कुशल पुर्जाले जिते अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले दौड आयोजना गरिएको हो। दौडमा ४० जना धावक सहभागी थिए।

म्याग्दी– अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा म्याग्दीमा मंगलबार भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण–७ घराम्दीका कुशल पुर्जाले जितेका छन्। 

चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको ३६ किलोमिटर दौड २ घण्टा ४७ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै उनी विजयी भएका हुन्। 

अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले २ घण्टा ५२ मिनेट ५१ सेकेन्ड र सञ्जयबहादुर बरुवालले ३ घण्टा ८ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः दोस्रो र तेस्रो भए। 

प्रतियोगिताको व्यवस्थापन भूतपूर्व खेलाडी मञ्चले गरेको थियो। मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटका अनुसार अन्नपूर्ण आधार शिविरबाट बिहान साढे ६ बजे शुरू भएको दौडमा म्याग्दीका ४० जना धावकको सहभागिता थियो। 

विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। 

सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सवसमेत आयोजना गरिएको छ।