सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २,६४०.९६ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजारमा तीन कारोबार दिन यता निरन्तर गिरावट देखिएको छ।

सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा त्यसयताका कारोबार दिनमा निरन्तर गिरावट देखिएको हो।

नेप्से परिसूचकमा मंगलबार ३५.७३, बुधबार ११.९७ र साताको अन्तिम कारोबार दिन बिहीबार ५.९९ अंकको गिरावट देखिएको छ। यससँगै नेप्से परिसूचक २,६४०.९६ को विन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

यस दिन ३११ कम्पनीको एक करोड ७१ लाख आठ हजार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिदबिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बुधबार पाँच अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा जलविद्युत् र लगानी समूह मात्रै बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। रिभर्स फल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेघाश्री फार्मस्युटिकलको शेयर मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी राधी विद्युत् कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावरको १४ लाख पाँच हजार ४०५ कित्ता किनबेच भएको छ।