प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

भिजिट भिसा प्रकरणका कारण उत्पन्न अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।

काठमाडौँ— संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्। माग सम्बोधनका लागि संसद्मा अवरोध जारी राखेका कारण बैठक बस्न नसकेको हो।

सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति नजुटेपछि बैठक स्थगित गर्नुपरेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

मंगलबार नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीको संसद भवन सिंहदरबारमा बसेको बैठकले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद चल्न नदिने निर्णय गरेको थियो।

यस्तै, संघीय संसद् सचिवालयले मंगलबार दिउँसो सूचना जारी गर्दै २ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक बुधबार १ बजे बस्ने सूचना टाँस गरेको छ।