न्युजिल्यान्डको संसदमा हाका नाच्ने ३ माओरी सांसद निलम्बित

माओरी पार्टीका यी सांसदहरूले गत नोभेम्बरमा आदिवासी अधिकार समाप्त गर्ने भनिएको विधेयकको विरोधमा संसदमै हाका प्रदर्शन गरेका थिए।

काठमाडौँ– न्युजिल्यान्डको संसदमा हाका नाच्ने तीन जना माओरी सांसदलाई निलम्बन गरिएको छ। एक विधेयकको विरोधमा उनीहरूले हाका (माओरी समुदायको परम्परागत नृत्य) प्रदर्शन गरेको महिनौँपछि बिहीबार त्यहाँका सांसदहरूले निलम्बन गर्ने पक्षमा मतदान गरेका हुन्।

न्युजिल्यान्डकी कान्छी सांसद हाना–रविती माइपी–क्लार्कलाई सात दिनको लागि निलम्बन गरिएको छ भने उनको राजनीतिक दल, माओरी पार्टीका नेता डेबी न्गारेवा प्याकर र रविरी वैतितीलाई २१ दिनको लागि प्रतिबन्ध लगाइएको छ। यो अहिलेसम्मकै सबैभन्दा लामो निलम्बन भएको बताइएको छ। यसअघि, न्युजिल्यान्डको संसदमा कुनै पनि सांसदको लागि सबैभन्दा लामो प्रतिबन्ध केवल तीन दिनको थियो।

माओरी पार्टीका यी सांसदहरूले गत नोभेम्बरमा आदिवासी अधिकार समाप्त गर्ने भनिएको विधेयकको विरोधमा संसदमै हाका प्रदर्शन गरेका थिए। यद्यपि, विधेयक अझै पारित भएको छैन। तर उक्त विरोधले विश्वभर हेडलाइन बनायो। हाना–रविती चर्चामा छाइन्। त्यसपछि उक्त गतिविधिमाथि कस्तो निर्णय गर्ने भनेर महिनौँसम्म सांसदहरूमाझ बहस बनिरह्यो। अन्ततः बिहीबार उनीहरूमाथि निलम्बनको सजाय भएको हो।

यो पनि: न्युजिल्यान्डको संसद्‍मा हाका नाच्ने हाना, आदिवासीहरूको जब्बर आवाज

संसदको विशेषाधिकार समितिले प्रतिबन्धको अवधि सिफारिस गरेको थियो। जसले तिनै जनालाई ‘सदनको सदस्यलाई धम्क्याउने, प्रभाव पार्न सक्ने तरिकाले’ उत्तेजित गतिविधि गरेकाले निलम्बन गर्नुपर्ने सल्लाह दिएको थियो। समाचार एजेन्सी अलजजिराका अनुसार आफ्नो प्रस्तुतिबारे संसदलाई ‘पश्चात्ताप पत्र’ लेखेकाले माइपी–क्लार्कलाई भने छोटो सजाय सिफारिस गरिएको हो।

बिहीबारको मतदानअघि क्लार्कले माओरीहरूलाई संसदमा आफ्नो कुरा राख्नबाट रोक्नको लागि प्रयास गरिएको टिप्पणी गरिन्। “के हाम्रो आवाज यो सदनको लागि धेरै ठूलो छ? के यही कारणले गर्दा हामीलाई चुप लगाइँदैछ?,” उनले भनिन्, “हामी कहिल्यै चुप लाग्ने छैनौँ र हामी कहिल्यै हार मान्ने छैनौँ।”

सांसदहरूले गत नोभेम्बरमा संसदमा हाका प्रदर्शन गरेका थिए। न्युजिल्यान्डको उपनिवेशीकरणको समयमा हस्ताक्षर गरिएको ब्रिटिश क्राउन र आदिवासी माओरी नेताहरू बीचको १८४० को सम्झौता, वैतांगी सन्धिको सिद्धान्तहरूलाई कानुनी रूपमा परिभाषित गर्ने प्रस्तावित विधेयकको पहिलो पठनको क्रममा मतदानमा बाधा पुर्‍याएका थिए।

यो पनि: माओरी आदिवासीको आधुनिक सोच, २७ वर्षीया नगा वाई बनिन् रानी

प्रस्तावित कानुनले माओरी अधिकार क्षय गर्ने चिन्ताका बीचमा व्यापक विरोध प्रदर्शनहरू निम्त्यायो। पछि यसलाई खारेज नै गरिएको थियो। प्रस्तावित कानुनलाई समर्थन गर्ने दक्षिणपन्थी दलका नेतालाई सम्पर्क गर्नुअघि माइपी–क्लार्कले कानुनको प्रतिलिपि च्यातेर हाका नाच्दै विरोध शुरू गरेकी थिइन्।

उनीहरूको कार्यले गर्दा अन्य सांसदहरूले सभामुखलाई माओरी सांसदहरूको विरोध अव्यवस्थित भएको भन्दै गुनासो गरेका थिए। पछि संसदको विशेषाधिकार समितिमा प्रवेश गरेको यस मुद्दामाथि महिनौंसम्म बहस चल्यो।

हाका र माओरी औपचारिक नृत्य र गीत दुवै संसदमा असामान्य नभएको, तर सदस्यहरूलाई पहिले नै सभामुखबाट अनुमति आवश्यक पर्ने कुरा थाहा हुँदाहुँदै बिनाअनुमति प्रदर्शन गरेको विशेषाधिकार समितिको प्रतिवेदनमा उल्लेख छ।