काभ्रेका बाढीपहिरोलाई अस्थायी आवास बनाउन बल्ल पहिलो किस्ता

घटनाको करिब सात महिनापछि प्राधिकरणमार्फत प्रभावितलाई उपलब्ध गराउन पहिलो किस्ताबापतको राहत रकम काभ्रे आइपुगेको हो। 

फाइल तस्वीर

काभ्रेपलान्चोक– बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आवास निर्माणका लागि काभ्रेका १२ स्थानीय तहमा अनुदान पठाइएको छ।

गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको हो। उक्त रकम जिल्लाको १२ तहका करिब तीन हजार घरपरिवारलाई उपलब्ध गराउन स्थानीय तललाई पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रभावित स्थानीय तहद्वारा माग भएपछि गत वैशाखमा प्राधिकरणमार्फत राहत रकम निकासा भएको थियो। उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने ५० हजार रुपैयाँ राहत रकममध्ये पहिलो किस्ता स्वरूप २५ हजार रुपैयाँ उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए। उनका अनुसार सरकारबाट कार्यालयमा प्राप्त सात करोड २३ लाख ७५ हजार रुपैयाँ राहत रकम स्थानीय तह (स्थानीय विपद् व्यवस्थापन समितिको खातामा)लाई परिवारको संख्याका आधारमा यही जेठ १५ गतेसम्ममा पठाइसकिएको हो।

विपद् व्यवस्थापन समितिले प्रक्रिया पूरा नगर्दा तेमाल गाउँपालिकाले अस्थायी आवासका लागि पहिलो किस्ताबापतको रकम निकासा माग गर्न ढिलाइ भएको श्रेष्ठले बताए।

घटनाको करिब सात महिनापछि प्राधिकरणमार्फत प्रभावितलाई उपलब्ध गराउन उक्त रकम जिल्लामा आइपुगेको हो। प्राधिकरणले निजी आवास पूर्ण रूपमा क्षति भएको, आंशिक क्षति भए तापनि बसोबासयोग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रूपमा राहत रकम निकासा गरिएको जनाएको छ।

“माग भएअनुसार जिल्ला प्रशासन कार्यालयमा आएको उक्त रकम प्रभावित परिवार सङ्ख्याको आधारमा स्थानीय तहलाई पठाइसकेका छौँ, रकम प्राप्त भएका तहले प्रभावित परिवारलाई प्रदान गर्नुहुनेछ” जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने।

प्राधिकरणले दोस्रो किस्ताबापत २५ हजार रुपैयाँ उपलब्ध हुने जनाएको छ। असोजको बाढीपहिरोबाट काभ्रेपलान्चोकका ८१ जनाले ज्यान गुमाएका थिए। ६ जना अझै बेपत्तामा सूचीकृत छन्। एक सयको हाराहारीमा घाइते भएका थिए।

गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति बेहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन शुर गरिएको छ। गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका वडा नम्बर–२ नारायणटारबाट यसको शुरूआत गरेका हुन्।

स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ। निजी आवासको विस्तृत क्षति आकलनको सहजीकरणको लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रुपमा ध्यानाकर्षण गराइएको छ।