उरमालभित्र दलबहादुर भन्छ, ‘लेफ्टिस्ट र राइटिस्टसँग नडराउनोस्, उनीहरू जहिल्यै आफ्नै बाटो हिँड्छन्। बीचमा बसेर लेफ्टराइट गर्नेसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।’
सेक्सपियरको ‘नाममा के छ? (वाट्स इन अ नेम)’ भन्ने शक्तिशाली कथनलाई उल्ट्याएर कुरा शुरू गरौँ। ‘नाममा के छैन’? जस्तैः उरमाल। प्रज्ञा नेपाली बृहत् शब्दकोशमा उरमालको अर्थ खोजिमाग्दा प्राप्त हुने जवाफ हुन्,
–रुमाल,
–माया–पिरतीको कुरा,
–साइनो र सम्झना,
–कोमल वा निष्ठुर,
–मिलनको चिनो वा बिछोडको सम्झौटो।
रुमालले बोकी हिँड्ने विम्बको कुरा गर्दा यस्तै–यस्तै चित्र नाच्ने हो हाम्रो मनमा, कि होइन र? तर यो उपन्यासको कर्म कहाँ त्यस्तो होस्, जहाँ माया–पिरतीको कोमल स्पन्दन होस्। यो उपन्यासमा उरमाल (रुमाल) नामले स्थायी बास पाउन सकेन। शब्दार्थअनुसारको अर्थ सम्प्रेषण गर्न पनि पाएन।
उरमालभित्र सारदी भाषाको अर्थ प्रत्यारोपण गर्दा ‘अथाह दुःख बोक्न मिल्ने झोला’ पो बन्दो रहेछ! जति दुःखका पत्ती कोच्दा पनि नभरिने उरमाल यथार्थ। अनि कहाँ कुसुमे–रुमालको विम्बको कल्पना!
नाममा के छैन? नामले त गर्दो रहेछ, जे–जे गर्नुपर्ने हो।
यो रुमाल नभएर उरमाल हो, जहाँ अनेक दुःखभरि कथा छन्, निम्छरा जीवनहरूको दुरूह फेहरिस्तको सुन्दर ‘डेकोरम’ छ।
कथा दुःखका। अनि ती दुःखका कथालाई फेरि भनिनु पर्नेचाहिँ सुन्दर! सायद यस्तै विरोधाभासको ब्यारोमिटरले नै निर्धारण गर्दो हो आख्यानको उपलब्धि। देश–जनताका लागि युद्धमा होमिएका क्रान्तिकारीहरूको सम्मानमा ‘बलिदान’ चलचित्रमा एउटा संवाद छ, ‘हामीले हाम्रो आज उनीहरूको भोलिको लागि बलिदान गरेका छौँ।’
त्यस्तै, कैयौँ मान्छेको दिनको शुरूआत सुन्दर बनाउन, आफ्नो दिन अमिलो तरिकाले शुरूआत गर्नुपर्ने विरोधाभासमा अल्झिएका चिया मजदुरहरूको कथा र उपकथा खप्टिएर बनेको ‘एनाटोमि’ नै उरमाल उपन्यास हो।
‘पोलिटिकल्ली’ कुरा गर्दा
यो उपन्यासका लेखक छुदेन काविमो, उपन्यासभित्र अटेका नेपालीभाषी, आदिवासी र अरू अनेक–अनेक पात्र जो नेपाली होइनन्। तर जसरी नेपाली लेखकले भुटानी नेपालीभाषी, भारतीय नेपालीभाषीको दुःख व्यथा र अस्थिर पहिचानको कथा लेख्दा र पढ्दा अपनत्व महसुस हुन्छ, त्यसैगरी यो उपन्यासभित्रका दुःखसुखलाई पनि आफ्नै भूगोलको कथा ठानेर महसुस गर्न मन लाग्छ।
नाङ्लो बुन्दा प्रशस्त चोया चाहिएझैँ अलग–अलग कथा जोडेर भुईंमान्छेको औसत जिन्दगीको कोलाज बनाएका छन् काविमोले। भुईंमान्छेका कथालाई लेखेका छन् र ती सबै कथामा आञ्जलिक लवज गजबले प्रत्यारोपण गरेका छन्।
