ट्रम्पले आप्रवासीप्रति कठोर नीति लिँदा त्यसको त्रास नेपालसम्मै फैलिएको छ। करोडसम्म खर्चिएर तल्लो बाटो अमेरिका पुगेकाका परिवार आफ्ना मान्छे ‘डिपोर्ट’ भए ऋणको पासोमा परिने चिन्तामा छन्।
रुकुम– रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखराकी निशा (नाम परिवर्तन) राम्ररी निदाउन सकेकी छैनन्। तीन महिनादेखि मन बेचैन छ। कारण हो—अवैध रूपमा अमेरिका पुगेर ‘डिटेन्सन क्याम्प’मा रहेका श्रीमानलाई ट्रम्प प्रशासनले डिपोर्ट गरिदिने डर।
२०७९ सालमा घरबाट हिँडेका उनका श्रीमानले बाटोमै दुई वर्ष बिताए। उनी मुस्किलले अमेरिका छिर्दा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भइसकेका थिए।
ट्रम्पले आप्रवासीप्रति कठोर नीति लिएका छन्। गैरकानूनी रूपमा अमेरिका छिरेकाहरू धमाधम डिपोर्ट भइरहेका छन्। निशाका श्रीमान् डिटेन्सन क्याम्पमा बसेको तीन महिना भइसकेको छ। फर्काइन्छन् कि अमेरिकै बस्न पाउँछन्— पत्तो छैन।
ट्रम्प प्रशासनको नीतिले रुकुमका गाउँमा पनि त्रास छ। श्रीमान् थुनामा परेपछि निशालाई चिन्ता थपिएको छ। “तीन महिनादेखि जेलमा (डिटेन्सन क्याम्पमा) बसेर शरणार्थी मुद्दा लडिरहनु भा’छ,” उनी भन्छिन्, “त्यहाँ पुगेपछि फोनमा कुराकानी पनि भा’छैन। अमेरिकाबाट फर्काइरहेको मात्र सुनिन्छ, के कसो हुने हो थाहा छैन।”
श्रीमान् फर्काइने हो कि भन्ने त्रासको मुख्य कारण हो ऋण। श्रीमान् अमेरिका जाँदा उनीहरूले मिटरब्याजी साहु, सहकारी, छिमेकी र आफन्तबाट झन्डै ७५ लाख रुपैयाँ ऋण लिएका छन्। अहिले व्याजसहित १ करोड २० लाख नाघिसकेको छ।
अमेरिका जाने चक्करमा लिएको यो ऋण गाउँको घरजग्गा बेचेर पनि तिर्न पुग्दैन। “ऋण सम्झिँदा टाउको फुट्लाजस्तै लाग्छ, ऋणदाताहरू पैसा माग्न आइरा’छन्,” उनी भन्छिन्, “(फर्काइयो भने) हाम्रो त उठिबास नै लाग्छ।”
तीन वर्षअघि निशा र उनका श्रीमान् दाङको घोराहीमा फलफूल पसल चलाउँथे। त्यसैबेला गाउँमा अमेरिका छिर्ने लहर चलिरहेको थियो। त्यहाँ पुगेकाहरूले मासिक ५–६ लाख कमाइरहेको चर्चा हुन्थ्यो।
अमेरिका पुगेका गाउँका युवाहरूको जीवनशैली र घरजग्गा जोडेको देखेपछि आशाका श्रीमानको मन बदलियो। पसल बेचेर उनले पनि अमेरिका पुग्ने बाटो समाएका थिए।
सिस्नेको पोखरा गाउँकै प्रताप खड्का (५९) मोबाइलमा आउने समाचारहरू चासोका साथ हेर्छन्, सुन्छन्। अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उताबाट आउने समाचारले उनको चिन्ता बढेको छ। तल्लो बाटो अमेरिका पसेका छोरा फर्किनुपर्ने हो कि भन्ने त्रास छ।
प्रहरीमा भर्ती भएका उनका छोरा २०८० भदौमा जागिर छोडेर अमेरिका हिँडेका थिए। गाउँका अन्य युवासँगै बाटो लागेका उनले दलाललाई ७५ लाख रुपैयाँ बुझाएका थिए।
गाउँमा खेतीपाती गरिरहेका प्रतापले छोरो पठाउन गाउँकै मिटरब्याजी साहुसँग ३६ प्रतिशत व्याजमा ऋण लिए। अमेरिका जाने भनेपछि आफन्त, छरछिमेकी र अमेरिका नै पुगेकाहरूले पनि पैसा दिए।
