संघीय संसद्‌मा बजेटमाथि छलफल शुरू हुँदै, अवरोध गर्ने प्रतिपक्षको तयारी

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।

काठमाडौँ– संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ। 

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। 

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ। 

राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ।

यता, प्रतिपक्षी दलहरूले दुवै सदनको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन्।