बागलुङको बुर्तिबाङ र कुश्मिसेरामा फोहोर व्यवस्थापनमा समस्या

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ र जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारको फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोरका कारण बजारक्षेत्र दुर्गन्धित बनेको छ। 

ढोरपाटन– बागलुङका दुई बजारको फोहोर व्यवस्थापन हुन सकेको छैन। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहोर व्यवस्थापन हुन नसकेको हो। जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ, तर सही रूपमा फोहोर व्यवस्थापन नहुँदा वातावरण नै प्रदूषित हुने गरेको छ।

दक्षिण बागलुङको बजारका रूपमा विकास हुँदै गएको कुश्मिसेराको फोहोर अहिले जैमिनीधाम जाने सडक छेवैमा डम्पिङ हुँदै आएको छ। यसका कारण त्यस क्षेत्रमा दुर्गन्धित फैलिएको छ। नगरपालिकाले यसको व्यवस्थापन गर्न सकेको छैन। फोहोरको दुर्गन्धका कारण यात्रु समस्यामा परेका छन्। बुर्तिबाङ बजारको फोहोर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। 

झन्डै ८ वर्षदेखि बाघखोरमा नगरपालिकाले फोहोर फाल्दै आएको छ। नगरपालिकाले बाघखोरमा व्यवस्थापन गरेको फोहोर ठूलो वर्षा हुँदा बगेर तमानखोलामा पुग्ने गरेको छ। फोहोरले तमानखोला र भूजीखोलासमेत दूषित बनेका छन्। यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन्। फोहोरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ। अहिले फोहोर व्यवस्थापन गर्दै गरेको स्थान बुर्तिबाङ–तमानखोला सडक छेउमै पर्छ। यसले यात्रुलाई समस्या भएको छ। सडकमा दैनिक सयौँ यात्रु आवतजावत गर्छन्। 

नगरपालिकाले खोला छेउमा फोहोर थुपारेर दैनिक आगो लगाउँदा धुवाँले सडकमा यात्रा गर्न गाह्रो हुने स्थानीय तेजबहादुर विकले बताए। गर्मीको समय फोहोर कुहिएर टाढासम्म गन्ध आउने गरेको उनको भनाइ छ। यस ठाउँमा फोहोर सही रूपमा व्यवस्थापन हुन नसक्दा हैजा फैलिने जोखिम बढेको विकले बताए। 

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहोर व्यवस्थापनका लागि जग्गा खोज्न शुरू गरेको बताए। वर्षौँदेखि नै यहाँ फोहोर फालिँदै आएको भन्दै नयाँ सहर आयोजनासँग सहकार्य गरेर ‘डम्पिङसाइट’ निर्माण गर्ने उनको भनाइ छ। संघीय सरकारले फोहोर व्यवस्थापनका लागि ८७ लाख रुपैयाँ विनियोजन गरेको भन्दै जग्गा व्यवस्थापन हुनासाथ अहिलेको ठाउँबाट फोहोर हटाउने उनले सुनाए। 

कुश्मिसेराको फोहोर व्यवस्थापनका लागि जग्गाकै समस्या छ। नगरपालिकाले जग्गा खोजिरहेको भन्दै गरे पनि अहिलेसम्म पर्याप्त पाउन नसक्दा फोहोर व्यवस्थापनमा ढिलाइ भएको उपप्रमुख हरिहर शर्माले बताए। औद्योगिक ग्रामका लागि करिब १०० रोपनी र फोहोरका लागि १५ रोपनी जग्गा आवश्यक परेको उनको भनाइ छ। दुईवटै संरचनाका लागि जग्गा प्राप्त गर्नासाथ फोहोर व्यवस्थापन हुने उपप्रमुख शर्माले बताए।