अमेरिका पुगेपछि छोराले पैसा पठाइरहेका छन्। तर ट्रम्प निर्वाचित भएपछि छोरालाई पनि फर्काइदिने हो कि भन्ने उनलाई त्रास छ। छोराले भने नआत्तिन भनेका छन्।
गाउँकै दुईतीन जना युवाहरू फर्काइएपछि प्रताप झन् बेचैनीमा छन्। “हाम्रा छोराहरू पनि फर्काइने हुन् कि भनेर मन पोलिरहन्छ,” उनी भन्छन्, “उसलाई फर्काइदिए भने हाम्रो त बिजोग हुन्छ।”
त्राहिमाम् गाउँ
रुकुम पूर्व र पश्चिमका गाउँबाट अमेरिका पुग्नेहरूका परिवारमा अहिले त्रास छ। करोडसम्म खर्च गरेर अमेरिका पुगेका परिवारका सदस्य ट्रम्पका कारण फर्कनुपर्ने हो कि भन्ने चिन्ता छ। चौतारो, प्रतीक्षालय र चिया पसलहरूमा ट्रम्पकै विषयमा कुरा चल्छ।
पोखराका पूर्णबहादुर खत्री (६४) गाउँकै चौतारोमा अरू दुई स्थानीयसँग गफिइरहेका थिए। रिपोर्टिङका लागि पुगेको भनेर चिनाएपछि उनले उल्टै प्रश्न गरे, “ट्रम्पले अमेरिकाबाट सबैलाई फर्काउलान् त सर?”
पूर्णबहादुरका २२ वर्षीय नाति तल्लो बाटो अमेरिका हिँडेका छन्। “ऊ अहिले बाटोमै रोकिएको छ, अमेरिका जान दिएको छैन रे। पुग्ला कि नपुग्ला त?” उनको जिज्ञाशा थियो।
नाति पठाउँदा उनकी छोरीले ६० लाख ऋण लिएकी छन्। पूर्णबहादुरले पनि सहकारी संस्थाबाट १० लाख ऋण लिएर दिएका छन्। “१० लाखको व्याज महिनामा १० हजार पर्छ,” उनी भन्छन्, “अमेरिका पुगेर तिर्ला भनेको, अझै पुगेकै छैन। यता हरेक दिन ऋण बढ्दै छ।”
सामान्य खेतिपाती गर्ने उनी गाउँमा घरजग्गाबाहेक केही नभएको बताउँछन्। घरजग्गा बेच्दा १० लाख पनि नआउने उनको भनाइ छ। उनका नाति भने अहिले स्पेनमा रोकिएका छन्।
पोखराकै रमिला खड्का (नाम परिवर्तित)की बहिनी पनि बाटोमै छिन्। तीन वर्षअघि ज्वाइँ अमेरिका पुगेपछि बहिनीले पनि उसैगरी पुग्न अवैध बाटो समाएकी हुन्। २०८१ जेठमा घरबाट हिँडेकी उनी माघमा मेक्सिको पुगेकी थिइन्।
छिमेकी गाउँ नाथिगढ बिहे गरेकी उनी घरमा ३ वर्षको बच्चा छोडेर अमेरिका हिँडेकी हुन्। “ज्वाइँ अमेरिका पुगेपछि ऊ पनि हिँडी,” उनी भन्छिन्, “२६ लाख ऋण लिएकी छ, अहिले पनि बाटोमै छे।”
यदि, बहिनीको अमेरिका यात्रा असफल भयो भने ठूलो बिचल्ली हुने चिन्ता उनलाई छ। अहिले ऋणको व्याज बढेर आधा करोड नै पुगेको र फर्कनु परे सजिलै तिर्न नसकिने उनी बताउँछिन्।

घरैपिच्छे अमेरिका
२०६३ सालदेखि रुकुममा शुरू भएको अवैध रूपमा अमेरिका जानेक्रम २०८२ सालमा आइपुग्दा झनै बढेको छ। रुकुम पूर्व र पश्चिमका हरेक गाउँका घरमा कोही न कोही अमेरिका पुगेकै छन्। एउटै घरबाट पाँच जनासम्म गएका छन्।
अमेरिका जाने लहरको एउटा उदाहरण हो— रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथिगढ गाउँ। वडाध्यक्ष शशिधर बुढाका अनुसार नाथिगढमा प्रायः घरबाट अमेरिका गएका छन्। उनी भन्छन्, “१४५ घरधुरी छ, १२० जना जति अमेरिका गएका छन्। ट्रम्प आएपछि अहिले रोकिएका पनि ढिलोचाँडो हिँड्ने तयारीमा छन्।”
