इमन बट्लरको ‘आर्थिक असमानता: एक परिचय’ प्रकाशित

आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ। 

काठमाडौँ– ब्रिटिस अर्थशास्त्री इमन बट्लरको कृति ‘एन इन्ट्रोडक्सन टु इकोनोमिक इनइक्वालिटी’को नेपाली अनुवाद ‘आर्थिक असमानता: एक परिचय’ प्रकाशित भएको छ। विप्लव प्रतीकले अनुवाद गरेको पुस्तक वी रिडले प्रकाशन गरेको हो। 

पुस्तकमा आर्थिक असमानताबारे सैद्धान्तिक व्याख्या गरिएको छ। आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ। 

असमानतामाथि बनेका भाष्य र तिनमाथि बहस, आम्दानीको मापनमा उठेका सवाल, समानताको नीति र राजनीतिक प्रभाव, प्रगतिशील कर प्रणाली, अन्तर्राष्ट्रिय तुलना, विभिन्न अर्थशास्त्रीको तर्क र सिद्धान्त, कार्यालयमा समान ज्याला तथा लैंगिक अन्तरको विषय पनि उठाइएको छ।

सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका बट्लरले विद्यावारिधि पनि सोही विश्वविद्यालयबाट पूरा गरेका हुन्। बट्लरका ३० भन्दा धेरै पुस्तक प्रकाशित छन्।

उनले सन् १९७० मा अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेन्सन र कल्याणकारी मुद्दामा समेत काम गरेका थिए।