झोलेः पारिको सक्कल बमोजिम नक्कल

मोदी ‘चायवाला’ र ‘चौकीदार’ भएपछि आफूलाई ‘देवदूत’ र ‘देवावतार’का रूपमा ब्रान्डिङ गराउन अघि सरेका थिए। ओलीचाहिँ ‘राजनेता’ र ‘बा’को ब्रान्डिङपछि ‘झोले’मा झरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा शुरू गरेको ‘म झोले हो’ अभियान ‘सुपर फ्लप’ भएको छ। अभियानले पानीधरि मागेन। एमाले भित्रबाटै अभियानलाई असहयोग मात्रै होइन प्रतिवादै भएपछि अभियान पानी नमाग्ने अवस्थामा पुग्यो।

“ज्यामितिमा स्वयंसिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन। जस्तो कि, दुई विन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ, त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ,” ओली गुरुकुलबाट दीक्षित नेता गोकुल बास्कोटाले सञ्जालमै लेखे, “राजनीतिमा पनि त्यही हो अर्थात्, म एमाले कार्यकर्ता हुँ। त्यहाँ मेरो विश्वासको मात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ।”

काउन्टरमा गरिएको ‘म एमाले हो’ अभियान ओलीसँग असन्तुष्ट भई पूर्वराष्ट्रपति विद्या भण्डारीसँग नजिकिएको पंक्तिबाटै शुरू गरिएको अनुमान गर्न सकिन्छ। जसमा थप ‘जबज, पार्टीको नीति र नेतृत्वप्रति बफादार’ लेखिएको छ।

एमालेमा आबद्ध बुद्धिजीवी परिषद्को महाधिवेशनमा शनिबार (जेठ १७) प्रधानमन्त्री ओलीले भाषणमै आफूलाई झोले हुनुमा गर्व भएको बताएपछि अभियानको बीजारोपण भएको थियो। “मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ,” ओलीले भनेका थिए, “जनताको हित, राष्ट्रको हित र इज्जतको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ।”

त्यसको पर्सिपल्ट सोमबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले आ–आफ्नो फोटोसहित ‘म झोले हो’ लेखिएको डिजिटल पोष्टरमार्फत सामाजिक सञ्जालमा अभियान शुरू गरे। त्यसलाई पार्टी महासचिव शंकर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पार्टी उपमहासचिव प्रदीप ज्ञवाली आदिले पछ्याएका थिए।

ओलीका खासमखास भनेर चिनिने केही नेताहरू तथा उनका कडा समर्थकजनले पछ्याए पनि पार्टीका कतिपय केन्द्रीय नेताहरूले नै पछ्याएनन्। अझै पार्टीकै कतिपयले त अभियानलाई गुपचुप विफल बनाउनै सक्रिय रहे।

अलि अघिसम्म ओलीकै खासमखासमा दरिने गोकुल बास्कोटाले त ‘झोले अभियानमा किन साथ नदिएको’ भनेर सोध्नेहरूलाई आफ्नै झर्रो शैलीमा ‘म झोले हुँ र!’ भन्ने जवाफ फर्काएका थिए।  

पारिको सक्कल बमोजिम नक्कल
‘म झोले हो’ सामाजिक सञ्जालमा ‘लञ्च’ भएको एकैछिनमा रविन शर्माले सन् २०१९ मा लोकसभा चुनाव प्रचारको दौरान भारतीय जनता पार्टीले चलाएको ‘मै भि चौकीदार’ को फोटो र ‘म झोले हो’ लाई साथै राखेर पोष्ट गरे। उनको टिप्पणी थियो– भारतको राजनीतिक परिप्रेक्ष्यमा ‘मै भि चौकीदार’ ले काम गर्‍यो, तर यस्तो जुक्ति अर्को देशमा आयात गर्दा प्रभावकारी नहुन सक्छ, हेरौैँ ओलीको अभियानले कसरी काम गर्दो रहेछ।

तर पारिको नक्कल गर्दा ‘फन्ट’ समेत कपी गरिएको भनेर आलोचना भएको थियो।

सन् २०१४ मा भारतको प्रधानमन्त्री भएसँगै मोदीले ‘प्रधानमन्त्री नभई प्रधानसेवक हुँ’ भनेर फुटेज खाएका थिए। यस्तै, जनताको रक्षकको रूपमा आफूलाई चौकीदार घोषित गरेका थिए।

