भोटे लहरा लगायतका वनस्पति यहाँ पाइन्छ।
भोटे लहरा र थाकल अति दुर्लभ वनस्पति हुन्। डा. शर्माका अनुसार जीव र वनस्पतिको उद्भवकालमा दुवै गुण लिएर सेतुको रूपमा विकास भएको वनस्पतिमा थाकल पर्दछ। यी वनस्पति डाइनोसरकालदेखि हालसम्म अस्तित्वमा रहेको मानिन्छ। उन्यूको जस्तो पात र कोणधारीको जस्तो बीउ हुने यो वनस्पतिलाई विश्व संरक्षण संघ (आइयूसीएन)ले संकटापन्न सूचीमा राखेको छ।
जंगलमा मानव अतिक्रमण बढ्दै जाँदा थाकलको टुप्पो काटिदिने, पातलाई घाँसको रूपमा खुवाउने र मिचाहा झार माइकेनियाले नयाँ बिरुवा हुर्किन नदिने समस्या देखिएको छ। नेपालमै हालसम्म सबैभन्दा मोटो भोटे लहरा जलथलमा भेटिएको उनले बताए।
सालक, लाम्चे कछुवा र हात्ती अति संकटापन्न सूचीमा सूचीकृत भइसकेका जीव हुन्। प्राकृतिक वासस्थानको रूपमा रहेको जंगल र सिमसार मासिने क्रम बढेकाले यी जीवहरू लोपोन्मुख अवस्थाबाट गुज्रिरहेका छन्।
दुर्लभ मानिएका बाँदरझुला, ढेडु झुला, रामगुवा, कुसुम, वन सुन्तला, गान्टे, वन फर्सीलगायतका फलफूल जलथलमा पाइएका छन्। प्राकृतिक जंगल क्षेत्रमै सामुदायिक वनले टिक, मसला, रबरजस्ता रुखहरू हुर्काउने गर्नाले रैथाने जीव र प्राकृतिक वनस्पति प्रभावित बनेका छन्।
जलथल जंगल भित्र २२ वटा सामुदायिक वन छन्। काठ तथा वनयजन्तुको चोरी शिकारी, मानव अतिक्रमण, वन व्यवस्थापनका कमजोरी र ग्रामीण बासिन्दामा पर्यावरणीय चेतनाको कमी नै यहाँका दुर्लभ जीव तथा वनस्पति लोप हुने प्रमुख कारण हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
