अन्नपूर्ण आधार शिविरमा गुन्जियो ‘फ्रान्सेली संगीत’

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो।

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलोपटक ‘फ्रान्सेली संगीत’ गुन्जिएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा फ्रान्सेली कलाकारहरूको टोलीले सांगीतिक प्रस्तुति दिएका हुन्। 

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो। हार्मोनियम, बाँसुरी, गीतारलगायत नेपाली वाद्यवादनका साथ फ्रान्सेली कलाकारको प्रस्तुतिमा पर्यटक रमाएका थिए। 

अन्नपूर्ण आधार शिविरमा पहिलोपटक यसप्रकारको सांगीतिक कार्यक्रम आयोजना गरिएको हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताए। “फ्रान्सेली कलाकारको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा सांगीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ,” अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहेका गुरुङले भने। 

कलाकारले नेपालीपन झल्किने संगीतका साथै फ्रान्समा प्रचलित नृत्यसमेत प्रस्तुत गरेका थिए। अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत संगीतको नेपाली र विदेशी पर्यटकले रुचिका साथ अवलोकन गरेका थिए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले संगीतको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताए। 

महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ। आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगितासमेत भएको थियो।