रामेछापमा मकैबालीमा फौजी किराको प्रकोप

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किरा फैलिएको छ।

रामेछाप– जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी किराले नष्ट गरिदिन थालेपछि किसान चिन्तित भएका छन्।

मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किराले दुःख दिने गरेको हो।

शुरू पात खाने र बिस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमर र डाँठमा निस्कने बेला भएको सुत्ला पनि किराका कारण निस्किन सकेका छैनन्। निस्किहाले पनि त्यो धानचमरले काम नगर्ने, घोगा नलाग्ने, पात ठुटै पारेर खानेजस्ता समस्या छ।

उक्त किराले मकैबाली सखाप परिदिने अवस्था भएको मन्थली नगरपालिका–७ की किसान सरिता ढुंगेलले बताइन्। नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलले फौजी किराले मकैबालीलाई दुःख दिएको आएको बताए। 

पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहेको तर नियन्त्रणका लागि समस्या रहेको उनको भनाइ छ।