यता, फाइटर जेट रफायल खरिदमा घपला भएको भन्दै प्रतिपक्ष कांग्रेसले ‘चौकीदार चोर है’ अभियान चलाएको थियो। त्यसकै काउन्टरमा मोदीले चुनाव प्रचारका क्रममा ‘मै भि चौकीदार’ अभियान चलाए। मोदीले इमानदारी र समर्पणको विम्बको रूपमा चौकीदार प्रयोग गरेका थिए।

अघिल्लो चुनावभन्दा पनि सफल भई मोदी सत्ताले निरन्तरता पाएकाले ‘मै भि चौकिदार’ पनि सफल नै ठानियो। भलै, सो सफलतामा अभियानको भूमिका कति थियो यकिन भन्न सकिन्न। 

मोदीको अभियान सफल यसकारण देखियो, उनको लोकप्रियता चरमचुलीमा पुगेका बेला अभियान चलाइएको थियो। लोकसभा चुनावकै मुखमा काश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको जवाफमा भारतले पाकिस्तानविरुद्ध बालाकोट एयरस्ट्राइक गरी राष्ट्रवादको आँधीबेहरी उठाएको थियो।

‘म झोले हो’ अभियान शुरू गर्दा ओलीको लोकप्रियता दिन दुगुना रात चौगुना खँस्कदो क्रममा छ। (लोकप्रियता नाप्ने सर्भे वा अरू कुनै अध्ययन नभई, सामाजिक सञ्जालदेखि गाउँका चौतारा अनि शहरका क्याफे/भट्टीसम्म हुने टीकाटिप्पणीका आधारमा दाबी गरिएको हो।)

नागरिक चरम कुशासन झेल्न बाध्य हुनुका साथै आर्थिक शिथिलताबाट गुज्रिरहेको कठिन समयमा प्रधानमन्त्रीचाहिँ दौरासुरुवालमा रिटिक्क भई हरेक दिनजसो छुच्चो मुख लाउँदै हिँडेको देखेर जोकोही आजित सुनिन्छ। त्यसमा पनि जनमानसमा लोकप्रिय बालेन्द्र शाह, कुलमान घिसिङलाई तह लगाउने हुटहुटीले उनलाई निन्दा गर्नेको संख्या बढ्दै गएको अनुमान गर्न सकिन्छ। प्रधानमन्त्रीलाई गालीगलौज गरिएका र्‍याप गीत युट्यबमा एकपछि अर्को अपलोड भइरहेका छन्।

आफूलाई चौकीदार भनाउँदा मोदीले ‘नेहरू/गान्धी परिवार राजपरिवार हो, मचाहिँ सामान्यजन हुँ’ भन्ने सन्देश दिन खोजेका थिए। त्यति बेला उनी कांग्रेस नेता राहुल गान्धीको आलोचना गर्दा शहजादा (राजकुमार) शब्द प्रयोग गर्थे। ओलीको अभियानको निशाना पनि राजावादीहरूतिर छ। “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो,” पोष्टरमा उल्लेख छ।

मोदीप्रति लक्षित तत्कालीन कांग्रेस नेता मणिशंकर अइयरको ‘एउटा चियावालाको छोराले प्रधानमन्त्री ताक्ने’ टिप्पणीलाई पनि मोदीको टिमले ‘चायवालाका बेटा’ को रूपमा ब्रान्डिङ गरी निम्नमध्यम वर्गलाई आकर्षित गर्न सफल भएको थियो। सन् २०१४ र २०१९ को दुवै चुनावमा चायवाला र चौकीदारको रूपमा ब्रान्डिङ गरिएका मोदीलाई पछिल्लो लोकसभा चुनावमा चाहिँ ‘देवदूत’ अझ देउताकै अवतारका रूपमा ब्रान्डिङ गर्ने प्रयत्न भएको थियो।