उज्यालो देख्नै नपाई झरिहाल्ने नरम र मसिना पारिजातका फूल बटुलेर जतनले माला गाँसेझैँ गरी सुखको सासै फेर्न नपाएका चिया मजदुरको दुःख केलाएर जन्तर बनाएका छन्।
संयोगले उरमाल पढेर सिद्ध्याउँदा, ८ मार्चको रातको १०:४० बजेको थियो।
आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस।
नारी दिवसको सन्दर्भमा उरमालभित्रका पात्र सम्झिएँ। सम्झिएँ सकिला, सोमारी, नुरसाङ र ऐतमारीलाई। यो उपन्यास खासमा मजदुरको सुस्केरा गीत हो र अझ ज्यादा महिला मजदुरको नमिठो कहानी हो। आफ्ना लागि भन्दा पनि अरूका लागि नै हमेसा पिर गरिदिन सक्ने, संघर्ष गरिदिन सक्ने, सहिदिन सक्ने ‘आमा प्रजाति’को जुबानी हो। काविमोकै हस्ताक्षरले पनि भन्छ, ‘आमा हुन सहज रहेनछ।‘
भलै उपन्यासमा पुरुष पात्र, परिवेश र उनीहरूलाई पछ्याइरहने परिबन्दका अनेकौँ नागबेली कुइनेटा छन्।
चियाको कलिला मुना र हरियो पत्ता टिप्दा–टिप्दा हत्केलाका ‘भाग्यरेखा’ नै लोप हुन पुगेका मजदुरको कथा हो उरमालको मूलकथा, तर तमाम चिया मजदुरको दुःखको जरो खोतल्दै जाँदा र ती मजदुरका अधुरा सपनाको उद्गम पछ्याउँदै जाँदा पुगिने मुकाम भनेको अन्ततोगत्वा राजनीतिक अखडा नै हो।
उरमालभित्रको दलबहादुरले यसै भनेको होइन, ‘लेफ्टिस्टहरूसँग नडराउनोस्, उनीहरू जहिल्यै देब्रे बाटो नै हिँड्ने हुन्। राइटिस्टहरूसँग पनि नडराउनोस्। किनकि उनीहरू पनि दाहिने बाटो नै हिँड्ने हुन्। बीचमा बसेर लेफ्टराइट गर्नेहरूसँग डराउनुहोस्। किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।’
सर्वहारा मजदुर वर्गलाई उधारो सपनाको भुलभुलैयामा अल्झाएर आफ्नो राजनीतिक दुकानदारी बरकरार राख्ने प्रवृत्ति नेपाल–भारत र अडोसपडोसको साझा रोग जो हो। यस्तो प्रवृत्तिलाई ठोकेका छन् काविमोले।
…
मल्टिमिडियाले लपेट्दै लगेको आजकलको समयमा पठन पहिलो वा दोस्रो प्राथमिकताभित्र पनि पर्दैन। ९० सेकेन्डको रिल्स वा टिकटक भिडियोसमेत फर्वाड गरेर हेर्न खोज्ने मल्टिमिडियामा अभ्यस्त आजको पुस्तालाई बल्लतल्ल पठनमा अड्याउन सकियो भने मात्र पनि त्यो ठूलै पुरस्कार ठहरिने जमाना छ। यस्तो चुनौतीपूर्ण समयमा ३७० पृष्ठको उपन्यास, त्यो पनि चिया मजदुरको दुःख दर्दको ‘माइक्रो टपिक’। लेखकीय नजरबाट हेर्दा यो निक्कै ठूलो आत्मविश्वास हो।
किताब हात पर्ने पाठकलाई ‘पठन रोजगारीमा’ अँठ्याइ राख्न सक्छु भन्ने काविमोको विश्वास सराहनीय छ। उपन्यासका उपकथाहरू पढ्दा पट्यारलाग्दा नै त छैनन्, तर उपन्यासभित्रको मुख्य पात्र (नायक) पहिचान गरेर उसैलाई मियो मानेर उपन्यासको विषय बुझ्ने कुरामा पाठक 'अलमलमा' पर्ने जोखिम छ। उपन्यासकारको लेखाइ र बुझाइलाई विनिर्माण गरेर आफ्नो बुझाइ स्थापित गर्न खोज्ने पाठकका लागि उपन्यासको ‘मूलपात्र’ कसलाई मान्ने? त्यो ठम्याउन अलमल हुन्छ।
उपन्यासबाट केही उपकथाहरू छिमलेर हटाउने हो भने पनि ‘उरमाल’को अन्तर्यमा फरक पर्नेवाला थिएन। यसको अर्थ काविमो कथा बटुल्ने क्रममा अलि बढी बहकिए कि? वा काविमोलाई ”फात्सुङमा थोरै लेखिस्, तैँले त निक्कै धेरै पो लेख्न सक्छस्” भनेर कसैले फुर्क्यायो! र त, काविमोले गोर्खाल्यान्डजस्तो बृहत् (म्याक्रो) राजनीतिक क्यानभासमा लेखिएको फात्सुङजस्तो कृतिमा भन्दा चिया उमार्नेहरूको सूक्ष्म क्यानभासमा झनै ठूलो चित्र कोर्न खोजेका छन्।
उरमाल दुःखको सांगालो हो, त्यस अर्थमा यो उपन्यास मनोरम, मनोरञ्जन र विनोदी हुने कुरा पनि रहेन, यो दुःखको गीत हो। ‘मिथ अफ सिसिफस’ नियतिमा अल्झिएका सीमान्त जीवनहरूको सामूहिक सुस्केरा हो। यसो भन्दैमा सीमान्त स्वरहरूको आवाज तन्किएर बोल्नुपर्छ, लामो बोल्नुपर्छ, धेरै लेख्नुपर्छ वा कथाको असाध्यै नागबेली उकालो चढ्नुपर्छ भन्ने छैन। उरमालभित्रका उपकथाहरूलाई संश्लेषण गरेर उपन्यासलाई छरितो बनाउने सुविधालाई काविमोले बेवास्ता गरेका छन् भन्न सकिन्छ।
पढेकै छौँ त हामीले सूक्ष्म आकारको 'उलार'मा सीमान्त मान्छेको बृहत् कथा। लघु आकारको शिरीषको फूलमा ‘प्रेम, मनोवैज्ञानिक द्वन्द्व र शून्यवाद’ अटाएकै छ। लीलबहादुर क्षेत्रीको बसाइँमा पहाडी जीवनको कष्टकर कथा। भन्न खोजेको यत्ति मात्र हो कि आख्यानको शक्ति र सीमा निर्धारणको आधार उपन्यासको आयतन मात्र होइन।
धैर्यतासहित अडिएर पढ्ने पाठकलाई सुरक्षित राख्दै अन्य अधीर पाठकको नजरबाट उरमालको सुर्केनो खोल्दा ब्रिटिशकालीनदेखि एक दशक अघिसम्मको समयरेखा अनि अरू थप ‘कहिसुनी’ लोककथाको सम्मिश्रणले गर्दा उपन्यासभित्रको ‘नायकीय तत्त्व’ डिरेल भएको हो कि भनेर सन्देह गर्ने ठाउँ छोडेको छ।
नेपालको हिमाली भेगबारे असाध्यै चासो कुनै विदेशी अध्येताको मार्मिक भनाइ यो उपन्यासको भावभूमि र पात्रसँग जोड्न मन लाग्यो। उनको भनाइ थियो, ”मलाई हिमालको पहाडको सौन्दर्य र सांग्रिलासँगभन्दा हिमाल–पहाडको काखमा बस्ने मानिसको दैनन्दिन दुःख र संघर्षसँग चासो र लगाव छ।”
त्यस्तै, एक पाठकका रूपमा उपन्यासको विषय र उक्त विषयलाई पात्रले कत्तिको इमानपूर्वक बोकी हिँडेको (अझ भनौँ लेखकले बोकाइ हिँडाएको) छ भन्ने कुरा मलाई महत्त्वपूर्ण लाग्छ। यद्यपि, विषय हमेसा कच्चा पदार्थको रूपमा हुन्छ। लेखकको कथ्यशैलीले उक्त काँचो विषयलाई प्रशोधन गर्ने हो। डुवर्सका चिया बगान, बगानका हरियो बुट्यानमा अल्झिएका चिया मजदुर अनि ती मजदुरका अनेकन् प्रारब्ध। यी सबैको ‘दस्ताबेज’ बनेर आएको उरमालभित्रको कथ्यशिल्पी र ‘डिटेलिङ’मा काविमोको ‘कथा हन्टिङ’ मज्जाले प्रतिबिम्बित भएको छ। लेखकका लागि यो महत्त्वपूर्ण सफलता हो।
