नेपाल–बांग्लादेश व्यापार: आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोड

काँकडभिट्टाबाट सबैभन्दा बढी ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बांग्लादेश निर्यात भएको छ। १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।

भद्रपुर– आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्ममा काँकडभिट्टा हुँदै बांग्लादेशबाट ४ अर्ब ७५ करोड ८ लाख रुपैयाँ बराबरको मालसामान आयात भएको छ।

नेपालबाट भने ३५ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरको सामान बांग्लादेश निर्यात भएको छ। 

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अनुसार बांग्लादेशबाट सबैभन्दा धेरै १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ। यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एन्ड वेभरेजलगायत सामग्री छन्।

यस्तै, काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार रुपैयाँको खुदो बांग्लादेश निर्यात भएको छ। जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएको कार्यालयप्रमुख सुवास पाण्डेयले जानकारी दिए।