“देशका लागि अवतार हुन्,” हिमाञ्चल प्रदेशको मण्डी क्षेत्रबाट भाजपाको टिकटमा लोकसभा चुनाव जितेपछि बलिउड स्टार कंगना रनावतले भनेकी थिइन्, “मोदी साधारण मनुष्य त हुँदै होइनन्।”

“परमात्माले कुनै उद्देश्यले मलाई पठाएका हुन्, यही काम फतह गर्न परमात्माले ऊर्जा दिएका हुन्। मार्गदर्शन पनि गर्छन्,” चुनावकै दौरान दिएको टेलिभिजन अन्तर्वार्तामा मोदी भन्छन्, “कुनै दैवीशक्ति, इश्वरीय शक्तिबिना यो सम्भव छैन।” मोदी यतिमै रोकिँदैनन्। उनी अझ थप्छन्, “त्यो उद्देश्य पूरा भएपछि परमात्माले मेरो काम पनि पूरा गर्नेछन्। म परमात्मामा पूरै समर्पित छु।”

पत्रकार सोध्छन, “परमात्माको उद्देश्य के थियो?”

मोदी जवाफ दिन्छन्, “परमात्माले पत्ता खोल्दैनन् नि, ममार्फत काम मात्रै गराउँछन्।” ‘मेरो प्रत्यक्ष संवाद नहुने भएकाले परमात्मासँग अगाडि के काम गराउनुछ भनेर सोध्न पनि त सक्तिनँ,’ भनेर मोदीले परमात्माभन्दा चाहिँ आफूलाई सानै देखाए।

“म विश्वस्त भइसकेँ, मलाई परमात्माले पठाएका हुन्,” बनारसमा गंगा नदीमा डुंगामा उभिएर दिएको अन्तर्वार्तामा मोदी थप्छन्, “यो उर्जा बायोलजिकल शरीरबाट प्राप्त हुँदैन, इश्वरलाई मबाटै कुनै काम लिनपर्ने भएकाले प्राप्त भएको हो।”

मोदीले आफूलाई देउता नभई देवदूतसम्म दाबी गरिरहेका बेला उनकै पार्टीका प्रवक्ता तथा उडिसाको पुरीबाट उम्मेदवार सम्बित पात्राले ‘भगवान जगन्नाथ नै मोदीका भक्त हुन्’ भन्दिएका थिए। पुरीमै जगन्नाथको प्रख्यात मन्दिर छ। भाजपासँग प्रतिस्पर्धा गरिरहेको उडिसाको सत्तारुढ बिजु जनता दलले चुनावी मुद्दा बनाउन थालेपछि पात्रा ‘गल्तीले जिब्रो चिप्लियो’ भन्ने स्पष्टीकरण दिएर उम्किए र चुनाव पनि जिते।

पारिकै भद्दा नक्कल गर्ने क्रममा ओलीलाई भक्त मण्डलीले ‘भगवानसरहै हुन्’ भन्ने र ओलीले पनि ‘म बायोलोजिकल हुँदै होइन, भगवानले नै नेपाल बनाउन पठाएका हुन्’ भनेको चाहिँ सुन्न नपर्ला। भारतको नाकाबन्दी हुँदै चुच्चे नक्सा पारित गर्दासम्मै ‘बुलिस ट्रेन्ड’मा रहेको लोकप्रियताको ग्राफ पार्टीभित्रै लगातार ‘बेयरिस ट्रेन्ड’ मा छ। बाहिरको त कुरै नगरौँ, आपत्तिजनक नाराका साथ र्‍याप गीत अपलोड भइरहेका छन्।

मोदी चायवाला र चौकीदार भएपछि आफूलाई देवदूत र देवावतारका रूपमा ब्रान्डिङ गराउन अघि सरेका थिए। ओलीचाहिँ राजनेता र बाको ब्रान्डिङपछि झोलेमा झरेका छन्। सूचना प्रविधि व्यवसायी (प्रधानमन्त्रीका सल्लाहकारसमेत)को झोले बन्न अस्वीकार गर्दा विद्या भट्टराईले राजीनामा गर्नपर्ने अवस्थाको मुलुकमा नेता/मन्त्रीहरू स्वःघोषित झोले हुनु उचित ठानिन पनि सक्छ, जनताको झोले चाहिँ नभन्दिए हुने।