काविमोको उरमालउपर ‘शल्यक्रिया’ गर्दा फातसुङलाई साक्षी राख्नै पर्ने हुन्छ, फातसुङको प्रशंसासँगै उरमाल शुरू भएको छ। पाण्डुलिपि पठनका दौरान प्राप्त ‘उरमालले बृहत् ल्यान्डस्केप ओगटेको’ र ‘अघिल्लो उपन्यासलाई पनि उछिन्नु पर्ने’ प्रतिक्रियालाई काविमोले घुमाउरो पाराबाट पाठकीय अनुमोदन गराउन खोजेको देखिन्छ। मैलेचाहिँ काविमोको यो आशय वा अन्तर्य उल्ट्याएर बुझ्न चाहन्छु।
हुन त कथा आफै पूर्ण हुन्छ। हालसालै आफ्नो लघु कथासंग्रह ‘हार्ट ल्याम्प’का लागि इन्टरनेसनल बुकर पुरस्कार जितेपछि भारतीय लेखक, वकिल एवं सामाजिक अभियन्ता बानु मुस्ताकले भनेकी थिइन्, ”कुनै पनि कथा सानो हुँदैन र मानवीय अनुभवरूपी कपडामा हरेक धागोले समग्र भार बोक्छ, बोक्न सक्छ”।
बानु मुस्ताकको तर्क मान्ने हो भने उपन्यासले उमारेको कथानक र ल्यान्डस्केपमा ‘बृहत् वा सूक्ष्म’को सीमारेखा कोर्नु बेकारको कुरा हो। तर पनि उरमालमा फातसुङ अन्योन्याश्रित बनेर आएकाले अभिमत राख्न मन लाग्यो। शब्दाकारमा उरमाल फातसुङभन्दा दुई गुणा ठूलो भए पनि प्लट, कथा र मुद्दाका हिसाबले फातसुङ शक्तिशाली लाग्यो।
”सुङ्गुरले पनि नुनियाँ खान पाउने” र ”घरघरमा स्विमिङ पुल हुने” बतासे आश्वासनमा दार्जिलिङका जनतालाई अलमलाउनुको साटो पूरा गर्न सकिने खालका मात्र सपनासहित इमानको आन्दोलन र निष्ठाको राजनीति गरेको भए उक्त राजनीतिक मुहानबाट बगेको पानीबाट सिञ्चित चिया कमान र चिया कमानलाई आबाद बनाई राख्ने आदिवासी, मजदुरहरूका सपना पनि चियाका मुनाझैँ पलाउँदै चुँडिँदै गर्नुपर्ने थिएन। त्यसैले, मेरो विचारमा जन्मले मात्र होइन, विषयका हिसाबले पनि उरमाल फातसुङभन्दा कान्छो हो।
काविमोकै दृष्टान्तमार्फत उनैलाई ‘बुमर्याङ’ गर्छु, “खासमा प्रकृतिका १० प्रतिशत फूल मात्र सुगन्धित हुन्छन् रे। तर हामीलाई चाहिँ सबै फूलहरू सुगन्धित नै लाग्छ।”
साहित्यमा पनि कम्तीमा १० प्रतिशत कृति गुणग्राही (सुगन्धित) निस्कन सके भने लेखन–सुगन्ध पनि फूलको सुगन्धझैँ निःशन्देह सर्वव्यापी भइजान्छ। प्रकृतिमा फूलहरू दस प्रतिशत मात्र सुगन्धित भएझैँ साहित्यमा कति प्रतिशत लेखन/ कृति सुगन्धित छन् कुन्नि?
लेखक काविमो, तिमीचाहिँ सुगन्धित लेखकमै पर्छौ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