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाका स्याला र बाँकी गाउँको अवस्था पनि त्यस्तै छ। वडा नं. ५ मा पर्ने स्याला गाउँका ८० प्रतिशत घरबाट अमेरिका जानेहरू छन्। १४ घर रहेको बाँकी गाउँका त हरेक परिवारबाट अमेरिका पुगेका छन्।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी अमेरिका जाने लहरले गाउँ नै रित्तिन लागेको बताउँछन्। स्थानीय तहका जनप्रतिनिधिहरू रुकुमबाट मात्र तीन देखि पाँच हजार जना अमेरिका पुगेको अनुमान गर्छन्।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भने अमेरिकाबाट डिपोर्ट भएर आउने बढेका छन्। यस कारण गाउँमा त्रासको अवस्था सिर्जना भएको बाफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठामगर बताउँछन्। उनका अनुसार ट्रम्प आएपछि अहिलेसम्म गाउँपालिकाका १० जना डिपोर्ट भइसकेका छन्।
ट्रम्पले २०२५ जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हालेयता डिपोर्ट हुने नेपालीको संख्या बढेको छ। मानव बेचबिखन अनुन्धान ब्युरोका अनुसार ट्रम्पको दोस्रो कार्यकाल शुरू भएयता ६ महिना नपुग्दै १२४ जना नेपाली डिपोर्ट भइसकेका छन्। तीमध्ये ११२ पुरुष र १२ महिला छन्।
ट्रमले कार्यकाल सम्हालेपछि डिपोर्टको दर बढेको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर बताउँछन्। चार वर्षकोअघिको डिपोर्ट हुनेको संख्या हेर्दा पनि यस्तो देखिन्छ।
ब्युरोका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १३, २०७९/०८० मा सात, २०८०/८१ मा २१ र चालु आर्थिक वर्षको हालसम्म १५२ जना डिपोर्ट भएका छन्। ट्रम्प आउनुअघि अमेरिकाबाट वर्षमा १० देखि २० जना नेपाली मात्र डिपोर्ट भएको देखिन्छ।

पहिलो कार्यकालमा पनि धेरै डिपोर्ट
ट्रम्प २०१७ जनवरी २० देखि पहिलो कार्यकालका लागि राष्ट्रपति भएका थिए। पहिलो कार्यकालमा समेत उनले आप्रवासीप्रति कडा नीति लिएका थिए। त्यस बेला रुकुमका धेरै जना डिपोर्ट भएको कारण पनि अहिले गाउँमा त्रास फैलिएको हो।
ट्रम्पको अघिल्लो कार्यकालमा डिपोर्ट भएका सिस्ने गाउँपालिका–५ का समीर शाहका अनुसार, त्यस बेला उनीसहित १५ जनालाई एकैपटक डिपोर्ट गरिएको थियो। “हामीजस्ता धेरै डिपोर्टमा परेका थियौँ” उनी भन्छन्, “धेरैजना फर्किएपछि गाउँका युवा अमेरिका जान डराएका थिए। फर्केकाहरूको हालत मजस्तै भयो— विचल्ली।”
सन् २०२१ जनवरी २० मा जो बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि डिपोर्ट दर घटेको थियो। त्यसपछि फेरि रुकुमबाट तल्लो बाटो अमेरिका छिर्ने लहरले गति लिएको समीर बताउँछन्।
ट्रम्पकै पहिलो कार्यकालमा डिपोर्ट भएका अर्का युवा हुन् मदन बुढाथोकी। करोडसम्म खर्च गरेर अमेरिका पुगिसकेपछि फर्किनुपर्दा ऋणको मात्र नभई मनोवैज्ञानिक असर पर्ने उनी बताउँछन्। मदन भन्छन्, “त्यत्रो यात्रा गरेर छिरे पनि डिपोर्ट भएपछि रित्तै फर्कनुपर्छ। घर फर्कंदा दुःखमात्र होइन, टाउकोमा तिर्न नसकिने ऋणको भारी हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
