चितवनका किसानले पाएनन् चैते धानको समर्थन मूल्य

सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ तोकेको भए पनि किसान १ हजारदेखि १ हजार ८०० रुपैयाँमा बेच्न बाध्य भएका छन्।

फाइल तस्वीर।

चितवन– चैते धानले समर्थन मूल्य नपाउँदा किसान चिन्तित भएका छन्। सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ तोकेको भए पनि यहाँका किसान १ हजारदेखि १ हजार ८०० रुपैयाँमा बेच्न बाध्य भएका छन्। धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन्।

खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्यालले चैते धानको समर्थन मूल्य नपाएको बताए। दुई बिघामा धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा पुगेका छन्। राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि धानको मूल्य नपाएपछि निराश छन्। 

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ। कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएको आरोप लगाए। स्थानीय व्यवसायी र सरोकारवालाबीच छलफल जारी रहेकाले चाँडै निष्कर्ष निस्किने उनको भनाइ छ। 

चितवनमा यसवर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ। गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो।