सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी

विपद् सेमुलेसन अभ्यासका क्रममा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद सप्तकोशीमा बेपत्ता भएका थिए। 

फाइल तस्वीर।

काठमाडौँ– सप्तकोशी नदीमा बिहीबार बेपत्ता भएका गोताखोरको शुक्रबार बिहानैदेखि खोजी शुरू भएको छ।

बिहीबार दिउँसो विपद् सेमुलेसन अभ्यासका क्रममा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद सप्तकोशीमा बेपत्ता भएका थिए। 

उनीहरूको खोजी कार्यलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनकारी दिए। शुक्रबार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको कमान्डमा चार जना  गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्तसहित  डीएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको उनले बताए। 

थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल  विपद्  व्यवस्थापन  तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा पाँच जना गोताखोरसमेत खटिएका छन्। २०६९ सालमा बांग्लादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यसयता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन्। उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने बताएका छन्। 

सहप्रवक्ता थापाले यो तालिम नभई मनसुनजन्य विपद् उद्धारको पूर्वतयारीका लागि गरिएको सिमुलेसन अभ्यास मात्रै भएको बताए। उनका अनुसार यस प्रकारका अभ्यास अहिले देशभर नै भइरहेका छन्। बेपत्ता भएका दुवै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसपछि उद्धारका लागि विभिन्न ठाउँमा खटिएका थिए। 

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल नेपाल  नं. ६ गण सप्तरी,  दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिरहाको संयुक्त टोलीले बिहीबार  प्रदेशस्तरीय विपद् सेमुलेसन अभ्यास शुरू गरेको थियो।