काठमाडौँ महानगर प्रहरी प्रमुखबाट राजु पाण्डे निलम्बित, जोशीलाई निमित्तको जिम्मेवारी

राजुनाथ पाण्डे निलम्बनमा परेपछि काठमाडौँ महानगरको नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी विष्णुप्रसाद जोशीले पाएका छन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। मंगलबार काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन्। 

यसअघि सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि पाण्डेमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बन गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बताए। नगर प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले पाएका छन्। उनी काठमाडौँ महानगरअन्तर्गतको विपद् व्यवस्थापन विभागमा थिए।

यो पनि : काठमाडौँ महानगरमा बालेनका ३ वर्षः गरेका काम विवादित, वाचा अपूरा

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्नेक्रममा अवरोध गरेपछि पाण्डेलाई सातबुँदे स्पष्टीकरण सोधिएको थियो। चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेशका क्रममा नगर प्रहरीले अवरोध गरेको थियो।

चित्तबुझ्दो र विश्वासयोग्य स्पष्टीकरण नआएको उल्लेख गर्दै सो घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गराई सत्यतथ्य पत्ता लगाउन महानगर प्रहरी ऐनको दफा २१ को उपदफा ४ बमोजिम जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको पाण्डेलाई दिइएको निलम्बन पत्रमा उल्लेख छ। समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश नगरेसम्म बढीमा ६ महिनासम्मको लागि उनलाई निलम्बन गरिएको पनि पत्रमा उल्लेख छ।

यो पनि : जेल सजाय हुने कसुरमा मुछिएका पाण्डेलाई ‘महानगर गौरव’ पदक, कसको आडले लिँदैछन् कानून हातमा?