बाबु र छिमेकीको हत्या आरोपमा एक जना पक्राउ

कोदालो प्रहार गरी बाबु र छिमेकीको हत्या गरेको आरोपमा सुनवल नगरपालिका–२ का हेमराज थारू पक्राउ परेका छन्।

नवलपरासी– पश्चिम नवलपरासीको सुनवलबाट हत्या आरोपमा एक जना पक्राउ परेका छन्। बाबु र छिमेकीको हत्या गरेको आरोपमा सुनवल नगरपालिका–२ को औरहियाका ३५ वर्षीय हेमराज थारू पक्राउ परेका हुन्।

शुक्रबार बिहान ११ बजे खेमराजले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए। 

खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपितलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान शुरू गरिएको प्रहरीले जानकारी दिएको छ।