पतञ्जलिको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएसँगै सूर्यविनायकका प्रमुख थापा निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा नगरप्रमुख थापा पनि प्रतिवादी छन्।

काठमाडौँ– पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा निलम्बित भएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा नगरप्रमुख थापा पनि प्रतिवादी छन्।

काभ्रेपलान्चोकको साँगामा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्रीमा थापाको समेत संलग्नता रहेको अख्तियारको ठहर छ। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनी स्वतः पदबाट निलम्बनमा परेका हुन्। 

पतञ्जलिले हदबन्दी छुट जग्गा गैरकानूनी रूपमा किनबेच गरेकामा थापाले पनि उक्त जग्गा किनेका थिए। उनी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन्।